‘थ्रिलिङ क्लाइमेक्स’ तिर लिग

सहिद स्मारक लिगको २३ औं चरण सम्पन्न, अब तीनै चरण बाँकी, तीन चरणले लिगको पूर्ण स्वरूप तय गर्ने
हिमेश

काठमाडौँ — न उपाधि जित्नेको निश्चित, न त रेलिगेसनमा पर्ने टिमको टुंगो । अझ न कसैले उपाधि जित्ने हामी नै हो भन्न सकेका छन् । न धेरैले अब आफू रेलिगेसनमा पर्दिनँ भनेर ठोकुवा गर्न सकेको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको सबैभन्दा ठूलो विशेषता भन्नु नै यही त हो ।

‘थ्रिलिङ क्लाइमेक्स’ तिर लिग

लिग अब अन्त्यको संघारमा आइपुगेको छ । लिगको २३ औं चरणका खेल सकिएका छन् । अब तीनै चरणका खेलमात्र बाँकी छन् । यिनै तीन चरणले लिगले अन्त्यमा कस्तो स्वरूप लिने हो तय गर्नेछ । यी तीन चरणमा कस्ले कस्कोविरुद्ध खेल्ने हो, त्यो त निश्चित छ । तर कहिले र कहाँ खेल्ने हो, त्यसबारे अन्तिम निर्णय हुन बाँकी छ । सम्भवतः अन्तिम चरणको खेल एकैपल्ट एकै समय कम्तीमा तीन वा बढीमा चार स्थानसम्म पनि हुन सक्नेछ । यहाँसम्म पुग्नेको बाटो कस्तो रह्यो त ? फर्केर अहिलेसम्म भएको लिगको २३ चरण खेलको छोटकरी विश्लेषण :

१. जावलाखेलको सुरुआती अग्रता

जावलाखेलले पहिलो चरणमै देखाएको थियो, यो क्लबले यसपल्टको लिगमा केही गर्नेछ । टोलीले दुईपल्टको डिफेन्डिङ च्याम्पियन मछिन्द्रमाथि सानदार ३–१ को जित निकालेको थियो । ‘ए’ डिभिजनमा डेब्यु गरेका दुवै टिम चर्च ब्वाइज र खुमलटारले पनि आ–आफ्नो पहिलो खेल जिते । एपीएफको सुरुआत राम्रै रह्यो । टोलीले थ्रीस्टारलाई २–० ले पन्छाएको थियो । यही खेलबाट प्रस्ट भइसकेको थियो, थ्रीस्टारलाई यो लिगमा सजिलो हुने छैन ।

२. चर्च ब्वाइज पहिलोपल्ट अगाडि

दोस्रो चरण आइपुग्दा चर्च ब्वाइजले पहिलोपल्ट शीर्षस्थान ओगटेको थियो । लगातार दोस्रो जित निकाल्ने क्रममा उसले खुमलटारलाई ३–१ ले हराएको थियो । जावलाखेलले पनि लगातार दोस्रो जित निकाल्न त सफल रह्यो, तर गोलअन्तरले चर्च ब्वाइजको पछाडि रह्यो । लगातार दोस्रो जित निकाल्नेमा सातदोबाटो रह्यो । मछिन्द्र भने लगातार दोस्रो खेलमा पराजित रह्यो । अविश्वसनीय रूपमा सबैभन्दा पुछारमा रह्यो ।

३. पुलिसको लगातार तेस्रो हार

गत सिजन पनि पुलिसको प्रदर्शन राम्रो थिएन । धेरैको अनुमान थियो, यसपल्ट पनि पुलिस रेलिगेसनबाट बच्न संघर्षरत हुनेछ । यसैक्रममा पुलिस तेस्रो चरणमा आइपुग्दा सबैभन्दा खराब खेल्ने टिम रह्यो । लगातार तेस्रो हार बेहोर्न बाध्य रह्यो । सकंटाले सजिलै पुलिसलाई ३–० ले हराएको थियो । कम्तीमा मछिन्द्रले पनि तेस्रो खेलमा आइपुग्दा एक अंक बटुल्यो, मनाङ मर्स्याङ्दीलाई बराबरीमा रोकेर । चर्च ब्वाइज र सातदोबाटोले उत्कृष्ट सुरुआत लिएर लगातार तेस्रो खेल जित्यो ।

