१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

उपाधि नजिक चर्च ब्वाइज

हारले जावलाखेल युथको ए डिभिजन लिग जित्ने सम्भावना समाप्त, थ्रीस्टार–एपीएफ बराबर
हिमेश

काठमाडौँ — चर्च ब्वाइज युनाइटेड त्यो मोडमा पुगेको छ, जहाँ टिकेर टोलीले सहिद स्मारक ‘ए’ डिभिजन लिग जित्न सक्ने छ । त्यो पनि माथिल्लो डिभिजनमा उक्लेको पहिलो वर्षमै । चर्च ब्वाइज यो ऐतिहासिक संघारमा पुग्नु पछाडिको निर्णायक कारण बन्यो, दशरथ रंगशालामा शनिबारको खेलमा जावलाखेललाई मज्जाले पराजित गर्न सक्नु । यो एक प्रकारले लिगको सर्वाधिक महत्त्वको खेल थियो, लगभग अघोषित फाइनलजस्तै । त्यसमा जावलाखेल नराम्रोसँग चुकेको छ ।

उपाधि नजिक चर्च ब्वाइज

दशरथ रंगशालामा शनिबार जावलाखेल युथविरुद्ध गोल गरेपछि चर्च ब्वाइजका आशिष चौधरी (दायाँ) ।तस्बिर : केशव थापा/कान्तिपुर

यो हारले जावलाखेलको लिग जित्ने सम्भावना पूर्णतः समाप्त भएको छ । अंकतालिकामा जावलाखेलको ८ चरण शीर्ष चरणमा रहेर पनि अन्ततः उपाधि नजित्ने निश्चित भएको हो । औपचारिक रूपमा क्लब स्थापनाको आधा शताब्दी नाघिसक्दा पनि जावलाखेलले लिग उपाधि जित्न सकेको छैन । यो क्रम अझै जारी रहने भयो । ‘यो खेलमा हामी यति धेरै नराम्रोसँग पराजित हुने सोचेका थिएनौं,’ निराश जावलाखेललका मुख्य प्रशिक्षक सुनील श्रेष्ठले भने ।

उनले आफ्नो टिमको असफलता पछाडि लिगको एक मोडमा लगातार चार बराबरी खेल्नु र एक हार बेहोर्नुलाई माने । जावलाखेलले १८ देखि २२ औं चरणबीच ५ खेलमा ४ अंकमात्र बटुलेको थियो । यस्तै १२ देखि १५ चरणबीच चार खेलमा २ अंक मात्र हात पारेको थियो । लिगमा दुई चरण बाँकी छँदा जावलाखेलको ३७ अंक भएको छ । अब टोलीले कुनै पनि स्थितिमा चर्च ब्वाइजलाई उछिन्न सक्ने छैन । चर्च ब्वाइजको भने ४४ अंक भएको छ । शीर्षस्थानमा मछिन्द्रमाथि यो चर्च ब्वाइजको ५ अंकको अग्रता हो । ‘हामीले अहिले नै उपाधि जित्यौं भनेर दाबी गर्न सक्दैनौं । हामी सबैको नजर अब दोस्रो स्थानमा मछिन्द्र र पुलिसबीचको खेलमा हुनेछ । यो खेलको नतिजाले लिग उपाधि होड कस्तो हुनेछ, त्यो निर्णय गर्नेछ ।’ पूरा लिगमै सर्वाधिक दर्शक उपस्थित खेलमा चर्च ब्वाइजले अञ्जन विष्टको गोलले अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा चर्च ब्वाइजलाई पेनाल्टी प्रहारको अवसर प्राप्त भएको थियो ।

जावलाखेलको डिफेन्डर राहुलले रन्जितसिंह पाण्डेलाई पेनाल्टी एरियामा लडाएपछि चर्च ब्वाइजले पेनाल्टी पायो । त्यसमा अञ्जनको प्रहार सुरुमा प्रतिद्वन्द्वी गोलरक्षक ईश्वर गुरुङले बचाए । तर, त्यसमै फर्केको बलमा अञ्जनले गोल गरे । त्यसपछि आशिष चौधरीले दुई गोल गरे । खेलको ८८ औं मिनेटमा कमल श्रेष्ठको क्रसमा आशिषले हेडबाट गोल गरेका थिए । त्यसपछि दोस्रो हाफको इन्ज्युरी समयमा उनले तेस्रो गोल थपे ।

