१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

अर्जुन र किशोर नेपालको टोलीमा

काठमाडौँ — अर्जुन साउद र किशोर महतोलाई समेट्दै नेपालले विश्वकप क्रिकेट छनोटका लागि १६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । विश्वकप छनोट जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा आयोजना हुँदै छ ।

अर्जुन र किशोर नेपालको टोलीमा

प्रतियोगिताका लागि १५ जना खेलाडी टोलीमा राख्न पाउने प्रावधान रहे पनि नेपालले १६ जना राखेको छ र एक खेलाडी जिम्बावेमा वैकल्पिक मात्र रहनेछन् । अघिल्लो महिना घरेलु मैदानमा एसीसी प्रिमियर कप जित्दै एसिया कपका लागि छनोट भएको १४ सदस्यीय टोलीलाई यथावत् राखेको छ । रोहित पौडेलको कप्तानीमा रहेको घोषित नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जीसी, ललित राजवंशी, अर्जुन र किशोर नेपाली टोलीमा समेटिएका छन् ।

नेपाली टोलीको बन्द प्रशिक्षणमा सन्दीप जोरा, देव खनाल, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम) ढकाल र अविनाश बोहरा रहेका थिए । एक साताको प्रशिक्षणपछि नेपालले मंगलबार दक्षिण अफ्रिका जाने तयारी गरेको छ । नेपालले दक्षिण अफ्रिकामा १० दिन बन्द प्रशिक्षण गरेपछि जिम्बावे जाने योजना छ । १० टोली सहभागी हुने छनोटबाट शीर्ष दुई टोलीले यसै वर्ष भारतमा हुने विश्वकपमा स्थान पाउनेछन् ।

नेपालसँगै विश्वकप छनोटमा वेस्ट इन्डिज, जिम्बावे, नेदरल्यान्ड्स, अमेरिका, श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएईले प्रतिस्पर्धा गर्दैछन् । नेपाल समावेश समूह ‘ए’ मा वेस्ट इन्डिज र जिम्बावेसहित नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । त्यस्तै समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई छन् । समूह ‘ए’ का खेल हरारे र समूह ‘बी’ का खेल बुलावायोमा हुनेछन् ।

प्रकाशित : जेष्ठ १५, २०८० ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?