२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

लिगमा छलाङ मार्दै पुलिस

सहिद स्मारक लिगमा सोमबारका नतिजा खुमलटार २–१ हिमालयन शेर्पा, पुलिस २–१ फ्रेन्ड्स
हिमेश

काठमाडौँ — सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७९–८० ले आधा बाटो तय गर्दा पनि पुलिस अन्तिम स्थानमा थियो । पुलिसमाथि रेलिगेसनबाट बच्न चर्को न चर्को दबाब थियो । लिगले २२ औं चरण तय गर्दा त्यही पुलिस शीर्ष चारमा उक्लेको छ । टोली खातामा ३१ अंक भएको छ । यो शीर्षस्थानको चर्च ब्वाइजसँग ७ अंकको दुरी हो । पुलिसको यस फड्कोलाई अविश्वसनीय छलाङ मान्न सकिन्छ । तर, लिग फुटबलको रोमाञ्च भनेको नै यही हो ।

लिगमा छलाङ मार्दै पुलिस

पुलिसको अगाडि रहेकामध्ये मछिन्द्रसँग ३६ र जावलाखेलसँग ३४ अंकमात्रै छ । अब लिगका बाँकी चारमा पुलिसको प्रदर्शन कस्तो हुने हो, त्यसको सिधा प्रभाव लिग उपाधिको होडमा पर्नेछ । यसको कारण भने स्पष्ट छ, लिगको दोस्रो भागमा पुलिसको प्रदर्शन सबैभन्दा राम्रो । लिगको १४ देखि २२ चरण आधार मान्ने हो भने सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने पुलिस नै रहेको छ । लिगको अन्तिम ९ चरणमा सबैभन्दा बढी १९ अंक बटुल्ने पुलिस टिम नै हो ।

यही ९ चरणमा चर्च ब्वाइजले १७, मछिन्द्रले १८ र जावलाखेलले १० अंक बटुलेका छन् । पुलिसपछि यो अवधिमा सबैभन्दा बढी अंक बटुल्ने मछिन्द्र रहेको छ । पुलिसको यो लगातार तेस्रो जित हो । पुलिसले सुरुआती ६ चरणमा एकै अंकमात्र बटुलेको थियो र यसबीचमा ५ खेल गुमाएको थियो । यो लिगमा पुलिसको अहिलेसम्मकै सबैभन्दा खराब प्रदर्शन हो । तर, यही टिमको पछिल्लो प्रदर्शन भने पुरानो पुलिस च्याम्पियन हुँदाको जस्तो भएको छ ।

पुलिस भयो सुरक्षित

‘आजको खेल निकै गाह्रो भयो । फेरि यो निकै महत्त्वपूर्ण पनि थियो । यस्तोमा जितसँगै ३ अंक प्राप्त भएकोमा म खुसी छु । यो जितका लागि हाम्रा खेलाडीले निकै मिहिनेत गरेका छन्,’ प्रशिक्षक चेतन घिमिरेले थपे, ‘यो जितपछि भने हामी सुरक्षित भएका छौं । यो यात्रा हाम्रा लागि निकै संघर्षपूर्ण रह्यो । सुरुमा कमजोर आक्रमणका कारण हामी चुकिरहेका थियौं । विदेशी खेलाडी आएपछि भने हाम्रो लय नै फेरियो । त्यसपछि आत्मविश्वास नै बेग्लै भयो ।’

प्रशिक्षक घिमिरेले अहिले टिममा आफ्ना र विदेशी खेलाडीबीच ठीक तालमेल बसेको र यसले टिमलाई अझ राम्रो बनाएको पनि दाबी गरे । दशरथ रंशालामा भएको खेलमा पुलिसका लागि दुवै गोल अञ्जन राईले गरे । उनले तेस्रो मिनेटमा पहिलो गोल गरे । फ्रेन्ड्सका विकास थापाले २० औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । यो स्थिति लामो समय टिकेन । अञ्जनले ३५ औं मिनेटमा दोस्रो गोल थपे । यो नै अन्ततः निर्णायक साबित भयो ।

‘हामीले सुरुमै गोलको अवसर दियौं, सेट पिचमा हामी कमजोर भइरहेका छौं,’ फ्रेन्ड्सका प्रशिक्षकका उर्जन श्रेष्ठले प्रतिक्रिया थिए । यो नतिजासँगै फ्रेन्ड्स फेरि एकपल्ट रेलिगेसन क्षेत्रमा झरेको छ । फ्रेन्ड्स २४ अंकमै सीमित रहेर १३ औं स्थानमा रह्यो । टोलीको पछाडि अन्तिम स्थानमा खुमलटार रहेको छ । खुमलटारको पनि समान २४ अंक छ । प्रशिक्षक श्रेष्ठले पोस्टम्याच कन्फ्रेन्समा भने, ‘रेलिगेसन क्षेत्रमा झरेपछि दबाब त हुन्छ नै । अझै ४ खेल बाँकी छ र मलाई हामी सुरक्षित हुने विश्वास छ ।’

आत्मविश्वासी खुमलटार

खुमलटारले हिमालयन शेर्पाविरुद्ध प्राप्त गरेको २–१ को जितमा भने मेसुके ओलुमोउ र स्टेफन विनोङले गोल गरे । टोलीले एक गोलले पछाडि रहेको स्थितिमा यो जित निकालेको हो । शेर्पाले छैटौं मिनेटमा म्यानुएल एग्योमाङको गोलमा अग्रता लिएको थियो । त्यसपछि मेसुकेले १७ औं मिनेटमा बराबरी गोल गरे भने विनोङले ७६ औं मिनेटमा निर्णायक गोल गरे । यो विशेष गोल रह्यो । यसक्रममा उनले एक्रोब्याटिक प्रदर्शन गर्दै बललाई पोस्टका दिशा दिएका थिए ।

मेसुकेले ६९ औं मिनेटमा प्राप्त पेनाल्टीलाई भने गोलमा परिणत गर्न सकेनन् । खेलपछि खुमलटारका सहायक प्रशिक्षक रहेका मदन सुब्बाले जितले आफ्नो टिम आत्मविश्वासी भएको बताए । उनले यससँगै आफ्नो टिम पनि रेलिगेसनबाट बच्ने दाबी गरे । ‘हाम्रो टिम अब बलियो भएको छ । विश्वास छ, ४ खेलमा हामी राम्रो प्रदर्शन गर्न सक्षम हुनेछौं ।’

प्रकाशित : जेष्ठ १६, २०८० ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?