कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चर्च ब्वाइज नयाँ लिग च्याम्पियन

हिमेश

काठमाडौं — चर्च ब्वाइजले एक चरणको खेल बाँकी छँदै डेब्यु सिजनमै मंगलबार सहिद स्मारक लिग ए डिभिजनको उपाधि जितेको छ । चर्च ब्वाइज नेपाली माथिल्लो डिभिजनको उपाधि जित्ने १६ औं टिम भएको छ । उसले वर्ष २०११ सालदेखि सुरु भएको प्रतियोगिताको ४४ औं संस्करण जितेको हो ।

चर्च ब्वाइज नयाँ लिग च्याम्पियन

दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले थ्रीस्टारसँग निरश गोलरहित बराबरी खेल्यो । दुवै टिमले गोलका लागि प्रयास गरेनन् र स्पष्ट गोलको अवसर सिर्जना गर्न सकेनन् । लिग उपाधि जित्नका लागि उसलाई थ्रीस्टारविरुद्धको खेलमा एकै अंकमात्र आवश्यक थियो । यो नतिजापछि ४५ अंक भयो ।

दोस्रो स्थानमा रहेको मछिन्द्रको ३९ अंक छ र उसका दुई खेल बाँकी छन् । यी दुवै खेलमा मछिन्द्र विजयी रहे पनि उसको ४५ अंक हुनेछ र चर्च ब्वाइजसँग बराबरी गर्नेछ । हेड टु हेडको आधारमा चर्च ब्वाइज शीर्षमा रहनेछ । यी दुई टिमको पहिलो खेल गोलरहित बराबरीमा टुंगेको थियो भने दोस्रो खेलमा चर्च ब्वाइज २–१ ले विजयी रहेको थियो ।

यससँगै दुई पल्टको डिफेन्डिङ मछिन्द्र उपाधि रक्षा गर्न असफल रह्यो । चर्च ब्वाइजले भने क्लब स्थापनाको १४ वर्षपछि नेपाली फुटबलको माथिल्लो डिभिजनको उपाधि जितेको हो । चर्च ब्वाइजले वर्ष ०७७ सी डिभिजनको छनोट पार गरेको थियो । त्यही वर्ष उसले सी डिभिजन पनि जित्यो । वर्ष ०७८ मा चर्च ब्वाइजले बी डिभिजन जित्न सफल रह्यो ।

मनाङ मर्स्याङ्दीपछि चर्च ब्वाइजले सी देखि ए डिभिजन जित्ने पहिलो टिम भएको छ । मनाङले यसअघि ०४३ मा पहिलो पल्ट लिग जित्न अगाडि डी देखि बी डिभिजन लगातार जितेको थियो । बराबरीले तीन पल्टको च्याम्पियन थ्रीस्टार भने २९ अंक भएको छ र उसमाथि रेलिगेसन दबाब कायम रहनेछ ।


प्रकाशित : जेष्ठ २३, २०८० १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?