१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

च्याम्पियन्स लिग फाइनल : सिटीको यात्रामा इन्टर बाधक बन्ला ?

एएफपी

इस्तानबुल — इन्टर मिलानसँग शनिबार इस्तानबुलमा युरोपियन च्याम्पियन्स लिगको फाइनल सामना गर्दा पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटी उपाधि दाबेदार हुनेछ । प्रिमियर लिग जितिसकेको सिटी उच्च मनोबलमा छ । टोली क्लब इतिहासमै पहिलो पटक युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि जित्न चाहन्छ ।

च्याम्पियन्स लिग फाइनल : सिटीको यात्रामा इन्टर बाधक बन्ला ?

यससँगै एकै सिजन तीन उपाधि जित्ने दाउमा छ । सन् २००८ मा अबुधाबी युनाइटेड ग्रुपले स्वामित्व किनेयता सिटी पहिलो युरोपेली सफलताका लागि उत्प्रेरित छ ।

सिटी पछिल्लो समय इंग्लिस फुटबलमा सबैभन्दा ठूलो शक्ति बनेको छ । टोलीले पछिल्ला १२ सिजनमा सातपल्ट लिग उपाधि जितेको छ । सिटीले पछिल्लो सातामात्रै एफए कप जितेको थियो । डेलोटका अनुसार सिटी विश्व फुटबलमा सबैभन्दा बढी कमाउने क्लब बनेको छ । गत सिजन सिटीको आय ७८ करोड ८० लाख डलर छ । यद्यपि सिटीको यो सफलतामा प्रश्न उठाउने पनि धेरै छन् । सन् २००९ देखि २०१८ बीच सिटीले आर्थिक आचारसंहिताको उल्लंघन गरेको आरोप छ ।

यता युरोपमा पनि सिटीलाई सन् २०२० मा दुई वर्षको प्रतिबन्ध लगाइएको थियो, तर कोर्ट अफ आर्बिटेसन फर स्पोर्टस (कास)ले यसलाई उल्टाएको थियो । अब यही सिटीले सर एलेक्स फर्गुसनको नेतृत्वमा सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले हात पारेको एकै सिजनका तीन उपाधिको ऐतिहासिक उपलब्धिको बराबरी गर्न सक्ने छ । यसका लागि सिटीले अटाटुर्क ओलम्पिक स्टेडियममा हुने खेलमा इन्टर मिलानलाई पन्छाउनुपर्नेछ । सन् २०२१ मा सिटी फाइनल पुगे पनि पराजित थियो । गत सिजन सेमिफाइनलमा रियल म्याड्रिडको हातबाट रोकिएको थियो ।

तर, यसपल्टको कथा बेग्लै छ । किनभने इर्लिङ हालान्ड आएयता ग्वार्डिओलाको टिम स्तरको आधारमा अब्बल दर्जाको साबित भएको छ । बोरुसिया डर्टमन्डबाट सिटीमा आएयता नर्वेली खेलाडीले ५२ गोल गरिसकेका छन् । उनले सिटीका लागि खेलेका पछिल्ला २७ खेलमा एकैपल्ट मात्र हार सामना गरेको छ । यो हार ब्रेन्टफोर्डसँग प्रिमियर लिगको अन्तिम खेलमा थियो । जबकि सिटीले त्यसअगाडि नै प्रिमियर लिग उपाधि जित्ने निश्चित भइसकेको थियो ।

यो सिजन सिटीले युरोपमा कुनै खेल गुमाएको छैन । यसक्रममा नकआउट चरणमा बलिया प्रतिद्वन्द्वी आरबी लाइप्जिग, बायर्न म्युनिक र रियलको चुनौती समाप्त पारेको छ । त्यसैले इटालीको सिरी ‘ए’ को तेस्रो स्थानको इन्टर सिटीका लागि ठूलो चुनौती नहुन सक्छ । तर, केभिन डी ब्रुएना भन्छन्, ‘हामीले फाइनल त जितिसकेका छैनौं । मैले सिटीमा खेल्न थालेको ८ वर्ष भयो, यो समय निकै सुखद रहेको छ । सुरुमा आउँदा मैले सिटीका लागि यति धेरै सफलता प्राप्त गर्नेछु भनेर सोचेको पनि थिइनँ । तर, हामीले अहिलेसम्म पनि च्याम्पियन लिग जितेका छैनौं । विश्वास गरौं, यो शनिबार पूरा हुनेछ ।’

ग्वार्डिओला आफैं भने व्यक्तिगत रूपमा तेस्रो च्याम्पियन्स लिग जित्ने अभियानमा हुनेछन् । इन्टरको आफ्नै फाइनल यात्रा पनि अद्वितीय छ । इन्टर लिग चरणमा बार्सिलोनासम्मिलित समूह पारेको थियो । टोलीले नकआउट चरणमा पोर्टो, बेन्फिका र छिमेकी एसी मिलानलाई पन्छाएको हो । यो बाटोमा सिटी जत्तिको विपक्षी टिमको सामना नगरे पनि इन्टरको उपाधि जित्ने धोको भने छ । यसै सिजन इन्टरले कोपा इटालिया जितेको थियो ।

प्रकाशित : जेष्ठ २७, २०८० ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?