२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

गण्डकी र एपीएफ विजयी

काठमाडौँ — हेटौंडामा सुरु राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश टिम र एपीएफ क्लब विजयी भएका छन् ।

मंगलबार उद्घाटन खेलमा घरेलु टिम मकवानपुरमाथि गण्डकीले २५–१८, २५–१७, २५–१९ को सोझो सेटमा जित पायो । गण्डकीका सन्तोष थापा मगर म्यान अफ द म्याच भए । एपीएफले पाथिभरा भलिबल टिम झापालाई २५–२२, २५–१६, २३–२५, २५–२३ को सेटमा हराएको हो । नयाँ खेलाडीलाई प्रोत्साहन गर्नुका साथै खेलाडीबीच भ्रातृत्वको सम्बन्ध स्थापना गर्न केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघले संयुक्त रूपमा आयोजना गरेको हो ।

हेटौंडा–४ स्थित हुप्रचौरमा भएको प्रतियोगितामा नेपालका ७ टिमको सहभागिता छ । हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले प्रतियोगिताको उद्घाटन गरिन् । उनले उपमहानगरपालिकाले सबै खेललाई उत्तिकै महत्व दिँदै बजेट व्यवस्था गर्दै आएको बताइन् ।

विजेताले २ लाख र उपविजेताले एक लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । सेमिफाइनल पराजित दुई टिमले समान ५० हजार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार र विधागत उत्कृष्ट खेलाडीलाई जनही ५–५ हजार प्रदान गरिने आयोजक प्रतिष्ठानले जनाएको छ । प्रतियोगिताका लागि करिब २५ लाख खर्च हुने मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष वसन्त सिटौलाले बताए ।

प्रकाशित : जेष्ठ १६, २०८० २२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?