‘हाम्रा कुरा एन्फाले सुन्दैन’

कान्तिपुर संवाददाता

काठमाडौँ — के एन्फा गैंडाजस्तै हो त ? कुनै समय आफ्नै नेतृत्वमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले यस्तै आरोप लगाएका छन् । उनको गुनासो थियो, एन्फा नेतृत्व गैंडाको छालाभन्दा कडा छ, किनभने सहिद स्मारक लिग ‘ए’ डिभिजन खेलिरहेका क्लबको ठीक र जायज माग पनि बेवास्ता गरिरहेको छ । अझ शेर्पाको विश्लेषणमा त अहिलेको एन्फा आर्थिक रूपमा पूर्णतः असफलतातर्फ अग्रसर बनिरहेको छ ।

नेपाली माथिल्लो डिभिजन खेलिरहेका १४ मध्ये १० क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै एन्फाले आफ्ना समस्यालाई बेवास्ता गरेको आरोप लगाएका छन् । पूर्वअध्यक्ष शेर्पा हिमालयन शेर्पाका अध्यक्ष पनि हुन् । उनले अझ अहिलेको एन्फा नेतृत्वका लागि फुटबल प्राथमिकतामै नपरेको समेत दाबी गरे । क्लबको मुख्य गुनासो भने प्रतियोगिता खेलवापत आफूहरूले पाउनुपर्ने तयारी रकम समेत नपाएको थियो । क्लबले तीन चरणमा पाउनुपर्ने रकममध्ये प्रतियोगिता सकिँदै लाग्दा एकै किस्तामात्र पाएको छ ।

संकटाका अध्यक्ष रहेका एन्फाका पूर्वमहासचिव इन्द्रमान तुलाधरले भने, ‘एन्फाले सहभागी क्लबलाई लिग सुरु हुनु अगाडि १५ लाख, १३ औं चरण सकिँदा १० लाख र लिग सकिएपछि साढे ७ लाख रुपैयाँ दिनुपर्ने हो । हामीले तीन किस्तामा पाउनुपर्ने ३२ लाख ५० हजार रुपैयाँमध्ये एकै किस्ता मात्र पाएका छौं । त्यसपछि केही भएको छैन ।’ उनले अझ दाबी थियो, एन्फाले लिगको खेलतालिकामा हेलचेक्र्याँइ मात्र गरेको छैन, खेल समय पनि मिलाउन सकेको छैन ।

‘हामीले पटक–पटक ज्ञापनपत्र बुझाएका छौं, तर एन्फाले हामीलाई वेवास्ता गरिरहेको छ,’ तुलाधरले थपे, ‘बजारमा क्लबले फिफा र एएफसीबाट आउने पैसा मागेको हल्ला छ, तर हामीले लिगवापत पाउने रकममात्र मागेका हौं । हामीले प्रायोजन, गेट टिकट कलेक्सन, टीभी प्रायोजनवापत आउने रकम मागेका हौं, किनभने यो हामीले खेलेर आउने रकम हो । हामीले म्याच–मनी पनि पाएका छैनौं । खेलाडीले प्लेयर अफ द म्याचको पैसा पनि पाएका छैनन् ।’

पत्रकार सम्मेलनमा उपस्थित पदाधिकारी दुईपल्टको डिफेन्डिङ च्याम्पियन मछिन्द्रसँगै चर्च ब्वाइज, खुमलटार, मनाङ मर्स्याङ्दी, संकटा, हिमालन शेर्पा, एनआरटी, फ्रेन्ड्स, सातदोबाटो र थ्रीस्टार रहेका छन् । जावलाखेलसँगै तीन विभागीय टिमका प्रतिनिधि भने पत्रकार सम्मेलनमा आएनन् । पूर्वमहासचिव तुलाधरले नेपालले एएफसी यू–२३ छनोटमा नखेल्नु पछाडि एन्फाले टिमको नाम नै दर्ता गराउन बिर्सेको हुनसक्ने आरोप समेत लगाए ।