श्रम स्वीकृति नभएका कारणले दुवै टिमले आफ्ना प्रमुख विदेशी खेलाडी खेलाउन पाएका थिएनन् । यसको धेरै घाटा जावलाखेललाई भयो । ‘हामीले विदेशी खेलाडीको वर्क परमिट सकिएको हिजो बेलुका मात्रै थाहा पायौं,’ प्रशिक्षक श्रेष्ठले थपे । त्यसै पृष्ठभूमिमा उनका समकक्षी बालगोपाल महर्जनले बेग्लै तर्क प्रस्तत गरे । उनले भने, ‘सम्भवतः नेपाली खेलाडीलाई मात्र जोड्ने हो भने हामी बाँकी टिममध्ये अगाडि छौं । हाम्रो बेञ्च पनि बलियो छ । यो प्रदर्शनमा म व्यक्तिगत रूपमा खुसी छु ।’

थ्रीस्टार जितविहीन यात्रा कायम

खेल सकिन चार मिनेटअगाडि सुनील तामाङले गरेको गोल मदतमा थ्रीस्टारले दशरथ रंगशालामै भएको पहिलो खेलमा एपीएफलाई बराबरीमा रोक्यो । त्यसअघि मणिकुमार लामाको गोलमा एपीएफले २३ औं मिनेटमा अग्रता लिएको थियो । यो नतिजापछि थ्रीस्टार २८ अंक बटुल्दै ११ औं स्थानमा छ । एपीएफ भने ३० अंकमा सीमित रहँदै नवौं स्थानमा रह्यो । बराबरीका बावजुत थ्रीस्टारमाथि रेलिगेसन डर कायम छ ।

थ्रीस्टारका मुख्य प्रशिक्षक मेघराज केसीले सबै प्रकारको सम्भावना खुला रहेको बताए । उनले भने, ‘थ्रीस्टारलाई सुरक्षित राख्न सबै प्रकारको प्रयास गर्नेछौं ।’ यस प्रतिस्पर्धासँगै तीनपल्टको च्याम्पियन थ्रीस्टारको जितविहीन यात्रा १३ खेल पुगेको छ । टोलीले लिगको दोस्रो भागमा अहिलेसम्म जित निकाल्न सकेको छैन । सुनीलको गोलमा पनि थ्रीस्टारको बक्सले खुबै खुसीयाली मनायो, किनभने यो ५ सय ५३ मिनेटको खेलपछि सम्भव गोल थियो ।

सातदोबाटो पाँचौं स्थानमा

लगातार चार हारपछि सातदोबाटो भने च्यासल रंगशालामा आर्मीलाई २–१ ले हराउन सफल रह्यो । खेल आफैंमा विवादले भरिएको थियो । खेल सुरु भएको दोस्रो मिनेटमै सातदोबाटोले शिव सुवेदीको गोलको अग्रता लियो । खेलमा त्यतिबेला चर्को विवाद भयो, जतिबेला रेफ्री श्याम दनुवारले २९ औं मिनेटमा आर्मीको पक्षमा पेनाल्टी निर्णय दियो । सातदोबाटोले त्यसको विरोधमा १० मिनेट बराबरको समय खेल्न मानेन ।

पछि नवयुग श्रेष्ठको पेनाल्टी सातदोबाटोका गोलरक्षक अभिषेक बरालले बचाए । तर त्यसमै फर्केको बलमा नवयुग बललाई पोस्टको दिशा भने दिए । दीपकराज सिंहले ६३ औं मिनेटमा निर्णायक गोल गरे । यो लिगमा उनको १३ औं गोल रह्यो । पछिल्ला ५ खेलमा गोल गर्न चुकिरहेका दीपकराजले यसपल्ट भने आफ्नो प्रहारलाई जालीको सम्पर्कमा पुर्‍याउन सफल रहे । संयोगले यो पनि पेनाल्टीमै सम्भव गोल रह्यो ।

सातदोबाटोका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले जितमा राहत भएको बताए । उनले भने, ‘पछिल्ला चार खेलमा पराजित भएपछि हामीलाई गाह्रो भइसकेको थियो । हामीलाई रेलिगेसन दबाबसमेत बनेको थियो । तर, जितले ठूलो राहत दिएको छ । अब हामी लिगका बाँकी दुई खेलमा यहीक्रम कायम राख्न चाहन्छौं ।’ उनले पोस्टम्याच कन्फ्रेन्समा आफ्नो टिमविरुद्ध पेनाल्टी निर्णयको विरोध पनि गरे । उनले थपे, ‘त्यतिबेला शतप्रतिशत गोल हुने स्थिति थिएन । बलको दिशा पनि अन्यत्र नै थियो ।’

...

आजका खेल

खुलमटारविरुद्ध संकटा

एनआरटीविरुद्ध हिमालयन शेर्पा

पुलिसविरुद्ध मछिन्द्र

फ्रेन्ड्सविरुद्ध मनाङ मर्स्याङ्दी

...

शनिबारका नतिजा

सातदोबाटो २–१ आर्मी

थ्रीस्टार १–१ एपीएफ

चर्च ब्वाइज ३–० जावलाखेल

प्रकाशित : जेष्ठ २१, २०८० ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?