वर्षा, रन र कीर्तिमान


कोलम्बो — तीन साताको खेल र वर्षापछि एसियाको सबैभन्दा ठूलो प्रतियोगिता आइतबार सकिएको छ र एसिया कपको त्यस फाइनलमा भारतले श्रीलंकालाई सजिलै १० विकेटले पनि हरायो । पाकिस्तान र श्रीलंकामा आयोजित ५० ओभरको प्रतियोगिता अब आउने विश्वकपका लागि लय समाउने अवसर पनि रह्यो, सहभागी छ टिममध्ये पाँचका लागि । अबको एकदिवसीय विश्वकप भारतमा आयोजना हुँदै छ । फ्रान्सेली समाचार संस्था एएफपीले यस प्रतियोगिताका पाँच मुख्य विशेषता निकालेको छ र ती यस प्रकार छन् ।


चम्के साहिन
पाकिस्तानका साहिन अफ्रिदी सुरुमै चम्के, भारतविरुद्धको पहिलो खेलमा । वर्षाले समूह चरणको त्यो खेल त पूरा हुन पाएन । तर आफ्नो बायाँ हाते पेस आक्रमणको मद्दतले भारतीय ब्याटिङलाई धराशायी बनाएको थियो । साहिनले रोहित शर्मा र विराट कोहलीको विकेट लिए । अनि साथी फास्ट बलर ह्यारिस रउफ र नसिम शाहको पनि सटीक प्रदर्शन अगाडि भारत पालेकेलेमा भएको खेलमा २ सय ६६ रनमा अलआउट भएको थियो ।
यिनै दुई छिमेकी प्रतिद्वन्द्वीबीचको खेलमा भने भारतले विशाल स्कोर खडा गर्यो । भारतले दुई विकेटमा ३ सय ६७ रन बनाएको थियो । अनि त्यसमा भारत २ सय २८ रनको ठूलो अन्तरले विजयी पनि रह्यो । त्यसै खेलमा नसिम र रउफ घाइते पनि भए । यो विश्वकप अगाडि पाकिस्तानको चिन्ताजनक प्रदर्शन पनि थियो । खेलपछि एएफपीसँगको कुराकानीमा साहिनले भनेका थिए, ‘मेरो अझ राम्रो प्रदर्शन त आउनै बाँकी छ ।’
सिराजको कमाल
सायद भारतीय फास्ट बलर मोहम्मद सिराजले आफ्नो उत्कृष्ट प्रदर्शनका लागि अन्त्य नै कुरेका थिए । उनको छ विकेटको प्रदर्शन अगाडि पूरा श्रीलंकाली टिम नराम्रोसँग चुक्यो । उनले एकै ओभरमा चार विकेट पनि लिए । एकदिवसीय क्रिकेटमा आफ्नो उत्कृष्ट प्रदर्शनका रूपमा उनले २१ रनमा छ विकेट लिए । वर्षाले खेल प्रभावित हुन सक्ने परिस्थितिमा उनले वास्तवमै धारिलो बलिङ गरेका थिए । त्यसैले श्रीलंका १५.२ ओभर मात्र टिक्यो र ५० रन बनाएर अलआउट भयो ।
पाकिस्तानमाथि प्राप्त प्रभावशाली जितपछि भारतका लागि पछिल्ला केही साता वास्तवमै सुखद रह्यो । पाकिस्तानविरुद्धका सुपर–फोरको खेलमा विराट कोहली र केएल राहुलले शतक पनि बनाए । ओपनर शुबमन गिलले पनि आफ्नो उपस्थितिलाई प्रमाणित गरे, बंगलादेशविरुद्धको खेलमा । उनले १ सय २१ रन बनाएका थिए । यद्यपि उनको टिम आफैं पनि विजयी रहेन, त्यसैले केही हदसम्म शतक ओझेलमा पर्यो । फेरि यो एक प्रकारले अर्थहीन खेल पनि थियो, भारत यसअघि नै फाइनल पुगिसकेको अर्थमा ।
सबैको नजरमा वेलालागे
श्रीलंकाली टिमका सबैभन्दा कान्छा खेलाडीमा पर्छन्, दुनिथ वेलालागे । प्रतियोगितामै श्रीलंका ‘अन्डर डग’ टिम रहेको थियो । यही टिमविरुद्ध उनको प्रदर्शन सबैको नजरमा पर्ने खालको थियो । सुपर–फोरमा श्रीलंकामाथि प्राप्त नाटकीय जितमा वेलालागेको प्रदर्शनले सबैको मन जित्न सफल रह्यो । यी बायाँ हाते स्पिनरले आफ्नो खेल जीवनमै पहिलो पटक पाँच विकेटको प्रदर्शन पनि गरे, सुपर–फोरको खेलमा भारतविरुद्ध ।
