कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवनलाई स्वर्ण

कान्तिपुर संवाददाता

मकवानपुर — चितवनले दोस्रो वाग्मती प्रदेश खेलकुदमा शुक्रबार पुरुष क्रिकेटमा स्वर्ण जितेको छ । महिला क्रिकेटको उपाधि भने काठमाडौंले जितेको थियो । चितवनले घरेलु भूमि गौतम बुद्ध क्रिकेट मैदानमा शुक्रबार फाइनलमा ललितपुरमाथि ३६ रनको जित निकाल्यो ।

१ सय ६७ रनको लक्ष्य पछ्याएको ललितपुरले ८ विकेट गुमाउँदै १ सय ३० रनमा समेटियो । चितवनका दिवस आचार्यले ५ विकेट लिँदै ललितपुरको इनिङ्स धराशायी बनाए । दीपेश श्रेष्ठले दुई र गौतम केसीले एक विकेट लिए । ललितपुरका विवेक रानामगर २७, ओपनर आशुतोष घिरैया २५, रोनिम तिवारीले १६ र आरस तामाङले १४ रन बनाए ।

टस जितेको चितवनले ७ विकेटमा १ सय ६६ रन बनायो । गौतम केसीले ३६, पाल्देन लामाले ३४, जेनिश महत र प्रतीक श्रेष्ठले ३२ रन जोडेका थिए । ललितपुरका प्रसिद्धले ३, विवेक रानामगरले २, युनिस थापा र आदिल खानले १–१ विकेट लिए । काठमाडौंका इशान पाण्डे प्लेयर अफ द सिरिज भए । काठमाडौंकै मनोज यादव उत्कृष्ट बलर र चितवनका प्रतीक श्रेष्ठ उत्कृष्ट ब्याटर चुनिए ।

प्रकाशित : जेष्ठ १३, २०८० ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्

काभा च्यालेन्ज कप : नेपालको यात्रामा काजकिस्तान बाधक

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली राष्ट्रिय महिला भलिबल टोलीको काभा महिला भलिबल च्यालेन्ज कप जितेर उपाधि ह्याट्रिक गर्ने लक्ष्यमा काजकिस्तान सेमिफाइनलमै बाधक बनेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार नेपालले ५ सेट खेल्दै काजकिस्तानलाई खेल सुम्पन पुग्यो । यसअघि सेन्ट्रल जोनको रूपमा आयोजना भएको यस प्रतियोगिताको नेपाल दुईपल्टको च्याम्पियन हो ।

नेपालले घरेलु भूमिमा काभा च्यालेन्ज कप जित्दै ह्याट्रिकको लक्ष्य बनाएको थियो । तर एसियाको छैटौं वरीयताप्राप्त टोलीसामु नेपालले आफ्नो पकडमै रहेको खेल गुमाएको थियो ।

पहिलो सेटमा कडा प्रतिस्पर्धा गर्दै ३०–२८ ले विपक्षीलाई सुम्पेको नेपालले त्यसपछि लगातार दुई सेट (२५–१६, २५–१५) जितेर खेल नियन्त्रणमा लिएको थियो । तर, चौथो सेटमा काजकस्तिानले रणनीति परिवर्तन गर्‍यो भने नेपालको प्रदर्शन फितलो रह्यो । सुरुदेखि नै पछाडि पर्दा काजक खेलाडी हाबी भए । उनीहरूले सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै खेल २–२ को बराबरी ल्याए । अन्तिम सेटमा नेपालले थप दबाबमा पर्‍यो । निर्णायक सेट १५–७ ले सुम्पेपछि नेपाल सेमिफाइनलमै रोकियो ।

नेपालका बेल्जियन प्रशिक्षक जान डे ब्रान्टले भने पहिलो सेटमै खेल हारिसकेको स्मरण गराउँदै त्यो सेट जित्न सकेको भए सोझो सेटमा खेल जितिने तर्क गरे ।

उनले काजकिस्तान टोली भारतजस्तै सशक्त टोली भएकाले शारीरिक रूपमा उनीहरूले एडभान्जेज पाएको बताए ।

नेपालका लागि सरस्वती चौधरीले सर्वाधिक १७ अंक बटुल्दा उषा भण्डारीले १४, निरुता ठगुन्नाले १३ र साफिया पुनले ११ अंक बटुलेका थिए ।

फाइनल पुग्न नसकेको निराश देखिए पनि कप्तान अरुणा शाहीले प्रतियोगिताबाट स्तर उकासिएको बताइन् । उनले भनिन्, ‘प्रतिस्पर्धात्मक खेल खेलेका हौं । फाइनल पुग्न सकेनौं तर, हाम्रो स्तरमा धेरै सुधार आएको छ । पहिलाभन्दा व्यवस्थित र तीव्र गतिमा खेल्ने सक्ने भएका छौं । त्यो नै हाम्रो लागि उपलब्धि हो । फाइनल पुग्नु नै ठूलो होइन ।’ उनले भारत, काजकिस्तानजस्ता सशक्त टोलीको उपस्थितिले प्रतियोगिता विगतको भन्दा फरक रहेको सुनाइन् ।

अब काजकिस्तानले उपाधिका लागि आइतबार भारतको सामना गर्नेछ । भारतले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । नेपालले तेस्रो स्थानका लागि आइतबारै उज्वेकिस्तानसँग खेल्नेछ ।

प्रकाशित : जेष्ठ १३, २०८० ०६:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×