प्रिन्स र रसिला च्याम्पियन

काठमाडौँ — १६ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगितामा आयोजक एपीएफ क्लबका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबका रसिला महर्जनले उपाधि जितेका छन् । दुवैले डबल्सतर्फ पनि उपाधि जितेका थिए ।

प्रिन्स र रसिला च्याम्पियन

हल्चोकस्थित एपीएफ कभर्डहलमा पुरुष एकल फाइनलमा प्रिन्सले आर्मीका रुकेश महर्जनलाई २१–११, २१–११ को सोझो सेटमा हराएर उपाधि जिते ।

महिला एकल फाइनलमा रसिलाले एपीएफकी जेसिका गुरुङलाई २१–१९, १५–२१, २१–१७ ले पराजित गरी उपाधि जितिन् ।

१९ वर्षमुनिका ब्वाइजतर्फ एपीएफका क्षितिज खनालले आफ्नै क्लबकै रोशन साउदलाई १३–२१, २१–१७, २१–१८ ले हराएर उपाधि जिते । यू–१२ ब्वाइजको फाइनलमा आर्मीका रिजन मगरले आफ्नै क्लबकै सुदेश राजकोटीलाई २४–२२, २१–१८ ले हराए ।

पुरुष डबल्सतर्फ प्रिन्सले विजीत थापामगरसँग मिलेर पुलिस क्लबका जीवन आचार्य र विष्णु कटुवाललाई २१–१८, २१–१३ ले पराजित उपाधि जिते । महिला डबल्सको उपाधि रसिलाले अनुमाया राईसँग मिलेर एपीएफका जेसिका गुरुङ र सुनैना मुखियालाई २१–१६, २१–१२ ले हराएर जितिन् ।

मिक्स डबल्सतर्फ प्रिन्स र जेसिका गुरुङले एपीएफकै विजीत र शोभा गौचनलाई २३–२१, २२–२० ले पराजित उपाधि जितेका छन् ।

भेट्रान ५५ वर्षमाथि चितवनका बुद्धि चौधरी र धादिङका विष्णुलाल श्रेष्ठले बैतडीका पूर्णचन्द्र जोशी र कीर्तिपुरका राजु महर्जनलाई २३–२१, २२–२० ले पराजित गरी उपाधी जिते । ४५ वर्षमाथि एपीएफका सञ्जय कपाली र अनिल थाम्सुङको जोडी विजयी भयो । उनीहरूले कास्की पोखराका विशाल हिराचन र शम्भुकुमार श्रेष्ठलाई २१–१३, २२–२० ले हराए ।

सिनियर अधिकृततर्फ टेलिकमका शोभाखर भण्डारी र हरिकृष्ण शर्माले एपीएफका धिरेन्द्र चन्द र सुधीर सुवेदीलाई २२–२०, २१–१२ ले पराजित गरी उपाधि जिते । प्रतियोगिताका सबै इभेन्टका विजेताले नगद पुरस्कार पाए । कुल पुरस्कार राशि ८ लाख ६५ हजार रुपैयाँ रहेको आयोजक सशस्त्र प्रहरी बल खेलकुद समितिले जनाएको छ । विजेतालाई उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुरस्कृत गरे ।

प्रकाशित : जेष्ठ २५, २०८० २२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?