कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘विराट’ खेलाडी कोहली

यस विश्वकप क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याटर सूचीमा सबैभन्दा अगाडि छन् विराट कोहली, ७ सय ११ रन जोडिसकेका उनले ५० औं शतक पूरा गरेका छन् 
हिमेश

काठमाडौँ — विराट कोहलीको व्यक्तित्व नै गजब खाले छ । कोही उनका समर्थक छन् भने उनी जत्तिको प्रिय खेलाडी अरू कोही नहुन सक्छ । विरोधी हो भने घृणा गर्न मन लाग्छ । तर एकथोक निश्चित छ, उनलाई बेवास्ता गर्न सकिन्न । विरोधीलाई उनले खुसी मनाउने तरिका मन नपर्न सक्छ ।

‘विराट’ खेलाडी कोहली

तर तिनैले पनि भन्ने छन्, एकदिवसीय क्रिकेटमा कोहली सर्वश्रेष्ठ नै हुन् । उनी जत्तिको खेलाडी नै छैनभन्दा हुन्छ, ५० ओभरको सेतो बल क्रिकेटमा ।

आज आइतबार विश्वकप क्रिकेटको फाइनल छ । उपाधिका लागि भारतले अस्ट्रेलियासँग खेल्नेछ । अहमदाबादको फाइनल हुने स्टेडियमको दर्शक क्षमता नै एक लाख ३० हजार छ । मैदानबाहिर रहेर टीभी हेर्ने त भारतमै अर्बौं नै भए । उनीहरू सबैको नजर तिनै कोहलीमै हुनेछ । १२ वर्षपछि भारतले विश्वकप उठाउनका लागि कोहलीले रन बनाउनैपर्ने देखिन्छ । एक खाले अन्धविश्वास नै छ भन्दा हुन्छ । जब कोहलीको ब्याट चम्किन्छ, जित भारतकै हुन्छ ।

त्यसैले उनी भए, किङ कोहली । अहिले चलिरहेको विश्वकप पछ्याइरहेकालाई लाग्न पनि सक्छ, कतै कोहलीको बढी नै चर्चा भएको त छैन ? चर्चा त साँच्चै बढी नै छ । नहोस् पनि किन ? क्रिकेट मैदानमा उनले गरेको काम नै यस्तै छ । उनी अहिलेको विश्वकपमा सर्वाधिक रन बनाउने ब्याटर सूचीमा सबैभन्दा अगाडि छन् । उनले ७ सय ११ रन बनाइसके । यसैक्रममा उनको ५० औं शतक पनि पूरा भएको छ ।

आखिरमा एकदिवसीय क्रिकेटमा शतकको अर्धशतक बनाउने त अद्भूत नै हो नि । न्युजिल्यान्डविरुद्ध मुम्बईको वाङ्खडे स्टेडियममा भएको सेमिफाइनलमा उनले यो उपलब्धि आत्मसात् गरे । त्यसअघि आफ्नो ३५ औं जन्मदिनमा ४९ औं शतक बनाए । त्यो दक्षिण अफ्रिकाविरुद्ध प्राप्त भएको थियो इडेन गार्डेनमा । त्यसमै उनले सचिन तेन्दुलकरको कीर्तिमान बराबरी गरेका थिए । तेन्दुलकर अरू धेरैका लागि जस्तै कोहलीका लागि पनि आदर्श थिए ।

उनले आफ्ना तिनै आदर्शलाई उछिनेका छन् । अब त कोहली राम्रो कि तेन्दुलकर राम्रो भन्न बहस पनि चल्न थालेको छ । त्यसो त फरक समयका दुई ठूला खेलाडीबीच तुलना नै गलत हो भनिन्छ । तर तुलना हुने गर्छ नै । यही तुलनाले त हो, कोहलीको उपलब्धिमा कायल हुनुपर्ने । तेन्दुलकरले ४९ औं शतक संयोगले आफ्नो अन्तिम खेलमा प्रहार गरेका थिए । त्यो भनेको उनको यो उपलब्धि ४ सय ५१ औं इनिङ्समा आत्मसात् भएको थियो ।

त्यति बेला भनिएको थियो, तेन्दुलकरको छेउछाउ पुग्ने कोही हुने छैनन् । तर, कोहली पुगे । अझ राम्रैसँग पुगे । कोहलीले २ सय ७७ औं इनिङ्समा तेन्दुलकरको बराबरी गरे । २ सय ७९ मा त्यसलाई उछिने नै । भनेपछि तेन्दुलकरले भन्दा झन्डै आधा कम खेल खेल्दै उनले यस्तो उपलब्धि चुमे । फेरि कोहलीको स्ट्राइक रेट पनि राम्रो छ । सय बलमा ९३.६२ को औसतले उनी रन बनाउने गर्छन्, जुन आक्रामक हो । तेन्दुलकरको औसत ८६.२३ थियो ।

