गोदावरी नगरपालिका च्याम्पियन


धनगढी — कैलालीको गोदावरी नगरपालिकाले कैलाली प्रिमियर लिग अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा गोदावरीले टीकापुर नगरपालकिालाई शनिबार ५ विकेटले पराजित गर्यो ।


टीकापुरले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट क्षतिमा ८६ रनमात्र जोड्न सक्यो । यादव साउदले २८ बलमा सर्वाधिक २१, रक्षित वमले १३ र सञ्जय रावलले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । गोदावरीका सुशील साउद र सन्तोष कार्कीले ३/३ तथा फिर्दोष अन्सारीले २ विकेट लिए ।
गोदावरीले १५.१ ओभरमै लक्ष्य भेट्टायो । गोदावरीबाट फिर्दोष अन्सारीले ३४ बलमा अविजित २३, शैलेश कठायत १८ बलमा २० र दीपेश कँडेलले १२ बलमा अविजित १७ रन बनाए । टीकापुरका पारस तिमिल्सिनाले २ विकेट लिए । उपाधिसँगै गोदावरीले १ लाख ५० हजार तथा उपविजेता टीकापुरले ७५ हजार रुपैयाँ प्राप्त गरे । जेठ ७ गतेदेखि धनगढीको फाप्ला मैदान र लम्कीको व्यवस्थित नगर खेलमैदानमा प्रतियोगिता आयोजना भएको थियो ।
