कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

योगेशले बटुले विश्वकप भेन्युको अनुभव

चितवनका योगेश सापकोटाले एडिलेडमा महिला विश्वकप फुटबलमा विभिन्न देशका ६० जनाभन्दा बढीसँग बहुसांस्कृतिक वातावरणमा काम गर्ने अवसर पाए 
राजु घिसिङ

काठमाडौँ — फिफा महिला विश्वकप फुटबलको नवौं संस्करणका ६४ खेल अस्ट्रेलिया र न्युजिल्यान्डका नौ सहरका १० रंगशालामा आयोजना गरियो । सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा सम्पन्न फाइनलमा फुटबलको जन्मदाता इंग्ल्यान्डलाई १–० ले पराजित गर्दै स्पेन महिला विश्वकपको नयाँ च्याम्पियन हुँदै घर फर्केको छ । महिला फुटबलमा ठूलै छलाङ मारेको यो विश्वकपको अन्तिम प्रतिस्पर्धा रंगशालामै पुगेर केही नेपालीले पनि हेर्न भ्याए ।

योगेशले बटुले विश्वकप भेन्युको अनुभव

फुटबल खेलाडीले विश्वकप खेल्ने सपना बुन्ने गर्छन् । त्यस्तै मैदानबाहिर व्यवस्थापकीय पक्षमा कार्य गरिरहेका व्यक्तिले पनि विश्वकपमा जोडिने सपना देख्ने गर्छन् । फिफा (अन्तर्राष्ट्रिय फुटबल महासंघ) को इभेन्टमा काम गर्ने त सबै खेलमा लागेका मानिसहरूको पनि सपना हुन्छ । यसपालि यस्तै सपना पूरा गरेका छन् चितवनका योगेश सापकोटाले ।

उनी ‘मार्केटिङ राइट्स डेलिभरी’ अन्तर्गत एडिलेड (अस्ट्रेलिया) मा ‘मार्केटिङ भेन्यू कोअर्डिनेटर’ को भूमिकामा दुई महिने जिम्मेवारी पूरा गरी स्वदेश फर्किएका छन् । ‘एकदमै राम्रो अनुभव भयो,’ ३३ वर्षीय सापकोटाले भने, ‘स्पोर्ट्स म्यानेजमेन्टमा काम गर्ने सबैको सपना फिफामा काम गर्ने हुन्छ । यो सपना यसपालि पूरा भएको छ ।’ आवेदकमध्ये फिफाले उनलाई विश्वकपका लागि छनोट गरेको थियो ।

एएफसी (एसियाली फुटबल महासंघ) को कमर्सियल राइट्स लिएको कम्पनीमा कन्सल्ट्यान्ट भइसकेका उनले विश्वकप अनुभव सुनाए, ‘फिफा इभेन्ट विल्कुलै फरक रह्यो । ब्राजिल, दुबई, चिली, भारत, रोमानिया, स्थानीय लगायत ६० जनाभन्दा बढी मान्छेसँग बहुसांस्कृतिक वातावरणमा काम गर्ने अवसर मिल्यो । खेलअघि, मध्यान्तर, पछाडिको समयमा एलईडी, प्रेस कन्फ्रेन्स, प्रायोजन, पार्टनरसम्बन्धी सबै कार्यक्रम व्यवस्थापन गर्ने जिम्मेवारी हाम्रो थियो ।’

एडिलेडमा निर्वाह गरेको जिम्मेवारीबारे उनले भने, ‘म्याच हेर्न पाउने फुर्सद हुँदैन, खेल चलिरहेकै बेला धेरै काम गर्नुपर्छ । किक–अफ माइनस थ्री, किक–अफ माइनस फिप्टीको लागि मैदान नजिक काम भइरहेकै हुन्छ । ठूला स्क्रिनमा देखाउने, अथिति आउने, खेल सामग्री, बल क्यारियर प्लेयर लाइनअप गर्नुभन्दा अगाडि, हाफटाइमको अवधिमा, होर्डिङ बोर्ड वा अरू केहीमा अनधिकृत डिस्प्ले भएको छ कि भनेर हामीले नै हेर्नुपर्छ ।’

