खेलकुद प्रतिभाबाट ६ खेलाडी सम्मानित

काठमाडौँ — युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार राष्ट्रिय खेलकुद प्रतिभाबाट ६ खेलाडीसहित ९ खेलकर्मीलाई नगदसहित सम्मान गरेको छ । सम्मानित हुनेमा प्रशिक्षक, निर्णायक र खेल चिकित्सक पनि छन् ।

खेलाडीतर्फ उसुका विश्व बुढामगर र मीना ग्लान, तेक्वान्दोका गीता विष्ट, नीरज देउवा र प्रेमकुमार दर्नाल तथा पारा बास्केटबलका रामबहादुर तामाङ सम्मानित भए ।
प्रशिक्षकमा करातेकी तारा गुरुङ श्रेष्ठ, निर्णायकमा तेक्वान्दोका दीपेन्द्र ढकाल र खेल चिकित्सकमा प्रा.डा. नवीसमान सिंह प्रधान सम्मानित भएका छन् । सबैलाई जनही १ लाखसहित सम्मान गरिएको हो ।
यसैबीच खेलकुद मन्त्रालयले खेल पत्रकारिता सम्मान तथा प्रोत्साहन पुरस्कार गरी १० जनालाई प्रदान गरेको छ । सेतोपाटीका सीताराम कोइराला खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भए । उनले ५० हजारसहित सम्मान थापे ।
प्रदेशतर्फ खेलपत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित हुनेमा कोशीबाट कान्तिपुर टेलिभिजनका अर्जुनकुमार सुवेदी, मधेशबाट इकागजका सन्जिवकुमार शाह, वाग्मतीबाट रेडियो कान्तिपुरका सुवास बिडारी, गण्डकीबाट आदर्श समाजका धनबहादुर गुरुङ, लुम्बिनीबाट आदर्श समाजकै विजय नेपाल, कर्णालीबाट अन्नपूर्णका ललितबहादुर बुढा र सुदूरपश्चिमबाट अनलाइन सुदूरआजका पूर्णबहादुर खड्का छन् । पत्रकारिता प्रोत्साहन पुरस्कार समावेशीतर्फ कान्तिपुर दैनिकका सुर्खेतकी ज्योति कटुवाल र पोखराका दीपक परियार सम्मानित भए । उनीहरूले २५ हजारसहित प्रशंसापत्र प्राप्त गरे ।
उनीहरूलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु, खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले सम्मान प्रदान गरे ।
प्रकाशित : जेष्ठ १२, २०८० २२:०४