४. मनाङको सानदार जित

कसलाई मात्र विश्वास थियो र मनाङ लिगका बाँकी खेलमा गाह्रो हुनेछ भनेर । सुरुतिर त मनाङको लय लिग जित्ने खालकै थियो । चौथो चरणमा सबैभन्दा मीठो जित मनाङकै नाममा रह्यो । टोलीले एनआरटीलाई ३–१ ले हराएको थियो । चर्च ब्वाइज भने अझै अगाडि रह्यो, तर संकटाले टोलीलाई गोलरहित बराबरीमा रोकेको थियो । मछिन्द्रले लिगको पहिलो जित यही चरणमा आएर आत्मसात् गरेको हो, पुलिसलाई २–१ ले पराजित गरेर ।

५. सातदोबाटो शीर्षस्थानमा

लगातार तीन चरण शीर्षमा रहेपछि झर्ने पालो चर्च ब्वाइजको थियो । लगातार गोलरहित दुई बराबरीले टोलीलाई तेस्रो स्थानमा झारेको थियो । यही क्रममा पहिलोपल्ट सिद्ध भएको थियो, यसपालि लिगको शीर्षमा कायम रहन गाह्रो हुनेछ । पाँचौं चरणको अन्त्यमा शीर्षस्थानमा उक्लने टिम थियो सातदोबाटो । आफ्नो चौथो जित निकाल्ने क्रममा सातदोबाटोले खुमलटारलाई २–१ ले हराएको थियो । मनाङ पनि दोस्रो स्थानमा उक्लन सफल रह्यो । अपराजित मनाङले एपीएफलाई २–१ ले हराएको थियो ।

६. मनाङको पहिलो स्थानमा छलाङ

सातदोबाटो एकै चरणमात्र शीर्षमा टिक्यो, तर जावलाखेलसँग २–१ ले पराजित भएपछि तेस्रो स्थानमा झरेको थियो । जावलाखेल यही जितसँगै दोस्रोमा उक्लन सफल रह्यो । यसबीच मनाङले भने पहिलोपल्ट शीर्षस्थानमा छलाङ मारेको थियो । टोलीले फ्रेन्ड्सलाई सजिलै २–० ले हराएको थियो । यो यस्तो जित रह्यो, जसले चेतावनीको भाषामा भनिरहेको थियो सायद फेरि एकपल्ट लिग उपाधि जित्ने भनेको मनाङले नै हो । यसले फेरि एकपल्ट नयाँ इतिहास बनाउने छ ।

७. मनाङको अग्रता कायम

मनाङ फेरि एकपल्ट शीर्षमै रह्यो, सातौं चरण समाप्तिमा । मनाङले अपराजित रहनेक्रममा थ्रीस्टारसँग रोमाञ्चक १–१ को बराबरी खेल्यो । लिगकै एक उत्कृष्ट खेलमा पर्छ यो । यसमा सन्तोष साहुखलले गरेको गोल आफैंमा दर्शनीय थियो । पुलिस यही चरणमा आइपुगेर पहिलो जित निकाल्न सफल रह्यो फ्रेन्ड्सलाई ३–१ ले हराएर । पुलिसले यस अघिका ६ खेलमा एकै अंकमात्र बटुलेको थियो । यो जितका बावजुत पनि पुलिस पुछारमै रह्यो ।

८. सातदोबाटो दोस्रोपल्ट अगाडि

आठौं चरण आइपुग्दा सातदोबाटो दोस्रोपल्ट शीर्षस्थानमा उक्लन सफल रह्यो । तर, यो अन्तिमपल्ट थियो । फेरि दोहोर्‍याएर पहिलो स्थानमा उक्लिन सकेन । यस चरणमा सातदोबाटोले अरू कसैलाई होइन मनाङलाई १–० ले हराएको थियो । त्यसमा दीपकराज सिंह ठकुरीको निर्णायक गोल गरे । हारले मनाङ दोस्रो स्थानमा झर्यो । यही चरणमा दुई ठूलो स्कोरका गोल भए, मछिन्द्रले खुमलटारलाई ७–३ र हिमालयनले एपीएफलाई ५–३ ले हराएका थिए । मछिन्द्रका लागि ओलावाले आफिजले ह्याट्रिक गरे । यो चरणमा सर्वाधिक २९ गोल भए ।

९. मनाङको ‘डाउनफल’ सुरु

लिगको नवौं चरणदेखि मनाङसँग यस्तो खराब प्रदर्शनको नतिजा जोडिन्छ, जसलाई क्लब इतिहासकै सबैभन्दा ठूलो ‘डाउनफल’ मान्न सकिन्छ । मनाङलाई जावलाखेलले ३–० ले हराएको थियो । यो मनाङमाथि जावलाखेलको अहिलेसम्मकै सबैभन्दा प्रभावशाली जित थियो । यो जित कति धेरै महत्त्वपूर्ण रह्यो भने जावलाखेल फेरि एकपल्ट शीर्षस्थानमा उक्लन सफल रह्यो । यही चरणमा फ्रेन्ड्सले पनि एक अर्को सम्झनालायक जित निकालेको थियो हिमालयनलाई ६–० ले हराएर ।

