सेन्ट्रल ओपनबाट सूर्य नेपाल टुर सुरु

काठमाडौँ — सूर्य नेपाल सेन्ट्रल ओपनसँगै सूर्य नेपाल गल्फ टुर २०२३–२४ को सिजन सोमबार सुरु हुनेछ । सूर्य नेपाल गल्फ टुरमा कुल ८ प्रतियोगिता हुनेछ । त्यसको सेन्ट्रल ओपन पहिलो इभेन्ट हो ।

सूर्य नेपाल टुरमा कुल पुरस्कार राशि ६४ लाख ३६ हजार १ सय ५० रुपैयाँ रहेको छ । गत वर्षको तुलनामा पुरस्कार राशिमा ५ प्रतिशतले वृद्धि गरिएको नेपाल प्रोफेसनल गल्फ संघ (एनपीजीए) का अध्यक्ष रवीन्द्रमान श्रेष्ठले जनाए ।
सूर्य नेपाल सेन्ट्रल ओपन गोकर्ण गल्फ क्लबमा हुनेछ । यसमा कुल पुरस्कार राशि ८ लाख ४० हजार रहेको छ । डिसेम्बर अन्त्यमा २ लाख ५० हजार कुल पुरस्कार राशिको सूर्य नेपाल एनपीजीए म्याच–प्ले हुनेछ । जनवरीको अन्त्यमा सूर्य नेपाल वेस्टर्न ओपन हुनेछ । पोखराको हिमालयन गल्फ क्लबमा हुने प्रतियोगितामा कुल पुरस्कार राशि ८ लाख ४० हजार रहनेछ ।
फेब्रुअरीको पहिलो साता सूर्य नेपाल काठमाडौं ओपन हुनेछ । कुल पुरस्कार राशि ७ लाख ३ हजार ५ सय रुपैयाँ रहेको प्रतियोगिता सूर्य नेपाल गल्फ क्लबमा हुनेछ । धरान गल्फ क्लबमा हुने सूर्य नेपाल इस्टर्न ओपनको कुल पुरस्कार राशि ८ लाख ४० हजार रहेको छ । यो प्रतियोगिता फेब्रुअरीमा हुनेछ ।
मार्चमा रोयल नेपाल गल्फ क्लबमा सूर्य नेपाल च्यालेन्ज, मार्चको अन्तिममा सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप र अप्रिलमा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुनेछ । दुवै प्रतियोगिता गोकर्णमा हुनेछ । सूर्य नेपाल च्यालेन्जको ५ लाख ७२ हजार २ सय ५०, सूर्य नेपाल एनपीजीए टुरको ८ लाख ४० हजार र सूर्य नेपाल प्रिमियरको १५ लाख ५० हजार ४ सय रुपैयाँ पुरस्कार राशि रहेको छ ।
नेपाल प्रोफेसनल गल्फ संघले सूर्य नेपाल प्रालिसँग मिलेर टुर आयोजना गर्न लागेको यो १७ औं संस्करण हो । सेन्ट्रल ओपनमा ३३ व्यावसायिक र चार एमेच्योर खेलाडीले खेल्ने एनपीजीएका महासचिव दीपक आचार्यले जनाए । शुक्रबहादुर राई भारतमा पीजीटीआईए टुर खेलिरहेकाले सेन्ट्रल ओपनमा खेल्ने छैनन् ।
सुवास तामाङ पनि भारतमा प्रशिक्षण गरिरहेकाले भुवन नगरकोटी, नीरज तामाङ, धन थापा, सञ्जय लामा, रवि खड्कासहित सद्भाव आचार्यलाई सेन्ट्रल ओपनको दाबेदारमा हेरिएको छ । भारतमा बसेर खेलिरहेका तोरण शाही र बेलायतमा रहेर खेल्दै आएका कुमार कामी सेन्ट्रल ओपनमा खेल्नेछन् । राजकुमार राई यसै प्रतियोगिताबाट व्यावसायिक खेलाडीको रूपमा प्रवेश गर्दै छन् ।
सेन्ट्रल ओपन विजेताले १ लाख ४५ हजार, उपविजेताले ९४ हजार र तेस्रो हुनेले ७० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा शीर्ष २१ स्थान हात पार्नेले पुरस्कार पाउनेछन् ।
