२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

ओमान अपराजित च्याम्पियन

विनोद पाण्डे

काठमाडौँ — यसअघि ट्वान्टी–२० मा ‘टाइ’ को अनुभव भए पनि नेपालले कहिल्यै सुपर ओभरको सामना गरेको थिएन । ओमानले नेपाललाई सुपर ओभरको राम्रो अनुभव गराउँदै ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको उपाधि जितेको छ ।

ओमान अपराजित च्याम्पियन

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ८४ रन बनाएको थियो । जवाफमा ओमानले ९ विकेट गुमाई १ सय ८४ रन नै बनाएपछि खेल ‘टाइ’ भयो र निर्णय सुपर ओभरमा पुग्यो ।

सुपर ओभरमा नसिम खुशीले अविनाश बोहरालाई ३ छक्का प्रहार गरेपछि ओमानले विनाक्षति २१ रन बनायो । जवाफमा नेपालले पहिलो बलमै कुशल भुर्तेललाई गुमायो । दोस्रो बलमा कुशल मल्लले कुनै रन लिन सकेनन् । तेस्रो र चौथो बलमा मल्ल र गुलशन झाले १–१ रनमात्र लिन सके । पाँचौं र अन्तिम बलमा मल्लले चौका प्रहार गरे पनि नेपालले १० रनमात्र बनाउन सक्यो ।

ओमानले अपराजित रहँदै प्रतियोगिता जितेको हो । ओमानसँग यस प्रतियोगितामा नेपालको दोस्रो हार हो । ओमानले समूह चरणको खेलमा पनि नेपाललाई ५ रनले पराजित गरेको थियो । यसअघि नै फाइनलमा पुगेसँगै नेपाल र ओमानले अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी–२० विश्वकपमा स्थान पक्का गरेका थिए । नेपालले यूएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले हराएर उपाधि भिडन्त तय गरेका थिए ।

ओमानलाई विजयनिम्ति अन्तिम ओभरमा ८ रन चाहिन्थ्यो । सन्दीप लामिछानेले २ विकेट लिएपछि खेल अन्तिम बलमा २ रन चाहिने अवस्थामा नेपालले १ रनमात्र दिएपछि स्कोर बराबर भयो ।

ओमानबाट ओपनर कश्यप प्रजापति सर्वाधिक ६३ रन बनाए । प्लेयर अफ द फाइनल उनले ५२ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे । अविनाशले १७ औं ओभरमा उनलाई आउट गरी नेपाललाई खेलमा फर्काए ।

प्रतीक अथाभा ७ रनमा आउट भए । उनलाई सोमपाल कामीले एलबीडब्लू आउट गरे । प्रजापति र अकिब इल्यासले दोस्रो विकेटमा ७ ओभरभित्र ६७ रनको साझेदारी गरे । उनीहरूको प्रयासमा ओमानले पहिलो १० ओभरमा ९७ रन जोडेर टोलीलाई विजयतर्फ ढल्काएका थिए । गुलशनले आउट गर्नुपूर्व इल्यासले १९ बल खेल्दै २ चौका र ३ छक्कासहित ३३ रन बनाए ।

कप्तान जिसन मक्सुदले २६ रनको महत्त्वपूर्ण योगदान दिए । उनले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे । मक्सुदलाई आउट गरी विवेक यादवले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो विकेट लिए । नसिम खुशी १ रनमा करण केसीले आउट गरे । उनी आउट भएपछि आएका मेहरान खानले पहिलो दुई बलमा चौका र छक्का प्रहार गरे पनि अर्को बलमा विवेकले सानदार डाइभिङ फरवार्ड क्याच लिएर आउट गराए ।

यसअघि गुलशन र कप्तान रोहित पौडेलको अर्धशतकमा नेपालले ठूलो स्कोर बनाएको थियो । गुलशनले २० बलमै अर्धशतक बनाए र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा उनको यो पहिलो अर्धशतक हो । उनले कुल २५ बल खेल्दै ५ चौका र ४ छक्कासहित ५४ रन बनाए ।

नेपाल १० ओभरमा ४ विकेट गुमाई ६० रनमात्र बनाउन सकेको अवस्थामा गुलशन र रोहितले ७ ओभरमा ७८ रनको साझेदारी गरे । बिलाल खानको बलमा गुलशन आउट भएपछि यो साझेदारी टुटेको थियो । ३६ बलमा अर्धशतक पूरा गरेका रोहितले कुल ३७ बलमा ५२ रन बनाउनेक्रममा ५ चौका र २ छक्का प्रहार गरे ।

रोहित र करणले अन्तिम ओभरमा फायज बटलाई २४ रन प्रहार गरे । त्यसमा करणले दुई छक्कासहित १९ रन बनाए । नेपालले अन्तिम ५ ओभरमा ७५ रन जोडेको थियो ।

नेपालको सुरुआत राम्रो रहेन । दोस्रो ओभरमा छक्का प्रहार गर्दै आफ्नो खाता खोलेका आसिफ शेख ६ रनमै आउट भए । तेस्रो नम्बरको ब्याटिङमा नेपालले पुनः एक अर्को प्रयोग गर्दै सन्दीप जोरालाई पठाइएको थियो । १३ बलमा १० रनमात्र बनाउन सकेका उनलाई ओमानका कप्तान जिसन मक्सुदले बोल्ड गरे ।

ओपनर भुर्तेलले ३१ रन बनाए । उनले २२ बलमा ३ चौका र २ छक्का प्रहार गरे । इल्यासले भुर्तेल र मल्ललाई आउट गरी नेपाललाई पूर्ण रूपमा दबाबमा राखे । बोल्ड हुनुपूर्व मल्लले ९ बलमा ३ रनमात्र बनाउन सके । विवेकले पनि १ रनमात्र बनाउन सके ।

ओमानका अकिब इल्यासले प्लेयर अफ द सिरिजको पुरस्कार पाए । उनले १ सय ६ रन बनाउनुका साथै १० विकेट लिएका थिए ।

प्रकाशित : कार्तिक २०, २०८० ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?