कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १००

पाइला विश्वकपतर्फ

पछिल्लो १० महिनामा अविश्वसनीय उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपालले शुक्रबार त्यसमा विश्वकपको यात्रा थपेको हो
विनोद पाण्डे

काठमाडौँ — नेपालले शुक्रबार सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गरी ट्वान्टी–२० विश्वकपमा छनोट हुँदै २०२४ जुनमा वेस्ट इन्डिज र अमेरिकाको यात्रा तय गरेको छ । नेपालले १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो । यसअघि पहिलो पटक सन् २०१४ मा खेलेको थियो ।

पाइला विश्वकपतर्फ

एसिया क्षेत्रबाट नेपालसँगै ओमानले ट्वान्टी–२० विश्वकपमा अन्य १८ राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछ । ओमान पनि दोस्रो पटक विश्वकपमा छनोट भएको हो । यसअघि पनि विश्वकप खेलेका सोमपाल कामी अहिले टिमका प्रमुख अलराउन्डर हुन् । उनले नै सेमिफाइनलमा यूएईका दुवै ओपनरलाई आउट गरेर नेपालको विजय यात्रा कोरेका थिए ।

ओमानसँग अघिल्लो दिन हारेपछि नेपालको क्रिकेट टिमसामु प्रश्नैप्रश्न तेर्सिएका थिए । मुखैमा आएको विश्वकपको गाँस खोसिएझैं बनाएको थियो, नेपाली समर्थकलाई । नेपालको यात्रा यतिमै रोकिने त होइन भन्ने चर्को चिन्ता थियो । त्यही एक हारले धेरै यस्ता प्रश्न र संशय उब्जाएको थियो । ट्वान्टी–२० विश्वकपको एसिया क्षेत्रमा ओमानसँगको हारले नेपाललाई समूह ‘ए’ को उपविजेतामा मात्रै झारेन, यूएईसँगको कठिन सेमिफाइनल खेलमा उभ्याइदिएको थियो । फाइनलमा पुग्ने टिम मात्र विश्वकपमा पुग्ने भएकाले त्यही एक हारकै कारण ट्वान्टी–२० विश्वकपमा नेपाल छनोट नहुने हो कि भन्ने खतरा बढेको थियो ।

ओपनिङ ब्याटर आसिफ शेखलाई विश्वास गर्ने हो भने ओमानसँगको हारले नेपाली टिमलाई कुनै असर पारेको थिएन । हुन पनि नेपाली टिमभित्र उक्त हारमा त्यस्तो कुनै दबाब देखिएको थिएन र निराशा पनि थिएन । त्यसैले नेपालले यूएईविरुद्ध सेमिफाइनलमा आरामदायी खेल खेल्यो र विपक्षीलाई कुनै पनि समय खेलमा फर्कने मौका दिएन । उनै आसिफले मूलपानी क्रिकेट मैदानमा अविजित अर्धशतक बनाएपछि नेपालले शुक्रबार एकपक्षीय जस्तै सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै सहज जित निकाल्यो । नेपालले त्यस्तो कठिन प्रतिस्पर्धाको सामना नै गर्नुपरेन ।

आसिफले अन्तर्राष्ट्रिय ट्वान्टी–२० मा आफ्नो व्यक्तिगत उच्च स्कोर ५१ बलमा अविजित ६४ रन बनाएपछि यूएईले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७ बलअगावै पूरा गरेको थियो । प्लेयर अफ द म्याच आसिफले ७ चौका र १ छक्का प्रहार गरेका थिए । कप्तान रोहित पौडेलले आसिफलाई गतिलो साथ दिँदै अविजित ३४ रन बनाए । २० बल खेलेका उनले समान २ चौका र २ छक्का प्रहार गरे । ‘हामीले टिमभित्रको प्रक्रिया पछ्याइरहेका छौं र सबैभन्दा महत्त्वपूर्ण पक्ष, एकअर्काप्रति विश्वास गरिरहेका छौं । जस्तै परिस्थितिमा पनि ड्रेसिङ रुममा शान्त भएर बसिरहेका छौं,’ आफ्नो टिमप्रति पूर्ण विश्वस्त आसिफले भने, ‘विवेकले ओमानविरुद्ध जसरी अन्तिम समयमा ब्याटिङ गरे, त्यसले हामीमा जस्तोसुकै परिस्थितिमा पनि खेल्न सक्छौं भन्ने देखाएको छ ।’

