कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७
ट्वान्टी-२० विश्वकप छनोट

यूएईले दियो नेपाललाई १३५ रनको लक्ष्य

विनोद पाण्डे

काठमाडौँ — नेपालले यूएईविरुद्धको ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनल खेल जित्न १ सय ३५ रनको लक्ष्य पाएको छ । मूलपानी क्रिकेट मैदानमा शुक्रबार यूएईले टस जितेपछि पहिला ब्याटिङ गर्ने निर्णय गर्दै १३४–९ को स्कोरमा रोकियो ।

यूएईले दियो नेपाललाई १३५ रनको लक्ष्य

ट्वान्टी+२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनलमा पुग्ने टोली अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्ने विश्वकपमा पुग्ने छन् । कीर्तिपुरमा भएको अर्को सेमिफाइनलमा बहराइनले ओमानलाई १ सय ७ रनको लक्ष्य दिएको छ ।

चोटका बाबजुद खेलेका वृत्या आनन्दले यूएईबाट सर्वाधिक ६४ रन बनाए । हङकङविरुद्ध अघिल्लो दिन समूह चरणको खेलमा ब्याटिङ गर्दा बलले नाडीमा चोट लागे पनि खेलेका वृत्याले ५१ बल खेली ८ चौका र २ छक्का प्रहार गरे ।

कप्तान एवं मोहम्मद वासिमले २६ रन बनाए । उनले १६ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । अलिसान सराफु १६ र आसिफ खान १३ रन बनाए ।

नेपालबाट कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । उनले ३ ओभरमा ११ रनमात्र खर्चिए । सन्दीप लामिछानेले २ विकेट लिए । १८ औं ओभर विकेट मेडन राखेका उनले ४ ओभरमा १४ रनमात्र खर्चिए ।

सोमपाल कामीले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । उनले नै चौथो ओभरमा आफ्नै बलिङमा फलो थ्रुमा बल टिपेर सिधा थ्रोमा ओपनर खालिद साहलाई ३ रनमा रनआउट गरेका थिए । सोमपालले नै वासिमको विकेट लिएका थिए । कप्तान रोहित पौडेलले पनि १ विकेट लिए ।

ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रअघि भएको नेपाल ट्वान्टी-२० आई शृंखलामा नेपालले यूएईलाई मूलपानीमा भएको दुवै खेलमा पराजित गरेको थियो । तर कीर्तिपुरमा भएको फाइनलमा यूएईले नेपाललाई ४ विकेटले पराजित गरेको थियो ।

गत वर्ष ओमानमा सेमिफाइनलमा यूएईसँगै पराजित हुँदा नेपाल ट्वान्टी-२० विश्वकपमा छनोट हुन असफल भएको थियो । यूएईले नेपाललाई ६८ रनले पराजित गरेको थियो ।

तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

प्रकाशित : कार्तिक १७, २०८० १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?