१०. पुलिसमाथि जावालखेलको ६ गोल

फेरि एकपल्ट शीर्षस्थानमा उक्लेर जावलाखेल कति धेरै उत्साहित भएको थियो भने दसौं चरणमा उसले पुलिसमाथि ६–१ को जित निकालेको थियो । यो जावलाखेलको एक अर्को सानदार प्रदर्शन थियो । लिगमा पुलिस यो खेलमा जत्तिको निरीह कहिले पनि देखिएको थिएन । मनाङ लगातार तेस्रो खेलमा पराजित रह्यो । चर्च ब्वाइज भने सातदोबाटोलाई २–१ ले हराएर दोस्रो स्थानमा उक्लियो । सातदोबाटो आफैं चौथो स्थानमा झरेको थियो ।

११. थ्रीस्टार दोस्रो स्थानमा

लिगको ११ चरण समाप्तिमा अंकतालिका हेर्नुपर्छ अविश्वसनीय स्थिति देखा पर्छ । त्यो हो, थ्रीस्टार दोस्रो स्थानमा उक्लिनु । थ्रीस्टारले यो चरणमा संकटामाथि आत्मविश्वासले भरिएको ३–० ले हराएको थियो । मनाङ भने लगातार चौथो खेलमा पराजित रह्यो । टिमको खराब प्रदर्शर्न कायम रह्यो । यो चरणको सबैभन्दा महत्त्वपूर्ण जित जावलाखेलकै नाममा रह्यो, टोलीले चर्च ब्वाइजलाई १–० ले हराएको थियो । यो यस्तो जित हो, जुन ‘हेड टु हेड’ का आधारमा पछि काम लाग्न सक्ने खालको थियो ।

१२. चर्च ब्वाइजको खराब प्रदर्शन

लिगको १२ औं चरणमा चर्च ब्वाइज भने आर्मीसँग पराजित रह्यो । टिम पाँचौं स्थानमा झरेको थियो । थ्रीस्टार भने दोस्रो स्थानमै कायम रह्यो । टोलीले मछिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो । यो चरणको सबैभन्दा प्रभावशाली जित सातदोबाटोको नाममा रह्यो । टोलीले संकटालाई ४–० ले हराएको थियो । यो जितपछि सातदोबाटो तेस्रो स्थानमा उक्लन पनि सफल रह्यो । मनाङ अविश्वसनीय रूपमा लगातार पाँचौं खेलमा पराजित रह्यो । मनाङलाई पुलिसले १–० ले हराएको थियो ।

१३. जावलाखेल बन्यो ‘विन्टर च्याम्पियन’

लिगले ठ्याक्कै मध्यभाग छुँदा शीर्षमा रहेको टिम रह्यो, जावलाखेल । जावलाखेल छैटों साता शीर्षस्थानमा कायम रहेको थियो । यसक्रममा नेपाली घरेलु फुटबलकै समृद्ध इतिहास भएको टिम ‘विन्टर च्याम्पियन’ बन्यो । विशेषतः युरोपतिर लिगको मध्यभागमा शीर्षस्थानमा रहेको टिमलाई ‘विन्टर च्याम्पियन’ भन्ने गरिन्छ । मनाङ लगातार छैटौं खेलमा पराजित रह्यो । यसपल्ट टोलीलाई चर्च ब्वाइजले सजिलै ३–० ले हराएको थियो । यससँगै मनाङका प्रशिक्षक किरण श्रेष्ठले आफ्नो पद छाडेका थिए ।

१४. पुलिसको लगातार तेस्रो जित

पुलिसको सबैभन्दा राम्रो प्रदर्शन १४ औं चरणमा आइपुग्दा देखियो, जतिबेला टोलीले लगातार तेस्रो खेल जितेको थियो । जितको ह्याट्रिक बनाउनेक्रममा पुलिसको सिकार बन्यो, जावलाखेल । पुलिसको २–१ को जितमा दुवै गोल विदेशी खेलाडीको नाममा रह्यो । यो जितले देखाएको थियो, विदेशी खेलाडी आएयता पुलिसको प्रदर्शन वास्तवमै सुध्रिएको छ । हारका बावजुत जावलाखेल शीर्षमा रहनेक्रम जारी रह्यो ।