पूर्वअध्यक्ष शेर्पाले एन्फा फिफा र एएफसीको सहयोगले मात्र चल्न नसक्ने बताए । उनको भनाइ थियो, ‘फिफा र एएफसीबाट आउने बजेट सीमितमात्र हुन्छ । थप बजेटका लागि एन्फाले मिहिनेत गर्नुपर्छ । एन्फाको उचित योजना र सही तरिका नहुँदा व्यवस्थापनमा नेपाली फुटबल ओरालो लागेको छ ।’ पत्रकार सम्मेलनमा उपस्थित क्लबले एन्फाले दिनुपर्ने सबै रकम प्राप्त नभए पनि प्रतियोगिता नै बहिष्कार भने नगर्ने जनाएका छन् ।

प्रकाशित : जेष्ठ १३, २०८० ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्

जर्मनीमा खेल्दै काठमाडौं किकर्सका युवा

राजु घिसिङ

म्युनिक — काठमाडौं किकर्स फुटबल एकेडेमीले जर्मनीको ५६ वर्ष पुरानो प्रतियोगिता भीआर–बैंक कपमा शनिबारदेखि प्रतिस्पर्धा गर्दै छ । म्युनिकमा तीन दिने ट्रेनिङ क्याम्प आयोजना गरेपछि प्रतियोगिता खेल्न लागेको हो ।

एसभी मामेन्डर्फद्वारा आयोजित प्रतियोगिता ५४ औं भीआर बैंक कपमा यू–६, यू–८, यू–९, यू–१०, यू–११, यू–१३ र यू–१५ गरी सात उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । काठमाडौं किकर्सको टिम यू–१३ मा सहभागी हुन म्युनिक आइपुगेको हो । १३ खेलाडीसहितको टिम मंगलबार जर्मनी आइपुगेको हो । स्कटिस प्रशिक्षक ली मेन्सनले सम्हालेको टिमले तीन दिन स्पोर्ट्ससुले ओभरहाकिङमा ट्रेनिङ क्याम्प सञ्चालन गरेपछि प्रतियोगिता खेल्न लागेको हो ।

कोभिड–१९ महामारीअघि इटाली, स्विट्जरल्यान्डलगायत युरोपका थुप्रै देश सहभागी प्रतियोगितामा यसपालि जर्मनीबाहिरको टिम नेपालमात्रै आएको आयोजकले जनाएको छ । प्रतियोगितामा काठमाडौं किकर्ससहित २० क्लबका ६४ टिम सहभागी छन् । तीन दिन चल्ने प्रतियोगितामा कुल २ सय ९० खेल हुनेछ । काठमाडौं किकर्सले प्रतिस्पर्धा गर्ने यू–१३ उमेर समूहमा १६ टिम छन् । यसमा आठ–आठ टिम गरी दुई समूहमा विभाजन गरिएको छ । त्यसैले सहभागी टिमले कम्तीमा सात खेल खेल्नेछ । समूहका शीर्ष तीन टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । लिग चरणको प्रतिस्पर्धा शनिबार र आइतबार हुनेछ भने फाइनलसहित नकआउट खेल सोमबार हुनेछ ।

कपअन स्पोर्ट्स सेन्टर कपनलाई मुख्यस्थल बनाएर काठमाडौं उपत्यकाका विभिन्न चार स्थानमा नियमित प्रशिक्षण गराउँदै आएको काठमाडौं किकर्सका अध्यक्ष नवीन पाँडेले यू–१३ टिमको जर्मन यात्राबारे भने, ‘नेपाली खेलाडीलाई युरोपको व्यावसायिक लिग खेल्न योग्य बनाउने हाम्रो दीर्घकालीन लक्ष्य हो । त्यसका लागि युवा खेलाडीलाई सानैदेखि अन्तर्राष्ट्रिय तहमै एक्सपोजर दिन आवश्यक छ र यसैका लागि हामीले यू–१३ टिमलाई भीआर बैंक कपमा आफ्नो स्तरको मापन गर्न जर्मनी ल्याएका हौं । यो यात्रा हाम्रो सुरुआत हो । अर्को वर्षदेखि यस किसिमका ट्रेनिङ क्याम्प र प्रतियोगितामा सहभागितालाई बढीभन्दा बढी बनाउने छौं ।’ किकर्स टिमले बिहीबार जर्मन महारथी बायर्न म्युनिकको रंगशाला आलियन्ज एरिना र बायर्न म्युजियमको भ्रमण गरेको थियो ।

प्रकाशित : जेष्ठ १३, २०८० ०६:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×