कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

संन्यासबारे सोच्दै धोनी

काठमाडौँ — कप्तान महेन्द्रसिंह धोनीले आफ्नो संन्यासबारे निर्णय गर्न केही समय पर्खिने बताएका छन् । चेन्नईलाई दसौंपल्ट इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा पुर्‍याएयता धोनीले डिसेम्बरमा हुने प्रतियोगिताको खेलाडी लिलामीसम्म कुर्ने बताए । 

संन्यासबारे सोच्दै धोनी

धोनीले गुजरात टाइटन्सविरुद्ध मंगलबार आईपीएलको क्वालिफायर्स १ मा खेलेको खेल चेन्नइको गृह मैदान एमए चिदम्बरम स्टेडियममा अन्तिम पटक हुनसक्ने विश्सास गरिएको छ ।

घुँडाको चोटबाट गुज्रिरहेका ४१ वर्षीय धोनीले विकेटमा रन लिन कमै मात्र दौडेका छन् । खेलको अन्त्यमा दर्शकको अभिवादन स्वीकार्दै उनले संन्यासको संकेत गरेका हुन् । खेलपछिको अन्तर्वार्तामा उनले भने, ‘म अहिले नै भन्न सक्दिनँ । संन्यासबारे निर्णय गर्न ८–९ महिना बाँकी छ ।’उनले थपे, ‘डिसेम्बरतिर खेलाडी लिलामी हुनेछ । अहिले नै संन्यासलाई लिएर किन टाउको दुखाइरहने ? यसबारे सोच्न मसँग पर्याप्त समय छ ।’ पछिल्ला समय धोनीले माथिल्लो पंक्तिमा कमैमात्र ब्याटिङ गरेका छन् ।

उनी भारतीय क्रिकेटका सर्वाधिक सफल खेलाडी हुन् । उनकै नेतृत्वमा भारतले ट्वान्टी–२० र एकदिवसीय विश्वकप जितेको थियो । आफ्नो खेलजीवनको उत्कृष्ट समयमा उनी विजयी रन बटुल्ने खेलाडीका रूपमा स्थापित थिए ।

अहिले भने विकेटकिपर/ब्याटर धोनीले आफूलाई तल्लो आठौं क्रममा मात्र ब्याटिङका लागि ओर्लेका छन् । यसक्रममा उनले केही छक्का प्रहार गरेका छन् । गुजरातविरुद्ध उनले धेरै लामो समय ब्याटिङ गर्न पाएनन् । उनी दुई बल सामना गरेर आउट भए । उनले एकै रनमात्र बनाउन सके ।

धोनीलाई ‘क्याप्टेन कूल’ को नामले पनि चिनिन्छ । रवीन्द्र जडेजाले ब्याट र बल दुवैबाट उत्कृष्ट प्रदर्शन गरेपछि चेन्नई सुपर किंग्सले मंगलबार डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई १५ रनले पराजित गर्दै आईपीएलको फाइनलमा प्रवेश गरेको थियो । मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच शुक्रबार हुने क्वालिफायर्स २ को विजेतासँग चेन्नईले फाइनलमा खेल्नेछ ।

आकाश मधवालले ५ रन खर्चेर ५ विकेट लिएपछि मुम्बईले आईपीएलको दोस्रो प्लेअफमा बुधबार लखनउ सुपर जायन्ट्सलाई ८१ रनले हराएको थियो । हारसँगै लखनउ प्रतियोगिताबाट बाहिरिएको थियो ।

अस्ट्रेलियाका क्यामरुन ग्रिनले ४१ र सूर्यकुमार यादवले ३३ रन बनाउँदै ६६ रनको साझेदारी गरेपछि मुम्बईले पहिले ब्याटिङ गर्दै ८ विकेटमा १ सय ८२ रन बनाएको थियो । मधवालले ३.३ ओभरमा घातक बलिङ गरेपछि लखनउ १ सय १ रनमै अलआउट भयो । फाइनल आइतबार अहमदाबादमै हुनेछ । चेन्नई आईपीएल फाइनल खेल्न लागेको दसौंपल्ट हो ।

प्रकाशित : जेष्ठ १२, २०८० ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?