कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

जोगियो फ्रेन्ड्स, रेलिगेसनमा खुमलटार

जावलाखेल र थ्रीस्टारबीच शनिबार हुने खेलमा एपीएफको भाग्य निर्भर
हिमेश

काठमाडौँ — फ्रेन्ड्स क्लबले जसरी आफ्नो ‘ए’ डिभिजनको हैसियत शुक्रबार बचायो, त्यसलाई पछिसम्म पनि ‘ग्रेट स्केप’ का रूपमा सम्झिने छ । सहिद स्मारक ‘ए’ डिभिजन लिग ०७९–८० को १२ चरणसम्म रेलिगेसन क्षेत्रमा रहेर पनि फ्रेन्ड्स अन्ततः जोगिएको हो ।

जोगियो फ्रेन्ड्स, रेलिगेसनमा खुमलटार

खासमा फ्रेन्ड्स टिम र प्रदर्शनको आधारमा रेलिगेसनका लागि प्रत्याशी नै हुनु नपर्ने हो । तर, फ्रेन्ड्सको एकमात्र समस्या डिफेन्समै थियो । फ्रेन्ड्स गोल खाने टिममात्र होइन, उत्तिकै गोल गर्ने टिम पनि हो ।

दशरथ रंगशालामा शुक्रबारको खेलमा विभागीय टोली एपीएफमाथि ४–० को मीठो जित निकालेपछि फ्रेन्ड्सले अर्को वर्ष पनि ‘ए’ डिभिजन नै खेल्ने निश्चित गरेको हो । फ्रेन्ड्सले लिगका २६ चरणमा ‘क्लिन सिट’ राखेको यो पाँचौं खेलमात्रै हो । हारले एपीएफमाथि संकट छाएको छ । जितले फ्रेन्ड्सको ३० अंक भएको छ । टोली अब कम्तीमा पुछारका दुई स्थानमा रहने छैन । एपीएफसँग पनि ३० अंक नै छ । ‘हेड टु हेड’ का आधारमा फ्रेन्ड्स एपीएफभन्दा माथि नै रहनेछ । एपीएफको भाग्य भने अब जावलाखेल र थ्री स्टारबीचको शनिबार हुने खेलमा निर्भर हुनेछ ।

फ्रेन्ड्सका लागि टोरिच जेब्रिनले १५ औं मिनेटमा फ्रि–किकबाट सानदार गोल गरे । खेलले ३१ औं मिनेट छुँदा विकास थापाले दोस्रो गोल थपे । रफिक इमानुले ७२ औं मिनेटमा तेस्रो गोल गरे । खेलको ८२ औं मिनेटमा सम्भव चौथो गोल भने सब्स्टिच्युट खेलाडी अख्रोरबेक उकटामोभको नाममा रह्यो । ‘टिमलाई रेलिगेसनबाट कसरी बचाउने हो, त्यो मलाई थाहा छ । मैले यसअघि पनि भनेको थिएँ फ्रेन्ड्स रेलिगेसनबाट बच्छ भनेर । आज हामीले त्यसलाई प्रमाणित गरेर देखायौं,’ फ्रेन्ड्सका स्पोर्टिङ निर्देशक मृगेन्द्र मिश्रले भने ।

एपीएफका लागि यो हार भने असह्य रह्यो । मुख्य प्रशिक्षक रत्नकाजी महर्जन पनि निराश रहे । ‘आजको खेल निकै महत्त्वपूर्ण थियो । तर, जेब्रिनको गोल खेलको निर्णायक मोड रह्यो । हाम्रो सम्भावना अब गणितीय मात्र हो, हामी कमजोर स्थितिमा छौं । हाम्रो भाग्य अब थ्रीस्टारमा निर्भर हुनेछ । हामीलाई रेलिगेसनबाट बच्न एकै अंकमात्र चाहिएको थियो, त्यो पनि प्राप्त गर्न सकेनौं,’ उनले भने । एपीएफका पछिल्ला ४ खेलको नतिजा निकै खराब रहे ।

यी चार खेलमा एपीएफले एकै अंकमात्र बटुल्न सक्यो । निकै भलाद्मी पाराका प्रशिक्षकले थपे, ‘हामीले लिगमा राम्रो सुरुआत त गर्‍यौं, तर त्यसपछि हाम्रो प्रदर्शन समान रूपमा एकै खालको रहेन । उतारचढावपूर्ण रह्यो । एपीएफका लागि फुटबलको अर्थ धेरै छ । रेलिगेसन मलाई मात्र होइन, कसैलाई पनि राम्रो हुन्न । मैले सम्भवतः आफूलाई दिएको जिम्मेवारी राम्रोसँग निभाउन सकिनँ । म एपीएफका खेलाडी, समर्थकदेखि विभागसँग समेत माफी माग्न चाहन्छु ।’

शनिबार लिगका अन्तिम तीन खेल हुनेछ । त्यसमध्ये सुरुमा संकटा र एनआरटी तथा मछिन्द्र र मनाङ मर्स्याङदीबीच प्रतिस्पर्धा हुनेछ । लिगकै अन्तिम खेल भने जावलाखेल र थ्रीस्टारबीच छ । यही खेलको नतिजाले रेलिगेसनमा पर्ने दोस्रो टिमको निर्णय गर्नेछ । शुक्रबारका नतिजापछि थ्रीस्टार २९ अंकमा १३औं स्थानमा झरेको छ । टोलीका लागि रेलिगेसनबाट जोगिने एकमात्र नतिजा जित रहेको छ । ‘हेड टु हेड’ मा थ्रीस्टार विभागीय एपीएफभन्दा पछाडि छ ।

