कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निशा बनिन् लेभल टु प्रशिक्षक

कान्तिपुर संवाददाता

काठमाडौँ — तेक्वान्दोकी ओलम्पियन खेलाडी निशा रावलले ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी छन् । राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएकी निशाले वर्ल्ड तेक्वान्दोले गत मे १९ मा सञ्चालन गरेको लेभल टु कोचेज कोर्स उत्तीर्ण गरेकी हुन् । उनले यसअघि फेब्रुअरी ६ मा लेभल वान कोचेज कोर्स गरेकी थिइन् ।

निशा बनिन् लेभल टु प्रशिक्षक

तेक्वान्दोकी चौथो डान निशाले राष्ट्रिय टोलीसँगै विभिन्न विद्यालयमा प्रशिक्षण गराउँदै आएकी छन् । निशा जेठ १५ देखि २१ सम्म अजरबैजानको बाकुमा हुने तेक्वान्दोको वर्ल्ड च्याम्पियनसिपमा पनि नेपाली टोलीको प्रशिक्षकका रूपमा सहभागी हुँदै छिन् । वर्ल्ड च्याम्पियनसिपमा नेपालका चार महिला र चार पुरुषले प्रतिस्पर्धा गर्ने छन् । महिला टोलीको प्रशिक्षकमा निशाले छिन् ।

वर्ल्ड च्याम्पियनसिपमा पुरुषको ६८ केजीमा वीर महरा, ८७ केजीमा नीरज देउवा, ६३ केजीमा गोविन्दबहादुर आले र सुमित विष्टले ५४ केजी तौलमा प्रतिस्पर्धा गर्ने छन् । महिलातर्फ ४६ केजीमा युनिशा राई, ४९ केजीमा काजल श्रेष्ठ र ६७ केजीमा इन्दिरा बस्नेतले प्रतिस्पर्धा गर्नेछन् ।

निशाले सन् २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिक खेलेकी थिइन् । ३१ औं ग्रीष्मकालीन ओलम्पिकमा वाइल्ड कार्डमार्फत छनोट भएकी उनले महिला ६७ केजी तौलमा प्रतिस्पर्धा गरेकी हुन् । ललितपुरकी निशाले २०१४ को इन्चोन एसियाड पनि खेलेकी थिइन् । उनले हङकङ एसियन सिटी गेम्स र काठमाडौंमै भएको माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण पदक जितेकी थिइन् ।

प्रकाशित : जेष्ठ १५, २०८० २१:४८
प्रतिक्रिया
पठाउनुहोस्