आठ वर्षयता स्पोर्ट्स म्यानेजमेन्टमा सक्रिय उनले भने, ‘खेलकुदकै सबैभन्दा ठूलो संस्था फिफा हो । विश्वकै सबैभन्दा लोकप्रिय खेल फुटबल हो । त्यसैले फिफाबाट फोन गरेर विश्वकपमा काम गर्न बोलाउँदा को खुसी नहोला । अरू प्रोजेक्टमा पनि फरक खालको सिकाइ थियो । तर, यो विश्वकप मेरो करिअरकै एक उत्कृष्ट इभेन्ट रह्यो । फरक किसिमको सिकाइ रह्यो । कामको चाप अत्यधिक हुन्थ्यो । कामको प्रकृति उच्च किसिमकै थियो । कुनै समस्याविना काम सकिएकोमा खुसी छु ।’ उनको टिमले स्विट्जरल्यान्डबाट आएका फिफाकै कर्मचारीसँग सहकार्य गर्दै विश्वकपको जिम्मेवारी निभाएका थिए ।

एडिलेडको १३,५५७ दर्शक क्षमताको हिन्दमार्स रंगशाला यो विश्वकपकै सबैभन्दा सानो हो, जहाँ विश्वकपका ५ खेल आयोजना गरिएको थियो । समूह चरणमा ब्राजिलले पानामालाई ४–०, चीनले हाइटीलाई १–०, मोरक्कोले दक्षिण कोरियालाई १–०, इंग्ल्यान्डले चीनलाई ६–१ ले पराजित गरेको यसै रंगशालामा हो । अन्तिम १६ मा फ्रान्सले मोरक्कोलाई ४–० ले पन्छाएको पनि यहीं हो । तर, सापकोटालाई खेल हेर्ने अवसर भने थिएन । ‘म्याच हेर्ने त फुर्सद नै हुँदैन, आफ्नो जिम्मेवारी जे हो त्यसैमा केन्द्रित हुनुपर्छ,’ उनले अनुभव सुनाए ।

दिल्लीमा हुर्किएका उनले मेलबर्नको डिकन विश्वविद्यालयमा स्पोर्ट्स म्यानेजमेन्टलाई मुख्य विषय बनाएर सन् २०१४–०१५ मा एमबीए गरेका थिए । त्यसैबेला मेलबर्नमा क्लब क्रिकेट पनि खेले । तर, खेलाडीको रूपमा माथिल्लो स्तरमा नपुग्ने ठानेर खेल व्यवस्थापनतिर लागेको उनले बताए । उनले दिल्लीमा छँदै नेसनल बिजनेस एन्ड मार्केटिङमा एमबीए गरेका थिए ।

उनी आईपीएल (इन्डियन प्रिमियर लिग क्रिकेट) टिम राजस्थान रोयल्सको ग्राउन्ड अपरेसन कोअर्डिनेटरको रूपमा सन् २०१५ मा खेल व्यवस्थापनमा पाइला टेकेका थिए । उनी आईएसएल (इन्डियन सुपर लिग फुटबल) क्लब दिल्ली डायनामोज, एफसी गोवामा स्पोन्सरसिप म्यानेजर, आईपीएल टिम दिल्ली क्यापिटल्स र हक्की इन्डिया लिगको टिम दिल्ली वेभराइडर्समा अपरेसन कोअर्डिनेटर भइसकेका छन् । गोवाको जिम्मेवारीपछि उनी सन् २०१९ मा एनएसएल (नेपाल सुपर लिग) फुटबलको सुरुआतमा कमर्सियल एन्ड स्ट्राटेजिक कन्सल्ट्यान्टको भूमिकामा थिए ।

फुटबल मार्केटिङ एसिया (एफएमए) मा कमर्सियल म्यानेजर पनि भएका सापकोटा डिसेम्बर २०२२ मा दुबई आईएल टी–२० क्रिकेट लिग (दुबई आईएल टी–२०) को टिम डेजर्ट भाइपर्सका स्पोन्सरसिप एन्ड मार्केटिङ म्यानेजर नियुक्त भएका थिए ।

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका अमेरिकी मालिक ग्लेजर परिवारको स्वामित्वमा रहेको डेजर्ट भाइपर्समा कामको चाप केही कम भएको अवसरमा उनी महिला विश्वकपमा पुगेका हुन् । विश्वकपबाट फर्केर उनी फेरि दुबई आईएल टी–२० को नयाँ सिजनको तयारीमा जुटेका छन् । यहाँ उनी आफैं प्रायोजनसम्बन्धी निर्णय गर्ने भूमिकामा छन् ।

प्रकाशित : भाद्र ६, २०८० ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×