ओलम्पियन्स फोरममा नेपालको प्रशंसा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल ओलम्पियन्स संघले नेपालका विभिन्न ठाउँमा सञ्चालन गरेको स्कुल टु ओलम्पिक कार्यक्रमले तेस्रो वर्ल्ड ओलम्पियन्स फोरममा प्रशंसा पाएको छ ।

ओलम्पियन्स फोरममा नेपालको प्रशंसा

नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले टर्कीको इस्तानबुलमा आइतबार सम्पन्न ओलम्पियन्स फोरममा नेपालले प्रस्तुत गरेको स्कुल टु ओलम्पिक कार्यक्रमलाई सबैले प्रशंसा गरेको र अन्य देशका संघले त्यस्तै कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएको बताएका छन् । अन्य देशका सहभागीले पनि आ–आफ्नो गतिविधि फोरममा प्रस्तुत गरेका थिए ।

‘नेपालले पछिल्लो दुई वर्षमा गरेको स्कुल टु ओलम्पिक, ओलम्पियन्स रि–युनियनलगायत कार्यक्रम समेटेर तयार पारिएको भिडियो कार्यक्रममा प्रस्तुत गरिएको थियो,’ अध्यक्ष विष्टले भने, ‘त्यसम स्कुल टु ओलम्पिक अभियानलाई सबैले प्रशंसा गर्दा खुसी लाग्नुका साथै थप प्रेरणा मिलेको छ । सही कामको सुरुआत गरेको महसुस भएको छ ।’

फोरममा विश्वका १ सय ५० भन्दा बढी ओलम्पिन्स संघका प्रतिनिधिको सहभागिता थियो । वर्ल्ड ओलम्पियन्स एसोसिएसनका अध्यक्ष जोय बोउजोउलाई विष्टले नेपाल आउने नियन्त्रणासहित मायाको चिनो प्रदान गरेका थिए ।

प्रकाशित : आश्विन १, २०८० २०:२०
प्रतिक्रिया
पठाउनुहोस्