कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं किकर्सको पहिलो जित

म्युनिक — काठमाडौं किकर्स फुटबल एकेडेमीले जर्मनीको म्युनिकस्थित मामेन्डर्फमा फिन्च्त जुनियर फुटबलको ५४ औं संस्करण ‘भीआर बैंक कप २०२३’ को दोस्रो दिन टीएसभी गेर्नलिन्डेनलाई १–० ले पराजित गरेको छ । किकर्सले प्रतियोगिताको पाँचौं खेलमा आएर पहिलो जित हात पारेको हो ।

काठमाडौं किकर्सको पहिलो जित

यू–१३ प्रतियोगिताको समूह २ मा रहेको काठमाडौं किकर्सले रितेश रोकायको पेनाल्टी गोलमा पहिलो जित दर्ता गरेको हो । जर्मन टिमका डिफेन्सले फल गरेपछि पाएको पेनाल्टीमा डोल्पाका १२ वर्षीय रितेशले सहजै बललाई पोस्टको दिशा दिएपछि किकर्सले सुरुआतमै अग्रता लिएको थियो । त्यसलाई जोगाउादै किकर्सले २० मिनेटको खेल जितेको हो ।

किकर्सले दोस्रो दिन आइतबारको पहिलो खेलमा एफसी ल्यान्ड्सबरिडविरुद्ध गोलरहित खेल्दै लगातार हारको शृंखलालाई तीन खेलमा पूर्णविराम लगाएको थियो । उक्त खेलमा गोलकिपर मिन्जेला शेर्पाले उत्कृष्ट प्रदर्शन गरेका थिए । पहिलोपल्ट विदेश यात्रा गरेको काठमाडौं किकर्सले प्रतियोगिताको पहिलो दिन शनिबार तीन खेल खेलेको थियो र तीनै खेलमा हार बेहोरेको थियो । यस्तोमा किकर्स एसभी सिलेन्बाखविरुद्ध २–०, एससी उन्टरफाफेनहोफेनविरुद्ध ५–० र इचिङविरुद्ध २–१ ले पराजित भयो ।

कपअन स्पोर्ट्स सेन्टर, कपन मुख्य प्रशिक्षण स्थल रहेको काठमाडौं किकर्सले सुरुका दुई खेलमा फितलो प्रदर्शन गरे पनि उन्टरफाफेनहोफेनविरुद्ध लय समात्यो र राम्रो चुनौती पनि दियो । विशांख कार्कीले गोल गर्दै लिएको १–० को अग्रता भने जोगाउन सकेन र अन्तिम क्षणमा गोल बेहोरेपछि हार्न पुगेको थियो । दोस्रो दिन भने सुधारिएको प्रदर्शन गर्‍यो । जर्मन टिमविरुद्ध शारीरिक रूपमा नेपाली खेलाडी निकै साना र कमजोर देखिए ।

प्रतियोगितामा एक्लो विदेशी र पहिलो नेपाली टिमका रूपमा सहभागी काठमाडौं किकर्सले यू–१३ तर्फ समूह चरणमा सात खेल खेल्दै छ । यो उमेर समूहमा १६ टिम छन् । दुई समूहका शीर्ष टिमले फाइनल खेल्नेछन् भने दुई उपविजेताले दोस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । एसभी मामेन्डर्फका पााचवटा मैदानमा २० क्लबका ६४ टिमले यू–६ देखि यू–१५ सम्मका विभिन्न उमेर समूहका तीनदिने प्रतियोगिता सोमबार सकिनेछ । चारपल्ट विश्वप फुटबलको उपाधि जितेको जर्मनीमा सन् १९६७ मा सुरु भएको यो प्रतियोगितामा नेपाली टिम पहिलोपल्ट सहभागी भएको हो ।

प्रकाशित : जेष्ठ १५, २०८० ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?