१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

डोटीमा बुधबार खप्तड–शैलेश्वरी म्याराथन

मोहन शाही

डोटी — खप्तड-शैलेश्वरी हाइअल्टिच्युड म्याराथन प्रतियोगिताको तयारी पूरा भएको छ । ३ हजार ३ सय फिट उचाइमा यो म्याराथन बुधबार हुँदै छ ।

डोटीमा बुधबार खप्तड–शैलेश्वरी म्याराथन

डोटीमा पहिलो पटक यस्तो दौड हुन लागेको आयोजक डोटी उद्योग वाणिज्य संघ र सुदूरपश्चिम खेलकुद परिषदले जनाएका छन् ।

भू–स्वर्गको रूपमा परिचित खप्तडको प्रचारप्रसार गर्ने उद्देश्यले खप्तडको त्रिवेणीमा लाग्ने गंगा दशहरा मेलाको अवसरमा म्याराथन दौड गरिने लागेको हो । महिलाको हाफ म्याराथन हुनेछ ।

प्रतियोगिताको व्यवस्थापन जिम्मेवारी सम्हालिरहेको नेपाली सेनाको सिलगढीस्थित भैरवप्रसाद गणका गणपति जनमत कार्कीले पुरुषको रुट खप्तडदेखि सिलगढीको शैलेश्वरी मन्दिरसम्म र महिलाको रुट खप्तडको मध्यवर्ती क्षेत्र झिग्रानादेखि शैलेश्वरी मन्दिरसम्म रहेको बताए ।

धार्मिक तथा पर्यटकीय गन्तव्य खप्तडलाई हाइअल्टिच्युड म्याराथनको माध्यमबाट देश विदेशमा चिनाउन सहयोग पुग्ने गणपति कार्कीले बताए ।

प्रतियोगितामा भाग लिने धावक खप्तड पुगिसकेका छन् । केन्याका दुई विदेशी धावकसहित करिब एक सय प्रतियोगीले भाग लिइरहेका छन् । हाफ म्याराथनमा २३ प्रतिस्पर्धी छन् ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भई खेलाडीलाई टिसर्ट, क्याप वितरण गरिनुका साथै लोगो अनावरण गरिएको डोटी उद्योग बाणिज्य संघका अध्यक्ष मोहन कलेलले बताए ।

म्याराथन सञ्चालन अवधिभर सम्भावित जोखिमलाई ध्यानमा राखी हेलिकप्टर गस्ती गरिने प्रमुख सेनानी कार्कीले बताए ।

खप्तड–शैलेश्वरी म्याराथन विजेताले १ लाख २५ हजार, दोस्रोले ८० हजार, तेस्रोले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । महिला हाफ म्याराथन विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार पुरस्कार पाउने छन् ।

प्रकाशित : जेष्ठ १६, २०८० २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?