मामेन्डर्फमा नेपाली टिमको डेब्यू

राजु घिसिङ

म्युनिक — जर्मनीको म्युनिकस्थित मामेन्डर्फमा फिन्च्त जुनियर फुटबलको ५४ औं संस्करणको रुपमा ‘भीआर बैंक कप २०२३’ शनिबार सुरु भएको छ । प्रतियोगितामा एक्लो बिदेशी र पहिलो नेपाली टिमको रुपमा सहभागि काठमाडौं किकर्स फुटबल एकेडेमीले यू १३ तर्फ सुरुका तीनै खेल हारेको छ ।

मामेन्डर्फमा नेपाली टिमको डेब्यू

पहिलोपल्ट बिदेश यात्रा गरेको काठमाडौं किकर्सले पहिलो खेलमा एसभी सिलेन्बाखविरुद्ध २–० को हार बेहोर्यो । नेपाली युवा खेलाडीहरू जर्मन मैदानमा निक्कै अत्तालिएको देखिन्थ्यो । त्यसपछि दोस्रो खेलमा केही सुधारिएको प्रदर्शन गरेपनि उसलाई एससी उन्टरफाफेनहोफेनले सजिलै ४–० ले पराजित गर्यो । दिनको तेस्रो खेलमा काठमाडौं किकर्सले अघिल्ला दुवै खेल जितेको एफएसभी इचिङलाई भने कडा चुनौती दियो । तैपनि उसले हार टार्न भने सकेन ।

इचिङले १–० को अग्रता लिएपनि काठमाडौं किकर्सका युवा खेलाडीहरूले लय समात्दै अवसर सिर्जना गरेको देखियो र राम्रो चुनौती पनि दियो । विशांख कार्कीले गोल गर्दै किकर्सलाई १–१ को स्थितिमा पुर्‍याए । त्यसमा उनले अबिन भट्टराईको पास उपयोग गरे । बराबरी उन्मुख खेलको अन्तिम क्षणमा जर्मन टिमले गोल गरेपछि काठमाडौं किकर्सले २–१ को हार बेहोर्दै अंक जोड्ने प्रयास तेस्रो खेलमा पनि असफल भयो । इचिङको निर्णायक गोलसागै खेल समाप्त भयो । जर्मन टिमले शारीरिक रुपमा बलियोपनको फाइदा पनि लियो ।

काठमाडौं किकर्सका स्कटिस प्रशिक्षक ली मेन्सनले भने, ‘पहिलो प्रतियोगिता भएकोले हुनसक्छ, पहिलो खेलमा हाम्रा खेलाडीहरू अत्तालिएर खेल्दा स्वभाविक खेल प्रदर्शन गर्न सकेनन् । दोस्रो खेलमा चार गोल खाएपनि पास र टिम वर्कमा केही सुधार भएको छ । तेस्रो खेलमा राम्रो प्रदर्शन गर्यो । तर, अन्तिम क्षणमा सम्हालिन नसक्दा हार्नुपर्यो । बााकी खेलमा राम्रो प्रदर्शन गर्ने आशा गरेको छु ।’ म्युनिकस्थित स्पोर्ट्ससुले ओभरहाकिङमा तीन दिने दिने ट्रेनिङ क्याम्पमा तयारी गरेपछि भीअर बैंक कपमा उत्रिएको उनको टिममा नौ देखि १२ वर्षसम्मका खेलाडी छन् ।

काठमाडौं किकर्स सहभागि यु १३ प्रतियोगितामा दुई समूहमा गरी १६ क्लब छन् । प्रत्येक टिमले समूह चरणमा सात खेल खेल्नेछन् र हरेक खेल २० मिनेटको हुने छ । कपअन स्पोर्ट्स सेन्टर, कपन मुख्य प्रशिक्षण स्थल रहेको काठमाडौं किकर्सले दोस्रो दिन आइतबार पनि तीन खेल खेल्ने छ भने प्रतियोगिताको अन्तिम दिन सोमबार समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गर्ने छ । समूह विजेता दुई टिमले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । समूह चरणका दुई उपविजेताले दोस्रो स्थानको लागि खेल्ने छ ।

म्युनिकस्थित मामेन्डर्फको पााच वटा मैदानमा २० क्लबमा ६४ टिमले यू ६ देखि यू १५ सम्मका विभिन्न उमेर समूहमा लिग कम नकआउटको आधारमा तीन दिन प्रतिस्पर्धा गर्दैछन् । चारपल्ट विश्वप फुटबलको उपाधि जितेको जर्मनीमा सन् १९६७ मा सुरु भएको यो प्रतियोगितामा नेपाली टिम पहिलोपल्ट सहभागि भएको हो ।

प्रकाशित : जेष्ठ १३, २०८० २२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?