कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

भारतसँग हारेपछि नेपालको चुनौती समाप्त

आश्विन १६, २०८०
भारतसँग हारेपछि नेपालको चुनौती समाप्त

हाङचउ — नेपालको १९ औं एसियाली खेलकुदको पुरुष क्रिकेटमा चुनौती मंगलबार समाप्त भएको छ । भारतविरुद्धको खेल २३ रनले गुमाएपछि नेपालको यात्रा क्वाटरफाइनलमै रोकिएको हो । स्वर्ण पदकको बलियो प्रत्यासी भारत भने यस जितपछि सेमिफाइनल प्रवेश गर्न सफल भएको छ । 

नेपालले भारतविरुद्ध बलियो चुनौती पेस गरे पनि त्यो जितका लागि पर्याप्त रहेन । जितका लागि २ सय ३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले २० ओभरमा नौ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए । उनले १५ बलको सामना गरेर चार चौका प्रहार गरे ।

यस्तै कुशल मल्लले २९ रन बनाए । उनले २२ बलमा दुई दुई चौका र छक्का प्रहार गरे । कुशल भुर्तेलले ३२ बलमा २८ रन बनाए । भारतीय बलरमध्ये रवि विश्नोइ २४ रन खर्चेर तीन विकेट हात पारे ।

त्यस अगाडि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा चार विकेट गुमाएर २ सय २ रन बनाएको थियो । त्यसमा ओपनर यशस्वी जयसवालले ४९ बलमा सय रन बनाए । त्यस्तै कप्तान ऋतुराज गायक्वाड र शिभम दुवेले समान २५ रन बनाए । अन्त्यतिर नटआउट रिन्कु सिंहले १५ बलमा ३७ रन थपे ।

नेपाली बलरमध्ये दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । यसका लागि उनले चार ओभरमा ३१ रन खर्चेर । यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले १/१ विकेट हात पारे । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी खेल भएको यो पहिलोपटक हो । त्यस अगाडि एसियाकपमा क्रममा नेपाल र भारत वान डे क्रिकेटमा भिडेका थिए ।

प्रकाशित : आश्विन १६, २०८० १०:४२
×