नेपालले सेमिफाइनलमा निकै परिपक्व खेल खेल्यो । टस जितेर पहिले ब्याटिङ गरेको यूएईलाई १३४–९ को स्कोरमा रोकेपछि नै खेल नेपालको नियन्त्रणमा आएको थियो । मूलपानी क्रिकेट मैदानको खुला फाँटमा उपस्थित बाक्लो समर्थकमाझ आसिफ र नेपाली टिमले निकै विश्वस्त ब्याटिङ गर्दै विश्वकपको यात्रा तय गराएका थिए । यूएईमाथि नेपाल निकै हाबी रह्यो । यसले नेपालको प्रदर्शन एसोसिएट राष्ट्रभन्दा माथि र टेस्ट राष्ट्रभन्दा केहीमुनि रहेको देखाएको थियो ।

विश्वकपमा नेपाल छनोट भएकामा कप्तान रोहित आफूलाई निकै भाग्यमानी सम्झन्छन् । ‘सोमपाल र विनोद (भण्डारी) दाइबाहेक अहिलेको टिमका प्रायः सबै खेलाडी २०१४ को विश्वकप हेरेरै हुर्किएका हुन्, त्यही विश्वकपमा नेपालको खेल हेरेर क्रिकेट खेल्न सुरु गरेकाहरू छन्,’ कप्तान रोहितले भने, ‘त्यसैले म आफूलाई भाग्यमानी मान्छु । त्यहींबाट म काठमाडौं आएर प्रशिक्षण गर्न सुरु गरेर अहिले विश्वकप खेल्न पाउने स्थितिमा पुगेको छु ।’

पछिल्लो १० महिनामा अविश्वसनीय उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपालले शुक्रबार त्यसमा विश्वकपको यात्रा थपेको हो । यो अवधि प्रशिक्षक मोन्टी देशाईको सफलकाल पनि हो । नेपाल विश्वकप लिग २ मा अन्तिम १२ मध्ये ११ खेल जितेर अपत्यारिलो हिसाबमा सिधै विश्वकप छनोटमा पुगेको थियो । वैशाखमा घरेलु भूमिमा आयोजना भएको एसीसी प्रिमियर कप जित्दै नेपाल एसिया कपमा पुगेर पाकिस्तान र भारतजस्ता विश्वको शीर्षस्थ टिमविरुद्ध उच्च प्रदर्शन गरेको थियो ।

जादुको छडी लिएर नेपाल आएका उनै मोन्टी यूएईमाथिको जितपछि पत्रकार सम्मेलनमा भने अनुपस्थित रहे । प्रायःजसो निर्णायक क्षणमा प्रशिक्षक आएर सञ्चारमाध्यमको सामना गर्ने गर्छन् ।

नेपाली टिमका खेलाडीका अनुसार नेपालको जितपछि मोन्टी भावविभोर हुन पुगेका थिए र आफ्नो भनाइ राख्न कठिन स्थितिमा थिए उनी । अघिल्लो दिन नै ओमानसँगको हारले उनी नेपालको विश्वकपको यात्रा समाप्त नभएको र नेपाल विश्वकपमा पुग्नेमा विश्वस्त थिए । नेपाली टिमले मैदानमा त्यहीअनुरूप विश्वस्त प्रदर्शन देखाएको थियो ।

जितको खुसीमा रुँदै नेपालका मिडियम पेसर अविनाश बोहरा विकेटलाई चुम्न पुगेका थिए । नेपाली टिमले यसअघिको तीन विश्वकप छनोटमा निकै फितलो प्रदर्शन गरेको थियो, त्यसमध्ये दुईमा ट्वान्टी–२० विशेषज्ञ बलर रहेका अविनाश पनि थिए । अब भने उनी विश्वकप खेल्ने सपना पूरा भएको मान्छन् । नेपालले पनि दशकदेखिको विश्वकप खेल्ने सपना पूरा गरेको छ ।

प्रकाशित : कार्तिक १८, २०८० ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?