रोहित जेन नेक्स्टको ब्रान्ड एम्बासडर

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई सोमबार जेन नेक्स्ट कन्सल्टिङ ग्रुपले आफ्नो ब्रान्ड एम्बासडर बनाएको छ । जिम्बावेमा हुने विश्वकप छनोटको तयारीका लागि रोहित र नेपाली टोली मंगलबार दक्षिण अफ्रिका लाग्नुअघि सो सम्झौता गरिएको छ ।  

रोहित जेन नेक्स्टको ब्रान्ड एम्बासडर

जेन नेक्स्टबाट संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत मोहम्मद अस्लाम र रोहितले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता २०२३ जुन १ बाट सुरु हुनेछ । यो १ वर्षका लागि हुनेछ । सम्झौता आपसी समझदारीका लागि दुई पक्षमा सीमित गरिएको छ ।

ब्रान्ड एम्बासडर भएबापत राष्ट्रिय टोलीका कप्तान रोहितले आफ्नो सामाजिक सञ्जालहरूबाट जेन नेक्स्ट कन्सल्टिङ ग्रुपको प्रवर्द्धन गर्नेछन् । त्यसबाहेक रोहितले जेन नेक्स्ट सहभागी हुने शैक्षिक मेलामा पनि सहभागिता जनाउने दुवै पक्षले सोमबार सम्झौता समारोहमा जनाए ।

पहिलो पटक यस खाले सम्झौता गर्न पाउँदा आफू निकै उत्साहित रहेको जनाउँदै रोहितले विशेष गरी विश्वकप छनोट र एसिया कप जस्तो महत्त्वपूर्ण प्रतियोगिता खेल्नु अगाडि यस्तो सम्झौतामा अनुबन्ध हुन पाउनु विशेष भएको बताए ।

‘आर्थिक हिसाबमा क्रिकेट खेलाडी अझै संघर्षरत नै छन् । धेरै खेलाडी गाह्रो अवस्थामा छन् । मासिक पारिश्रमिक बाहेक खेलाडीले उपाधि जित्दा खेरि मात्र नगदको सम्मान पाउछन् । सधैं जितिन्छ नै भन्ने हुँदैन । हाम्रो स्तरको क्रिकेटमा अझ जति माथि गयो उति उपाधि जित्ने सम्भावना कम हुन्छ,’ रोहितले सम्झौता कार्यक्रममा भने, ‘त्यसैले यस्तो खाले सम्झौताले खेलाडीलाई धेरै मोटिभेट गर्छ । मेरो जेन नेक्स्टसागको सम्झौताले अरू क्रिकेटर वा अन्य खेलका खेलाडीलाई पनि यो बजारमा प्रवेश गराउन मद्दत गर्न सक्ने आशा लिएको छु ।’

कप्तान रोहितले सन् २०१८ मा एमस्ट्राडाममा नेदरल्यान्ड्सविरुद्ध आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए । त्यसयता उनले ४६ खेलमा १ हजार ३ सय २६ रन बनाइसकेका छन् । उनी नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । सन् २०२२ को सेप्टेम्बरदेखि रोहित नेपाली राष्ट्रिय टोलीका कप्तान छन् ।

रोहितको कप्तानीमा नेपालले विश्वकप लिग २ को अन्तिम १२ मध्येको ११ खेल जित्दै सोझै विश्वकप छनोटमा पुगेको थियो । रोहितकै कप्तानीमा नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपका लागि छनोट भएको छ ।

यो भर्खरै खुलेको कम्पनी हो भए पनि क्रिकेटकै पृष्ठभूमिबाट आएकाले नेपाली क्रिकेटसँग आबद्ध हुन पाउनुलाई आफूले जिम्मेवारीको रुपमा लिएको जेन नेक्स्टका प्रमुख अस्लामले जनाए । उनले भने, ‘दुई पटक कीर्तिपुरमा गएर नेपालले यूएई र पपुवा न्यु गिनीसँगको खेल हेरेपछि रोहितको प्रदर्शन र नेतृत्व दुवैबाट प्रभावित भए, जसको कारण हामी रोहितलाई आफ्नो ब्रान्ड एम्बासडर बनाउने अभियानमा पुग्यौं ।’

प्रकाशित : जेष्ठ १५, २०८० १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?