लिभरपुल क्वाटरफाइनलमा

काठमाडौँ — लिभरपुल कलेज एपेक्स कप अन्तर कलेज क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । मूलपानीको तल्लो क्रिकेट मैदानमा लिभरपुलले इस्लिङ्टन कलेजलाई ६ विकेटले पराजित गरी समूह उपविजेता भएर नकआउट चरणमा प्रवेश गरेको हो ।

लिभरपुलको यो दोस्रो जित हो । यद्यपि टोली रनरेटका आधारमा समूह ‘बी’ मा दोस्रो स्थानमा रह्यो । कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फोर्मेसन टेक्नोलोजी (केसीएमआईटी) र लिभरपुलको समान ४ अंक भए पनि केसीएमआईटी रनरेटमा अगाडि रह्यो । समूहमा एस कलेजले १ खेलमात्र जित्यो भने इस्लिङ्टन सबै ३ खेलमा पराजित भयो ।
वर्षाका कारण १६–१६ ओभरमा छोट्याइएको खेलमा इस्लिङटन ११ ओभरमा ४५ रनमा अलआउट भयो । खालिद हसन अन्सारी र शुभम शाह समान १० तथा प्रथम भट्टराई ९ रनमा आउट भए । लिभरपुलका विशाल केसीले ५ विकेट लिए । प्लेयर अफ द म्याच उनले ४ ओभरमा २० रन खर्चे । चुनचुन बाबु यादवले २ र जयराम यादवले १ विकेट लिए । लिभरपुलले १२ ओभरमै लक्ष्य पूरा गर्यो । अभिषेक यादव र प्रज्वल खत्रीले समान १४ तथा प्रत्युष जोशीले ६ रन बनाए । इस्लिङटनबाट सुयश ढकालले २ र मिनाल तिमल्सिनाले १ विकेट लिए ।
अर्को खेलमा आयोजक एपेक्स कलेज भने काठमाडौं विश्वविद्यालय (केयू) लाई ७ विकेटले पराजित गरे पनि समूह चरणबाटै बाहिरिएको छ । समूह ‘डी’ मा सेन्ट जेभियर्स कलेज, केयू र एपेक्सको समान ४ अंक भए पनि राम्रो रनरेटका आधारमा सेन्ट जेभियर्स र केयू क्वाटरफाइलन पुगे । समूहको अर्को टोली थेम्स कलेजले सबै ३ खेलमा पराजय बेहोर्यो ।
टस जितेको केयूले २० ओभरमा ९ विकेट गुमाई ८८ रनमात्र बनाउन सक्यो । विशाल देवकोटाले २५, शाश्वत पौडेलले १६, सार्थक न्यौपानेले अविजित १५ रन बनाए । हरिश बडु ४ विकेट लिँदै प्लेयर अफ द म्याचमा चुनिए । उनले ४ ओभरमा १७ रन खर्चेका थिए । शशांक अग्रवालले २ र राहुल सहनीले १ विकेट लिए ।
एपेक्सले १३.३ ओभरमा लक्ष्य पूरा गर्यो । दिवश चौधरीले ३४ बलमा अविजित ४६, धिरज यादवले २३ र हरिशले ८ रन बनाए । केयूका ऋषभ खतिवडाले २ विकेट लिए ।
