मलेसियाद्वारा नेपालसँगको शृंखला बराबर

काठमाडौँ — मलेसियाले नेपालविरुद्धको पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा २–२ को बराबरीमा ल्याएको छ । मलेसियाले शनिबार चौथो खेलमा नेपालको महिला राष्ट्रिय टोलीलाई ४ विकेटले पराजित गर्‍यो ।

मलेसियाद्वारा नेपालसँगको शृंखला बराबर

टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई ९६ रनमात्र बनाउन सक्यो । क्वालालम्पुरस्थित वाइएसडी–यूकेएम ओभलमा मलेसियाले अन्तिम बलमा लक्ष्य पूरा गर्‍यो । अन्तिम ओभरमा जितनिम्ति ४ रन चाहिने अवस्थामा कविता कुँवरले पहिलो र तेस्रो बल वाइड फाल्न पुगेकी थिइन् भने मलेसियाले अन्तिम दुई बलमा १–१ रन जोडेर विजय रन पूरा गरेको थियो ।

प्लेयर अफ द म्याच मलेसियाकी विनफ्रेइड दुरासिंगम रहिन् । १९ औं ओभरको अन्तिम बलमा आउट भएकी उनले ५२ बल खेल्दै २ चौकासहित ३८ रन बनाइन् । माहिराह स्माइलले १६ र कप्तान मास इल्यासाले १३ रन बनाए । नेपालबाट कविता कुँवर, कविता जोशी, कप्तान रुबिना क्षेत्री र सीता रानामगरले १–१ विकेट लिए ।

यसअघि नेपाललाई आठौं ओभरमा १८–४ को दयनीय अवस्थामा पुर्‍याउँदै मलेसियाले जित आधार बनाएको थियो । काजल श्रेष्ठ १३ बल खेलेर ६, सीता १६ बल खेलेर ५, ज्योति पाण्डे ६ बल खेलेर १ र रुबिना ७ बल खेलेर शून्यमा आउट भए । इन्दु बर्माले सर्वाधिक ३२ रन बनाइन् । उनले ३१ बल खेल्दा ३ चौका प्रहार गरिन् ।

सम्झना खड्का ८ रनमा आउट भएपछि इन्दु र विन्दु रावलले छैटौं विकेटमा ३५ रन जोडिन् । इनिङ्सको अन्तिम बलमा रनआउट हुनुपूर्व विन्दुले २६ बल खेलेर १ चौका प्रहारसहित २४ रन बनाइन् । कविता कुँवर १२ रनमा अविजित रहिन् । दुरासिंगमले ४ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर ३ विकेट लिइन् ।

पाँचौं तथा अन्तिम खेल आइतबार हुनेछ । पहिलो खेलमा मलेसियाले नेपाललाई ७ विकेटले स्तब्ध पारेको थियो । मलेसियाविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो पहिलो हार थियो । त्यसपछिका दुई खेलमा नेपालले क्रमशः ७ विकेट र २७ रनको जित पाएको थियो ।

प्रकाशित : जेष्ठ २०, २०८० २३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?