कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

उपाधि होड फेरि खुला

सहिद स्मारक लिगमा शनिबारका खेलपछि रेलिगेसन क्षेत्रमा पनि चर्को संघर्ष
मछिन्द्र १–१ आर्मी
एपीएफ २–० जावलाखेल
संकटा १–० चर्च ब्वाइज
हिमेश

काठमाडौँ — कति नजिक तर अझै कति टाढा । सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष तीन स्थानमा रहेका टिमले यही अनुभव गरेको हुनुपर्छ । चर्च ब्वाइज, मछिन्द्र र जावलाखेल तीनै टिम शनिबार मैदानमा उत्रिए । त्यसमध्ये चर्च ब्वाइज र जावलाखेल पराजित भए । मछिन्द्र भने आर्मीसँग ‘भाग्यमानी’ बराबरीमा रोकियो । यी नतिजाले लिग उपाधिको होड फेरि एकपल्ट खुला भएको छ । रेलिगेसन तनाव पनि उत्तिकै खुला भएको छ ।

उपाधि होड फेरि खुला

लगातारको वर्षाबीच दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइज रेलिगेसनबाट बच्न संघर्षरत संकटासँग पराजित भएको हो । त्यही मैदानमा भएको पहिलो खेलमा जावलाखेलमाथि एपीएफले जित रच्यो । च्यासल रंगशालामा बराबरी नतिजा निकाल्न मछिन्द्रलाई आर्मीको आत्मघाती गोलको मदत रह्यो । शनिबारका यी नतिजापछि चर्च ब्वाइज ३८ अंकमा शीर्षस्थानमै रह्यो । तर, शीर्षमा चर्चको अग्रता २ अंकमा छोट्टिएको छ ।

दुईपल्टको डिफेन्डिङ च्याम्पियन मछिन्द्रको ३६ अंक भएको छ । जावलाखेल ३४ अंकसहित तेस्रो स्थानमा रह्यो । संकटाको जितमा युसुफ इद्रिसले ६९ औं मिनेटमा निर्णायक गोल गरे । आर्मीले मछिन्द्रविरुद्ध १७ औं मिनेटमा दिनेश हेमजनको गोलमा अग्रता लिएको थियो । तर युद्ध शाहीले ६० औं मिनेटमा आत्मघाती गोल गरेपछि मछिन्द्र एक बहुमूल्य अंक बटुल्न सफल रह्यो । एपीएफको जितमा भने आर्मन्ड विडोमले २३ र आवास लामिछानेले पहिलो हाफको इन्ज्युरीको दोस्रो मिनेटमा गोल गरे ।

रेलिगेसनमा पनि चर्को संघर्ष

पछिल्लो समय शीर्ष तीन स्थानमा रहेका टिमले लय गुमाएका छन् । चर्च ब्वाइज पछिल्ला ३ खेलमा जितविहीन छ । यी तीन खेलमा टोलीले जम्मा २ अंकमात्र बटुलेको छ । मछिन्द्रले पनि पछिल्ला दुई खेलमा लगातार बराबरी खेलेर २ अंकमात्र बटुलेको छ । जावलाखेलको प्रदर्शन अझ त्यो भन्दा खराब रह्यो । जावलाखेल पछिल्ला ५ खेलमा जितविहीन छ । टोलीले यी खेलमा उपलब्ध १५ अंकमध्ये ४ अंकमात्र प्राप्त गर्न सक्यो ।

उपाधिका लागि जसरी होड खुला बनेको छ, त्यत्तिकै प्रतिस्पर्धा रेलिगेसनबाट बच्न पनि चलिरहेको छ । संकटाको पछिल्लो जितले यस्तो समीकरण तयार भएको हो । जितपछि संकटाले रेलिगेसन क्षेत्र छाडेको छ । संकटाको २६ अंक भएको छ । अहिले तत्कालका लागि संकटा ११ औ स्थानमा उक्लेको छ । संकटा पहिलो पटक २१ औं चरणको अन्त्यमा रेलिगेसन क्षेत्रमा झरेको थियो । यस्तोमा फ्रेन्ड्स फेरि रेलिगेसनमा क्षेत्रमा झरेको छ ।

त्यतिमात्र होइन, फ्रेन्ड्सको ठीकमाथि मनाङ मर्स्याङ्दी झरेको छ । कीर्तिमान आठपल्टको लिग च्याम्पियन मनाङमाथि पनि चर्को दबाब सिर्जना भएको छ । मनाङको २४ अंक छ । टोली १२ औं स्थानमा

रह्यो । लय गुमाएको टिममा मनाङ पनि हो । मनाङले पनि पछिल्ला ७ खेलमा लगातार बराबरी खेलेको छ । त्यसअगाडि मनाङ लगातार ६ खेलमा पराजित थियो । खुमलटार भने २१ अंकसहित अन्तिम स्थानमा छ ।

सल्यानको स्थानमा रवीन्द्र

त्यसै भनिएको होइन, फुटबलमा प्रशिक्षक भनेकै बर्खास्त गर्नका लागि नियुक्त गरिन्छ । नेपाली घरेलु लिगमा बर्खास्तको चलन त सुरु भएको छैन । तर, शृंखलाबद्ध खराब नतिजापछि प्रशिक्षक आफैंले पद भने छाड्ने गरेका छन् । यही सूचीमा थपिएका छन्, सल्यान खड्गी । संकटा रेलिगेसन क्षेत्रमा झरेलगत्तै सल्यानले छाडे । सल्यानको नेतृत्वमा संकटाले खेलेका पछिल्ला ५ खेलमा जित निकाल्न सकेन । यसबीच संकटाको नाममा ३ अंकमात्रै चढेको थियो ।

लिग सुरु हुनुअगाडि संकटालाई उपाधि दाबेदार मानिएको थियो । तर, लगातारको खराब प्रदर्शनले संकटा रेलिगेसन पर्न सक्ने टिम बनेको थियो । नयाँ प्रशिक्षकका रूपमा डेब्यु खेलमै रवीन्द्र सिलाकार जित निकाल्न सफल रहे । प्रश्न हुनसक्छ, को हुन् रवीन्द्र ? खेलाडीका रूपमा उनी परिचित नाम होइनन् । उनले ‘बी’ र ‘सी’ डिभिजनमात्र खेलेका छन् । उनले कुमारीका लागि ‘बी’ र चक्रपथका लागि ‘सी’ डिभिजन खेले । तर, उनलाई प्रशिक्षणमा प्राविधिक रूपमा उम्दा मानिन्छ ।

प्रशिक्षकको ‘ए’ लाइसेन्सप्राप्त गर्ने पहिलो पुस्तामा उनी पनि पर्छन् । बालगोपाल महर्जन र उपेन्द्रमान सिंहसँगै । यसअघि संकटामा प्राविधिक सल्लाहकार रहेका रवीन्द्र अघिल्लो संस्करणको लिगमा थ्रीस्टारको सहायक प्रशिक्षक थिए । चर्च ब्वाइजलाई हराएयता उनले प्रतिक्रिया दिए, ‘यो जितले उत्साही छौं । अब हाम्रो उद्देश्य भनेको रेलिगेसनबाट बच्ने नै हो । अबका ४ खेलमा हामीले अंक नगुमाउने रणनीति बनाउने छौं । केही घाइते खेलाडी चोटमुक्त भइरहेका छन् । हामीसँग केही नयाँ खेलाडी पनि छ ।’

आजका खेल

  • सातदोबाटोविरुद्ध एनआरटी
  • मनाङविरुद्ध थ्रीस्टार

प्रकाशित : जेष्ठ १४, २०८० ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?