१५. विनोङको सानदार ह्याट्रिक

लिगको १५ औं चरणमा खुमलटारले पहिलो स्थानमा रहेको जावलाखेललाई मज्जाले ४–२ ले हरायो र यसमा स्टेफन विनोङले सानदार ह्याट्रिक पनि रचे । अर्को खेलमा चर्च ब्वाइजले एनआरटीलाई समान ४–१ कै अन्तरले हरायो र फेरि एकपल्ट शीर्ष स्थानमा उक्लिन सफल रह्यो । मछिन्द्रले पनि यो चरणमा एपीएफलाई २–१ ले हराएको थियो । टोली पहिलोपल्ट शीर्ष चारमा उक्लिन सफल रह्यो । यो मछिन्द्रको लगातार दोस्रो जित थियो ।

१६. आर्मीमाथि एपीएफ हाबी

यसपल्टको लिगमा धेरैलाई कुनै एक टिमले निरास पारेको छ भने त्यो आर्मी थियो । एक त टोलीले विदेशी खेलाडी अनुबन्ध नगर्ने जिद्दी गरिरहेकै थियो, टिमकै भएका खेलाडीको प्रदर्शन पनि असाध्यै कमजोर रह्यो । लिगको १६ औं चरणमा आर्मीको ‘लाचारी’ खुबै राम्रोसँग देखिएको थियो, जतिबेला टोलीलाई एपीएफले नमज्जासँग ३–० ले हराएको थियो । यो चरणको एक अर्को महत्त्वपूर्ण खेलमा चर्च ब्वाइजले मछिन्द्रलाई १–० ले हराएको थियो । दुर्भाग्यले निर्णायक गोल अमृत श्रेष्ठको नाममा आत्मघाती रह्यो ।

१७. जावलाखेल र चर्च ब्वाइजको बराबरी अंक

लिगको १७ चरण समाप्तिमा जावलाखेल र चर्च ब्वाइज शीर्ष दुईमा रहे । संयोग कस्तो भने दुवै टिम समान ३० अंकमा रहे । यो चरणमा जावलाखेलले फ्रेन्ड्समाथि ४–१ को प्रभावशाली जित निकालेको थियो । तर, यसपछिका खेलमा जावलाखेलले आफ्नो यस्तै प्रदर्शन कायम राख्न सकेन । कसलाई थाहा थियो र, यसपछिका ५ खेलमा जावलाखेलले एकै अंकमात्र बटुल्ने छ भनेर । लगातारको ४ वराबरीले सम्भवतः जावलाखेलको पहिलोपल्ट लिग उपाधि जित्ने सपना तुहाएको थियो ।

१८. जावलाखेलले गुमायो शीर्षस्थान

जावलाखेल सात चरण शीर्षमा रह्यो । अन्ततः १८ औं चरण आइपुग्दा दोस्रो स्थानमा झर्‍यो । टोलीको स्थान लिएको थियो चर्च ब्वाइजले । यो चरणमा जावलाखेलले मनाङसँग २–२ को रोमाञ्चक बराबरी खेलेको थियो । जावलाखेलले दुई गोलको अग्रता लिए पनि त्यो कायम राख्न सकेन । यो नतिजापछि न त जावलाखेलले नै शीर्ष स्थान कायम राख्न सक्यो । अर्को खेलमा चर्च ब्वाइजले सातदोबाटोलाई हराएको थियो, १–० ले ।

१९. चर्च ब्वाइजलाई चार अंकको अग्रता

जावलाखेल र मछिन्द्रले बराबरी खेलेपछि शीर्षमा रहेको चर्च ब्वाइजलाई निकै ठूलो गणितीय लाभ प्राप्त भएको थियो । टोलीले पुलिसलाई १–० ले हराएको थियो र यससँगै पहिलो स्थानमा पहिलोपल्ट चार अंकको अग्रता लिएको थियो । शीर्षमा ४ अंकको यो अग्रता पूरा लिगमै सबैभन्दा ठूलो थियो । यो यस्तो अन्तर थियो, जसमा टिकेर चर्च ब्वाइजले निर्णायक फड्को मार्नसक्ने थियो, तर यस्तो भएन । शीर्षमा टिक्नै गाह्रो विशेषताको सिकार बन्ने क्रममा थियो चर्च ब्वाइज ।