डेब्यु सिजनमै रेलिगेसन

एउटा क्लब खराब व्यवस्थापनबाट गुज्रिएपछि कतिसम्म पतनको सिकार हुन्छ भन्ने एक अर्को उदाहरण तयार पारेको छ खुमलटार एफसीले । सातदोबाटोमा भएको खेलमा टोलीलाई चर्च ब्वाइजले २–० ले पराजित गर्‍यो । जहाँ सफल व्यवस्थापनका कारण चर्च ब्वाइज डेब्यु सिजनमै लिग उपाधि जित्न सफल रह्यो, त्यहीं खुमलटार भने डेब्यु सिजनमै रेलिगेसनमा परेको छ । खुलमटार २७ अंकमै सीमित रहेर अन्तिम स्थानमा रहनेछ ।

चर्च ब्वाइजले भने ऐतिहासिक उपाधि जितेको सिजन ४८ अंक बनाएको छ । टोलीका लागि सुशील शाहले १३ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमै इन्ज्युरी समयको तेस्रो मिनेटमा जोसेफ बेम्पाहले दोस्रो गोल थपे । ‘बी’ डिभिजनमा झर्नेक्रममा खुमलटारले उपद्रो गर्न भने छाडेन र फुटबललाई बिजोक जात्रामा परिणत गरेको थियो । खेल सुरु हुनुअगाडि बिहानै क्लबको विज्ञप्ति आएको थियो, खुमलटारले चर्च ब्वाइजसँगको खेल बहिष्कार गर्नेछ ।

क्लबको तर्क थियो, जावलाखेल र थ्रीस्टारबीचको खेल समान समयमै हुनुपर्छ, रेलिगेसनको समीकरणमा रहेका अन्य टिमको खेलसँगै । एउटा तथ्य के निश्चित थियो भने अखिल नेपाल फुटबल संघ (एन्फा) ले रेलिगेसन समीकरणमा रहेका खेललाई एकै समय गराउनुपर्थ्यो, तर त्यसमा नराम्रोसँग चुक्यो । पूरा लिगमै एन्फाले एकपछि अर्को व्यवस्थापकीय त्रुटिहरू गरे । खेल बहिष्कार त्यसको उत्तर थिएन । तर आफ्नो प्रेस विज्ञप्तिलाई हाँसोको विषय बनाउँदै खुमलटार मैदानमा भने उत्रियो ।

तर, यो विवाद र तनावको खेलभन्दा केही पनि रहेन । पहिलो हाफको अन्त्यतिर खुमलटारका पदाधिकारी झगडामा उत्रिए । विशेषतः व्यवस्थापक अञ्जन राणा क्षेत्रीले रेफ्री प्रज्ज्वल क्षेत्रीमाथि हात हाल्ने प्रयास गरे । विवाद बढेपछि व्यवस्थापकसँगै मनीष थापा, बुद्धिबहादुर गुरुङ र हरिबोल राउतलाई रातो कार्ड देखाइएको थियो । यसै खेलमा खेल ३० मिनेट बिथोलिएको थियो । तनावपछि रेफ्री क्षेत्रीले असुरक्षित अवस्थामा खेल अगाडि बढाउन अनिच्छुक देखिए, तर अन्ततः खेलमा पूर्णविराम भने लाग्यो ।

पुलिस तेस्रो स्थानमा

लामो समय रेलिगेसन क्षेत्रमा रहेर तनावबाट गुज्रेको पुलिसले भने अद्वितीय प्रदर्शन गर्दै यसपल्टको लिग तेस्रो स्थानमा टुंग्याएको छ । पुलिसले लिगको दोस्रो भागमा तय गरेको यात्रा च्याम्पियन टिमको जस्तो थियो । टिमको प्रदर्शनलाई चामत्कारिकभन्दा केही फरक पर्ने छैन । यो जितपछि पुलिसको ४१ अंक भएको छ । यो लिग च्याम्पियन भएको चर्च ब्वाइजसँग ७ अंकको दूरीमात्रै हो । लिगको पहिलो १३ खेल सकिँदा पुलिस १२ अंकमै सीमित थियो ।

टोलीले त्यसपछिका १३ खेलमा भने ९ जित निकाल्यो । यसबीच २९ अंक बटुल्न सफल रह्यो । पुलिस पछिल्ला ७ खेलमा अपराजित छ । यी सात चरणको खेलमा टोलीले अविश्वसनीय रूपमा बढीमा उपलब्ध २१ मध्ये १९ अंक प्राप्त गरेको छ । पुलिसले च्यासलमा भएको आफ्नो अन्तिम खेलमा सातदोबाटोलाई १–० ले हरायो । यसमा अहमद हिजाईले २१ औं मिनेटमा निर्णायक गोल गरे । सातदोबाटो ३५ अंकमै रह्यो ।

आर्मीको सान्त्वना जित

लिग उपाधिका लागि प्रबल दावेदार मानिएको त्रिभुवन आर्मी क्लबले समग्रमा राम्रो प्रदर्शन गर्न सकेन । दशरथ रंगशालामा शुक्रबार आफ्नो अन्तिम खेलमा आर्मीले हिमालयन

शेर्पालाई १–० ले हरायो । यो टोलीका लागि सान्त्वना गोलभन्दा बढी केही रहेन । आर्मीका सुदील श्रेष्ठले छैटौं मिनेटमा गरे । यो जितपछि आर्मीको ३४ अंक भएको छ । पछिल्ला ६ खेलमा आर्मीको यो पहिलो जितमात्रै हो । हिमालयन भने ३१ अंकमा रह्यो ।

तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

प्रकाशित : जेष्ठ २७, २०८० ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?