एपीएम कप टेबलटेनिस बुधबारदेखि

काठमाडौँ — नेपाल एपीएम प्रालिको आयोजनामा तेस्रो नेपाल एपीएम टेबलटेनिस प्रतियोगिता बुधबारदेखि सुरु हुने भएको छ ।
प्रतियोगितामा विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

क्याडेट ब्वाइज/गर्ल्स सिंगल्स, जुनियर ब्वाइज/गर्ल्स सिंगल्स, खुला टिम इभेन्ट, पुरुष भेट्रान ४० वर्ष, ५० वर्ष र ६० वर्षमाथि सिंगल्स तथा भेट्रान महिला ४० वर्षमाथि सिंगल्समा प्रतिस्पर्धा हुनेछ ।
आयोजकका अनुसार प्रतियोगितामा नेपाल, चीन, दक्षिण कोरिया, जापान र भारतबाट करिब ३ सय खेलाडीको सहभागिता रहनेछ । प्रतियोगिताका लागि एपीएमका निर्देशक दानबहादुर महता र जिओम नेपालका निर्देशक ज्याकी महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार जिओमले प्रत्येक स्पर्धाका स्वर्ण पदक विजेतालाई जम्मा ६ लाख रुपैयाबराबरको टेबलटेनिस खेल सामग्री पुरस्कारस्वरुप प्रदान गर्ने छ । त्यसमा टिम इभेन्टका विजेतालाई २ लाख बराबरको सामग्री दिइने निर्देशक महर्जनले बताए ।
अखिल नेपाल टेबलटेनिस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको टार्गो प्रतियोगिताको अफिसियल बल पार्टनरका रुपमा रहेको छ । चारदिने प्रतियोगिताका खेल ललितपुर भैंसेपाटीस्थित एपीएम क्लबमा हुनेछ ।
