कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुवासले जिते प्रिमियर गल्फ

काठमाडौँ — नेपाल नम्बर एक एमेच्योर सुवास तामाङले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । सूर्य नेपाल गल्फ टुरअन्तर्गत आठौं तथा अन्तिम प्रतियोगिताको अन्तिम दिन शुक्रबार सुवासले ७ अन्डर ६५ को उत्कृष्ट स्कोर गरे ।

सुवासले जिते प्रिमियर गल्फ

१३ औं सागमा नेपाललाई २ स्वर्ण दिलाएका सुवास समग्रमा २१ अन्डर २ सय ६७ सहित शीर्षस्थानमा रहे । उनले अर्का एमेच्योर गल्फर सद्भाव आचार्यलाई चार स्ट्रोकले पछाडि पारे । सूर्य नेपाल टुरमा लगातार तेस्रो उपाधि एमेच्योर खेलाडीले जितेका हुन् ।

सुवासले सिजनको दोस्रो र करियरको पाँचौं व्यावसायिक उपाधि जिते । उनले व्यावसायिक र एमेच्योर दुवैतर्फको ट्रफी आफ्नो नाममा लेखाउँदै सिजन अन्त्य गरे । राष्ट्रिय टिमका युवा गल्फर सद्भाव १ अन्डर ७१ सहित समग्रमा १७ अन्डर २७१ को स्कोरसहित दोस्रो स्थानमा रहे । उनी एमेच्योरतर्फ पनि दोस्रो भए ।

अन्तिम १८ होलको खेल बाँकी छँदा सद्भावभन्दा सुवास दुई स्ट्रोकले पछि थिए । सुवास र तेस्रो दिनका लिडर सद्भावले फ्रन्टनाइन समान ३ अन्डर ३३ मा सके । दुवैले तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । अन्तिम ९ होलको खेल बाँकी छँदा सद्भावसँग दुई स्ट्रोकको अग्रता कायमै थियो तर ब्याकनाइनमा सद्भावले खेल बिगारे १६ औं होलमा बर्डी प्रहार गरे पनि १०, १३ र १४ औं होलमा एक–एक शट खेर फाले ।

यता सुवासले भने १० देखि १३ औं होलसम्म लगातार तीन बर्डी प्रहार गरे । १४ औं होलमा एक शट खेर फाले पनि ५ पारको १५औं होलमा इगलको सफलता पाएपछि उनले ब्याकनाइन ४ अन्डर ३२ मा पूरा गरेर सहजै उपाधि आफ्नो नाममा लेखाए ।

धरानका नीरज तामाङ ४ अन्डर ६८ को स्कोर निकालेर समग्रमा १२ अन्डर २ सय ७६ सहित तेस्रो भए । व्यावसायिकतर्फ पहिलो भएका नीरजले २ लाख ७० हजार रुपैयाँ पुरस्कार पाए । डिफेन्डिङ च्याम्पियन शुक्रबहादुर राईले ४ अन्डर ६८ मा खेल सक्दा समग्रमा ११ अन्डर २ सय ७७ सहित चौथो स्थान ओगटे । उनले १ लाख ७० हजार प्राप्त गरे । यो पुरस्कार राशिमा शुक्रले नम्बर एक खेलाडीको स्थान जोगाएका छन् । यो सिजन उनले कुल ६ लाख ३४ हजार रुपैयाँसहित सर्वाधिक पुरस्कार हात गरे ।

भुवन नगरकोटीले समग्रमा ५ अन्डर २ सय ८३ स्कोर गरे । अन्तिम दिनको खेल इभन पार ७२ मा सक्दै भुवन पाँचौं भए व्यावसायिकतर्फ उनले तेस्रो भएर १ लाख २० हजार प्राप्त गरे । २ ओभर ७४ स्कोर गर्दै समग्रमा ३ अन्डर २ सय ८५ सहित दिनेश प्रजापति छैटौं र व्यावसायिकतर्फ चौथो भएका उनले एक लाख पाए ।

समग्रमा १ अन्डर २ सय ८७ सहित तोरणविक्रम शाही सातौं भए । उनले इभन पार ७२ मा खेल सके । पाँचौं हुँदै उनले ८६ हजार हात पारे । ३ ओभर ७५ सहित समग्रमा १ ओभर २ सय ८९ को स्कोरमा‌ शिवराम पौडेल आठौं भए । उनले ७९ हजार पाए । २ ओभर २ सय ९० स्कोरसहित सातौं भएका जयराम श्रेष्ठले ७३ हजार प्राप्त गरे । पूर्णप्रसाद शर्मा र राजेन्द्र थापामगर संयुक्त आठौं स्थानमा रहे । उनीहरूले समग्रमा ३ ओभर २ सय ९१ स्कोर गरे । उनीहरूले जनही ६५ हजार पाए ।

विजेता खेलाडीलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रवि के रायभरम, एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कृत गरे ।

प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) नेपालको आयोजना र सूर्य नेपालको प्रायोजनमा भएको प्रतियोगितामा ४१ व्यावसायिक र ९ एमेच्योर खेलाडीको सहभागिता थियो । शनिबार प्रोएम प्रतियोगिता हुनेछ, जसमा कुल २५ व्यावसाियक र १०० कर्पोरेट खेलाडीले प्रतियोगितामा भाग लिनेछन् ।

प्रकाशित : जेष्ठ २६, २०८० २२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?