एसियाड खेल्ने जुडो खेलाडीको बिदाइ


काठमाडौँ — महेन्द्र रत्न क्याम्पसले चीनको हाङचउमा हुने १९ औं एसियाली खेलकुदमा भाग लिने आफ्ना तीन खेलाडीलाई मंगलबार बिदाइ गरेको छ । स्नातक तह प्रथम वर्षमा अध्ययनरत तीन जुडो खेलाडीलाई क्याम्पस प्रमुख गेहेन्द्रप्रसाद दाहाल र स्वास्थ्य शारीरिक शिक्षा विषय शिक्षक कोपिलकुमार थापालगायतले सफलताको कामनासहित बिदाइ गरे ।


पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ तथा महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान र ५२ केजीमुनि देवकीमाया श्रेष्ठले हाङचउ एसियाडमा प्रतिस्पर्धा गर्नेछन् । तीनै खेलाडी बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् । इन्द्र र देवकी दाजुबहिनी हुन् । उनीहरूसहित ८ जुडो खेलाडीले एसियाडमा प्रतिस्पर्धा गर्दै छन् ।
सोही अवसरमा पामका प्रशिक्षक सूर्यनारायण श्रेष्ठलाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । पाममा ३१ जना आश्रित छन् । प्रशिक्षक श्रेष्ठका अनुसार सबै जुडो खेल्छन् ।
प्रकाशित : आश्विन २, २०८० २१:४०