२०. मछिन्द्र दोस्रो स्थानमा

दुईपल्टको डिफेन्डिङ च्याम्पिनय भएता पनि मछिन्द्रको सुरुआत राम्रो रहेन । सुरुआती दुई चरणसम्म त मछिन्द्र अन्तिम स्थानमा थियो । तेस्रो चरण सकिँदा पनि रेलिगेसन क्षेत्रमै थियो । २० औं चरण मछिन्द्रका लागि सुखद रह्यो र यसपल्ट सबैभन्दा उच्च दोस्रो स्थानमा पुग्यो । यसका लागि मछिन्द्रले एनआरटीलाई २–० ले हराएको थियो । संयोग कस्तो भने दोस्रो स्थान उक्लन मछिन्द्रले पछाडि धकेलेको थियो, यसका प्रमुख प्रशिक्षक किशोर केसीको प्रिय टिम जावलाखेल ।

२१. बराबरीको नीरस चरण

लिगको २१ औं चरण धेरै हदसम्म नीरस रह्यो । गोलको आँकडाले पनि यो देखाउँछ । यो चरणमा ११ गोलमात्र भए, पूरा लिगकै सबैभन्दा कम गोल । मछिन्द्र र जावलाखेलबीचको खेल जुन सनसनी उत्पन्न गराउनुपर्ने थियो । त्यो भएन । खेल गोलरहित बराबरीमै टुंगियो । चर्च ब्वाइजले पनि मनाङसँग गोलरहित बराबरी नै खेल्यो । चर्च ब्वाइजलाई प्रत्येकपल्ट अवसर आइरहेको थियो, शीर्षमा छलाङ मार्ने, तर टोलीले त्यसलाई आत्मसात् गर्न सकिरहेको थिएन ।

२२. चर्च ब्वाइजमाथि संकटाको जित

यसपल्टको लिगको सबैभन्दा उत्कृष्ट खेलमध्ये एक त्यो रह्यो, जसमा संकटाले चर्च ब्वाइजलाई १–० ले हरायो । दशरथ रंगशालामा भएको यो खेल वर्षाबीच चलेको थियो र संकटाका युसुफ इद्रिसले ६९ औं मिनेटमा गरेको गोल आफैंमा अत्यधिक सुन्दर थियो । अझ यसपल्टको लिगकै सबैभन्दा उत्कृष्ट । संकटाको पोस्ट नजिकबाट बुनिएको यो आक्रमण केही सेकेन्डको अन्तरमा चर्च ब्वाइजको पोस्टभित्र पुगेर टुंगिएको थियो । प्रशिक्षकमा विष्णु गुरुङ आएयता मनाङ मर्स्याङ्दीले थ्री स्टारविरुद्ध पहिलो जित निकाल्यो ।

२३. तीनै शीर्ष टिमको जित

शीर्षस्थानका तीन टिमले यसअघि जसरी जितका लागि संघर्ष गरेको थियो । यो कथा २३ औं चरणमा आएर फेरियो । चर्च ब्वाइज, मछिन्द्र र जावलाखेल तीनै टिम यो चरणमा विजयी रहे । चर्चा ब्वाइजले एपीएफमाथि ४–१ को फराकिलो जित निकालेको थियो । तर यो भन्दा अझ मीठो जित मछिन्द्रको रह्यो, जतिबेला टोलीले सातदोबाटोलाई ३–१ ले हरायो । त्यसमा ओलावाले आफिजले ह्याट्रिक गरे । अनि मनाङ लगातार दोस्रो जित निकाल्ने पाँचौं स्थानमा उक्लन सफल रह्यो ।

अबका तीन चरणका खेल

२४ औं चरण आर्मीविरुद्ध सातदोबाटो थ्री स्टारविरुद्ध एपीएफ चर्च ब्वाइजविरुद्ध जावलाखेल खुमलटारविरुद्ध संकटा एनआरटीविरुद्ध हिमालयन पुलिसविरुद्ध मछिन्द्र फ्रेन्ड्सविरुद्ध मनाङ

...

२५ औं चरण खुमलटारविरुद्ध एपीएफ आर्मीविरुद्ध पुलिस चर्च ब्वाइजविरुद्ध थ्रीस्टार सातदोबाटोविरुद्ध जावलाखेल मनाङविरुद्ध एनआरटी हिमालयनविरुद्ध मछिन्द्र संकटाविरुद्ध फ्रेन्ड्स

...


२६ औं चरण खुमलटारविरुद्ध चर्च ब्वाइज पुलिसविरुद्ध सातदोबाटो एपीएफविरुद्ध फ्रेन्ड्स आर्मीविरुद्ध हिमालयन संकटाविरुद्ध एनआरटी मछिन्द्रविरुद्ध मनाङ जावलाखेलविरुद्ध थ्रीस्टार

प्रकाशित : जेष्ठ २०, २०८० ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?