फेरि तेन्दुलकरले अधिकांश समय ओपनरका रूपमा खेले, त्यहीं कोहली मध्यक्रमका पक्का ब्याटर हुन् । जेहोस्, कोहली आफूलाई तेन्दुलकरसँग तुलना गरेको भने मन पराउँदैनन् । उनी तेन्दुलकरलाई नै महान् ब्याटर मान्छन्, विशेषतः एकदिवसीयको । यत्तिको भन्न सक्नुलाई कोहलीको राम्रै बानी हो भन्नुपर्छ । सन् २०११ मा भारतले विश्वकप जित्दा तेन्दुलकर र कोहलीले सँगै खेले । अन्त्यमा कोहलीले आफ्नै काँधमा बोकेर तेन्दुलकरलाई मैदान घुमाएका थिए ।

पछि कोहलीले भनेका थिए, ‘यो त तेन्दुलकरलाई हामी सबै कृतज्ञ छौं भनेर देखाउन अवसर पो थियो ।’ आफ्नो ५० औं शतकपछि फेरि एकपल्ट कोहलीले तेन्दुलकरलाई गुरुजस्तै मानेर अभिवादन गर्न बिर्सेनन् । उत्तरमा तेन्दुलकरले पनि कोहलीको प्रशंसा गर्न चुकेनन् । आफू कोहलीको उपलब्धिमा असाध्यै खुसी भएको उनले बताए । आफूले पहिलोपल्ट देख्दा भर्खरको केटो रहेको कोहली अहिले आफैं ‘विराट’ खेलाडी भएको पनि भन्न भ्याए, तेन्दुलकरले ।

कोहलीले एकदिवसीय क्रिकेटमा अरू धेरै महान् ब्याटरभन्दा अगाडि राखेर हेरिनुको अर्को ठोस कारण छ । यो हो, उनले लक्ष्य पछ्याउँदा अझ राम्रो ब्याटिङ गर्ने गर्छन् । एकदिवसीय क्रिकेटमा भारतले लक्ष्य पछ्याउने क्रममा दोस्रोपल्ट ब्याटिङ गर्दा कोहलीको औसत रहने गरेको छ, ६५.४ । कोहलीका ५० शतकमध्ये लक्ष्य पछ्याउने क्रममा २७ बनेको थियो । तेन्दुलकरको दोस्रो इनिङ्समा १७ शतक बनाएका थिए । कोहलीका अधिकांश शतक भने भारतीय भूमिकै निस्केका छन् ।

संख्यामै भन्दा २४ । तर, उनले त्यो सबै देशमा शतक बनाएका छन्, जहाँ उनी खेल्न गए । एक वर्षजति अगाडि सायद उनी केही खराब समयबाट गुज्रिएका थिए । रन अलि कम बन्न थालेको थियो । अचम्मले उनको चर्को आलोचना गर्नेहरू पनि निस्किए । कोहलीले शतक बनाउनै बिर्से भन्ने पनि थिए ।

केही त कोहलीलाई भारतीय टिमबाटै हटाए पनि हुन्छ भन्नेमा पुगे । यत्तिको आलोचनामा पनि कोहली चुपचाप रहे, बरु आफ्नो ब्याटले नै बोलेको ठीक माने ।

लयमा फर्कन कोहलीलाई कत्ति पनि समय लागेन । यो वर्ष त उनी धुमधाम लयमा देखिएका छन् । त्यसैले उनले सन् २०२३ मा ६ शतक बनाइसके । उनको खेलमा एउटा अर्को ठूलो विशेषता भनेको सधैं एकनासे उच्च प्रदर्शन हो, एकाध अपवाद छाडेर । कोहली साँच्चै राम्रो छन् भनेर प्रमाणित गर्न यस्ता तथ्यांक कति छन् कति । बरु अब दाबी गर्न सकिन्छ, कोहलीको ब्याटिङको कीर्तिमान सायद तोडिन्न ।

यहाँनिर ठ्याक्कै उल्लेख गर्नुपर्ने तथ्य के पनि हो भने कोहली मैदानमा असाध्यै धेरै आक्रामक त देखिन्छन् । तर मैदानबाहिर उनको स्वभाव र अरूप्रति गर्ने व्यवहार राम्रै हुने गर्छ । पुराना खेलाडी महेन्द्रसिंह धोनी मैदानमा राम्रो त देखिन्छन्, तर मैदानबाहिर उनमा दम्भ देखिन्छ । कोहली यस्ता पनि होइनन् । सबैलाई के पनि थाहा छ भने उनका जीवनसाथी हुन्, बलिउड अभिनेत्री अनुष्का शर्मा । यही निहुँमा पनि कोहलीको चर्चा बढी हुने नै भयो ।

प्रकाशित : मंसिर ३, २०८० ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?