कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भारतीय गल्फरलाई नेपाल एमेच्योर ओपन

काठमाडौँ — भारतीय गल्फर सुमित कोटवालले नवौं नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङलाई एक स्ट्रोकले हराउँदै गोकर्ण गल्फ क्लबमा सुमितले उपाधि उचाले ।

भारतीय गल्फरलाई नेपाल एमेच्योर ओपन

बुधबार १ अन्डर ७१ को स्कोरमा सुमितले समग्रमा १३ अन्डर २ सय ३ सहित उपाधि जितेका हुन् । अग्रता लिइरहेका सुवासले २ अन्डर ७० को कार्डसहित समग्रमा १२ अन्डर २ सय ४ स्कोर बनाए । उनी उपविजेता भए ।

युवा गल्फर सद्भाव आचार्यले दिनकै उत्कृष्ट ३ अन्डर ६९ को स्कोर बनाए । उनी समग्रमा १० अन्डर २ सय ६ सहित तेस्रो भए । भारतीय बरुण मुथाप्पाले इभन पार ७२ मा खेल टुंग्याएर समग्रमा २ अन्डर २सय १४ सहित चौथो स्थान भेट्टाए ।

समग्रमा १ ओभर २ सय १७ सहित भुटानका उर्गेन दोर्जी र नेपालका टासी छिरिङ संयुक्त पाँचौं भए । समग्रमा ३ ओभर २ सय १८ को स्कोरमा नेपालका वाङचेन ढोन्डुप सातौं हुँदा बंगलादेशका मोहम्मद सुमोन आठौं भए । उनले समग्रमा ३ ओभर २ सय १८ स्कोर गरे । १० ओभर २ सय २६ सहित भारतका सुरज जोशी, बंगलादेशका सफिकुल इस्लाम र पाकिस्तानका उमर सलिमले संयुक्त १० औं स्थान बाँडे ।

सुमितले फ्रन्टनाइन १ ओभर ३७ मा सकाए । पहिलो, तेस्रो र छैटौं होलमा एक–एक शट बचाए । दोस्रो, पाँचौ, सातौं र आठौं होलमा बोगी खेपे । यो स्कोरमा सुमितलाई सुवासले फ्रन्ट नाइनमा एक स्ट्रोकले पछि पारेका थिए । तर यसपछि ब्याक नाइनमा सुमितले १२, १३, १४ र १५ औं होलमा बर्डीको सफलता पाए । १७ र १८ औं होलमा एक–एक शट खेर फाले । ब्याक नाइन २ अन्डर ३४ मा पूरा गर्दै एक स्ट्रोकको जितसाथ च्याम्पियन बने ।

महिलामा कश्मिरा शाहले उपाधि जितिन् । बुधबार ४ ओभर ७६ को स्कोरमा उनले समग्रमा १८ ओभर २ सय ३४ सहित ५ स्ट्रोकको अग्रतामा उपाधि जितिन् । सुष्मा सिग्देल दोस्रो भइन् । ६ ओभर ७८ सहित समग्रमा २३ ओभर २ सय ३९ को स्कोर गरिन् । २ सय ७२ सहित आइन्स्टिना टण्डनले तेस्रो स्थान हात पारिन् ।

प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान, भारत र पाकिस्तानका ५१ खेलाडीको सहभागिता थियो ।

टिमतर्फ नेपालले स्वर्ण, भारतले रजत र भुटानले कांस्य जिते । प्रतियोगितामा सुवासले स्वर्ण र रजत तथा सद्भावले दुई रजत दिलाए ।

विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङ, माउन्टेन स्पोर्टस फाउन्डेसनका अध्यक्ष गोबिन्द भट्टराई, नेपाल गल्फ संघका अध्यक्ष टासी घलेलगायतले पुरस्कार वितरण गरे ।


प्रकाशित : जेष्ठ १७, २०८० २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?