उनले रोहित र कोहलीको सबैभन्दा महत्त्वपूर्ण विकेट पनि लिए । त्यसै प्रदर्शनको अगाडि भारत २ सय १३ रनमै खुम्चिएको थियो । तर श्रीलंकाले त्यसको फाइदा भने उठाउन सकेन । तिनै वेलालागेको अविजित ४२ रनको बाबजुद श्रीलंका लक्ष्यसम्म पुग्नै सकेन । यी २० वर्षीय खेलाडीको प्रदर्शनले टिममा आत्मविश्वास फर्काउने काम भने गरेको थियो । त्यसपछि फास्ट बलर मथेशा पाथिराना र ब्याटर चारिथ असलन्काको प्रदर्शनको मद्दतले श्रीलंका फाइनल प्रवेशका लागि पाकिस्तानलाई भने हरायो, त्यो पनि अन्तिम बलमा ।
वर्षाको वर्चस्व
यो प्रतियोगिताका एक खास नायक रहे, मैदानमा खट्ने श्रीलंकाली कामदार पनि । एसियाली क्रिकेट काउन्सिल (एसीसी) र श्रीलंकाली क्रिकेट बोर्ड (एसएलसी) ले सुन्तला रङको जर्सीमा रहेका यी कामदारको जमात्लाई ‘अन सङ्ग’ नायकको संज्ञा पनि दिए, एकै स्वरमा । खासमा पूरा प्रतियोगितामा वर्षाले दादागिरी नै मच्चायो । प्रतियोगिताका १३ खेलमध्ये नौको आयोजना श्रीलंकाली भूमिमा भएको थियो, भारतले राजनीतिक तनावका कारण पाकिस्तान जान अस्वीकार गरेपछि ।
त्यसमध्ये अधिकांश खेल वर्षाले प्रभावित रह्यो । वर्षाकै कारण पालेकेलेमा हुने भनिएको भारत र पाकिस्तानबीचको खेल पूरा हुन सकेन । कोलम्बोमा भएको सुपर–फोरका खेलमा पनि पानी त पर्यो नै । त्यस खेलका लागि अन्तिम समयमा आएर अविश्वसनीय रूपमा ‘रिजर्भ डे’ पनि राखिएको थियो । यो निर्णयमा श्रीलंका र बंगलादेश पटक्कै खुसी हुन सकेन । जे होस्, रोहित र कोहलीले ती ग्राउन्ड्स स्टाफलाई धन्यवाद दिए । अनि एसीसी र एसएलसीले ५० हजार डलर बोनस दिने पनि निर्णय गर्यो ।
...
नेपालको सानदार डेब्यु
धेरै अर्थमा नेपालको एसिया कपमा डेब्यु सुखद रहेन किनभने पाकिस्तानविरुद्ध मुल्तानमा भएको उद्घाटन खेलमा विश्व क्रिकेटको नयाँ आगन्तुक टिम १ सय ४ रनमै अलआउट भयो । तर रोहित पौडेलको नेतृत्वमा रहेको नेपालले भारतविरुद्धको खेलमा भने प्रभावशाली प्रदर्शन गर्यो । वर्षा बाधक बनेको त्यस खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ४८.२ ओभरमा २ सय ३० रन बनाएको थियो । अन्ततः नेपाल यस खेलमा १० विकेटले पराजित पनि रह्यो । खेलपछि रोहित र उनका साथी खेलाडीले रोहित र कोहलीसँग कुराकानी गर्ने अवसर पनि पाए । रोहितकै शब्दमा यो भेटघाट नेपाली खेलाडीका लागि निकै उपयोगी रह्यो । नेपालले सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । त्यसयता नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उपस्थिति देखाउन प्रयासरत रहेको छ । यसै वर्षको सुरुमा भएको एकदिवसीय विश्वकपमा छनोटमा पुगेर नेपालले सबैको ध्यान खिच्न भने सफल रह्यो । च्याम्पियन बनेको भारतविरुद्ध २ सय रनमाथिको स्कोर बनाउने नेपाल र बंगलादेश मात्र रहे ।
प्रकाशित : आश्विन १, २०८० ०७:३८