१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

रेलिगेसन तनाव टार्दै पुलिस

थ्रीस्टार क्लब इतिहासकै सबैभन्दा खराब लयमा
पुलिस ‘ए’ डिभिजन लिगमा कायम रहने अवस्थामा
हिमेश

काठमाडौँ — सम्भवतः नेपाल पुलिस क्लबलाई यसपल्ट फेरि रेलिगेसनको तनाव हुने छैन । पुलिसको माथिल्लो डिभिजनको हैसियत कायम रहने छ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार खुमलटार एफसीलाई हराएपछि पुलिस यो उपलब्धिको अवस्थामा पुगेको हो ।

रेलिगेसन तनाव टार्दै पुलिस

प्रशिक्षक चेतन घिमिरेले पनि भने, ‘अब भने हामी रेलिगेसनमा पर्ने छैनौ कि ?’ यो जितपछि पुलिसको २८ अंक भएको छ । टोली सातौं स्थानमा उक्लेको छ । पुलिस अंकतालिकाको सुरुआती आधा भागमा उक्लेको यो पहिलोपल्ट हो । पुलिसले सुरुका ११ खेलमा ६ अंकमात्र बनाएको थियो । पुलिसले १२ औं चरणमा मनाङलाई हराएयता लय समातेको हो । त्यसयताका १० खेलमा पुलिसले २२ अंक बटुलेको छ । पुलिसको यो आठौं जित हो ।

प्रशिक्षक घिमिरेले खेलपछि प्रतिक्रिया दिए, ‘सुरुमा लगातारको खराब प्रदर्शनपछि टिममा निराशा छाएको थियो । तर, अहिले टिम र खेलाडीमा आत्मविश्वास भरिएको छ । अब बाँकी खेलमा अहिलेकै लय कायम राख्न चाहन्छौं । अबको हाम्रो उद्देश्य यही हुनेछ ।’ पुलिसको यो पुनर्जागरणमा सबैभन्दा ठूलो कारण विदेशी खेलाडीलाई अनुबन्ध गर्नु रहेको छ । यसको ठोस प्रभाव दशरथ रंगशालामा शुक्रबार भएको खेलमा फेरि एकपल्ट देखियो ।

पुलिसको दोस्रो गोल विदेशी खेलाडीको नाममा रह्यो । मोहम्मद आसिकले ८८ औं मिनेटमा दोस्रो गोल गरेका हुन् । जुन खुमलटारका गोलरक्षक राजकुमार लिम्बुले राम्रोसँग क्लियर गर्न नसकेको स्थितिमा प्राप्त अवसर थियो । त्यसअगाडि भरत शाहले ७६ औं मिनेटमा हेडबाट गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

खुमलटारसँग १२ खेलाडीमात्रै फिट

पुलिससँग हारेपछि खुमलटारमाथि रेलिगेसनबाट बच्ने दबाब बढेको छ । अंकतालिकाको सबैभन्दा पुछारमा रहेको खुमलटार २१ अंकमै सीमित रह्यो । यो टोलीको १२ औं हार थियो । टिम सुरक्षित स्थानबाट ३ अंकको दूरीमा छ । खुमलटारको सबैभन्दा ठूलो समस्या भनेको फिट खेलाडीको अभाव रहनु हो । पुलिसको सामना गर्नु अगाडि खुमलटारले बुझाएको खेलाडी सूचीमा १९ को नाम मात्र थियो । त्यसमा पनि १२ खेलाडीमात्र फिट थिए ।

‘अहिले हामीलाई फिट खेलाडीकै समस्या भइरहेको छ । हाम्रा अधिकांश खेलाडी चोटग्रस्त छन् र अहिले तत्काल मैदानमा उत्रन सक्ने फिट खेलाडीको संख्या १२ मात्रै छ,’ सहायक प्रशिक्षक मदन सुब्बाले भने । खुमलटारको सबैभन्दा ठूलो समस्या मुख्य प्रशिक्षकमै रहेको छ । सुरुमा टिम हेरेका यामप्रसाद गुरुङ र त्यसपछि टिमको जिम्मेवारी पाएको विष्णु गुरुङले बीचमै छाडेपछि टिमले लय गुमाएको हो । सुरुआती केही खेलपछि सुब्बा स्वयं व्यक्तिगत कारणले घर फर्केका थिए ।

अहिले पनि टिमको पूरा जिम्मेवारी उनकै काँधमा छ । उनी आर्मीविरुद्ध १९ औं चरणको खेलपछि टिममा फर्केका छन् । अब लिगमा बाँकी ५ खेलमा उनी नै प्रशिक्षकको भूमिकामा हुनेछन् । उनले टिमको खराब प्रदर्शनमा क्लब व्यवस्थापनको पनि कमजोरी रहेको बताए । तर, उनी खुमलटार रेलिगेसनबाट बच्नेमा अझै विश्वास गर्छन् । उनले भने, ‘हामी खुमलटारलाई रेलिगेसनमा पर्न दिने छैनौं । अबका खेलमा हाम्रो उद्देश्य त्यहीअनुसार हुनेछ र टिममा नयाँ खेलाडी आउनेछन् ।’

थ्रीस्टारको खराब प्रदर्शन कायम

शुक्रबारकै अर्को खेलमा हिमालयन शेर्पाले थ्रीस्टारलाई १–० ले हरायो । दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा निशान लिम्बुले हेडबाट गोल गरेका थिए । यो जितले हिमालयनको २९ अंक भएको छ । यससँगै हिमालयन छैटौं स्थानमा उक्लन सफल रह्यो । टोलीको यो सातौं जित हो । पछिल्लो समय लयमा देखिएको हिमालयन पछिल्ला ५ खेलमा अपराजित छ । यी ५ खेलमा हिमालयनले ९ अंक बटुलेको छ । यसको ठीक विपरीत थ्रीस्टार खराब लयबाट गुज्रिइरहेको छ ।

थ्रीस्टार पछिल्लो १० खेलमा जितविहीन छ । थ्रीस्टारको यो लगातार तेस्रो हार हो । यी १० खेलमा उपलब्ध ३० अंकमध्ये थ्रीस्टारले ५ अंकमात्र बटुल्न सकेको छ । क्लब इतिहासमै यो अहिलेसम्मकै सबैभन्दा खराब लय हो । थ्रीस्टार २६ अंकमै सीमित रह्यो । टोली नवौं स्थानमा झरेको छ । यो पुछारको खुमलटारसँग ५ अंकको दूरीमात्रै हो । यो खेलसँगै लिगमा २१ औं चरणको खेल सकिएका छन् । चर्च ब्वाइज ३८ अंकसहित शीर्षस्थानमा छ ।

प्रकाशित : जेष्ठ १३, २०८० ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?