वाग्मती प्रदेश खेलकुद : सोहन र पेमा उत्कृष्ट बक्सर

कान्तिपुर संवाददाता

हेटौंडा — मकवानपुरका सोहन राई र काभ्रेकी पेमा लामा जारी दोस्रो वाग्मती प्रदेश खेलकुदको बक्सिङतर्फ उत्कृष्ट बक्सर भएका छन् । हेटौंडा कभर्डहलमा सम्पन्न बक्सिङ प्रतियोगितामा पुरुष ६३ केजी तौलमा सोहन र महिला ५७ केजीमा पेमाले स्वर्ण जितेका थिए । 

सोहनले फाइनलमा सिन्धुपाल्चोकका प्रज्वल श्रेष्ठलाई ५–० ले हराए । पेमाले भने फाइनलमा चितवनकी नतिशा थापामगरलाई ५–० ले हराइन् ।

प्रतियोगितामा काभ्रे ७ स्वर्ण, २ रजत र २ कांस्यसाथ टिम च्याम्पियन बन्यो । समान ३–३ स्वर्ण, रजत र कांस्यसाथ काठमाडौं दोस्रो भयो । तेस्रो स्थानमा रहेको भक्तपुरले ३ स्वर्ण हात पार्‍यो ।

पुरुष ४८ केजीमुनि काभ्रेका लक्ष्मण राईले स्वर्ण र लतिलतपुरका प्रकाश कठायतले रजत पदक जिते । पुरुष ५१ केजीमुनि काभ्रेका लालप्रसाद उप्रेती र ५४ केजीमा काठमाडौंका मदनकृष्ण डंगोलले स्वर्ण जिते । फाइनलमा लालप्रसादले मकवानपुरका शशि विक र मदनले काभ्रेका सुलभ डंगोललाई समान ५–० ले हराए ।

५७ केजीमा नुवाकोटका निरन्जन मोक्तानले फाइनलमा ललितपुरका रोशन आछामीलाई ३–३ ले हराएर स्वर्ण जिते । ६० केजी तौलमा ललितपुरका सागर दर्जी र ६७ केजीमा ललितपुरकै विकास रानामगरले मकवानपुरका अनिष मुलामीलाई अंकका आधार हराएर स्वर्ण जिते ।

पुरुषको ६७ केजी तौल समूहमा सिन्धुपाल्चोकका चन्द्रबहादुर तामाङलाई ५–० ले हराउँदै स्वर्ण जिते । ७५ केजीमा काठमाडौंका अश्विनधीरण श्रेष्ठले फाइनलमा नुवाकोटका आषिश पुडासैनी र ८० केजीमा सिन्धुपाल्चोकका निश्चल विष्टले सबिन महतलाई हराउादै स्वर्ण पदक प्राप्त गरे । ८६ केजी तौलसमूहमा भक्तपुरका विजय बाटाले काठमाडौंका आयुष अधिकारीलाई हराउादै स्वर्ण जिते । ९२ केजीमाथि काठमाडौंका सन्जोक गुरुङले पहिलो राउन्डमा नै काठमाडौंका शुभम पाठकलाई हराउादै स्वर्ण आफ्नो बनाए ।

महिलातर्फ ४८ केजीमा सिन्धुलीका रमिशा श्रेष्ठले फाइनलमा काभ्रेका पूर्णिमा तामाङ र ५० केजीमाथि भक्तपुरकी अस्मिता दुवालले काठमाडौंकी उर्वशी श्रेष्ठलाई हराउादै स्वर्ण पदक प्राप्त गरे । महिलाकै ५२ केजीमा भक्तपुरकी भावना भण्डारीलाई र ५४ केजीमा काभ्रेकी एलिना गर्बुजालाई हराउादै स्वर्ण पदक आˆनो बनाए । ६० केजीमा नुवाकोटकी रक्षा जिसीले फाइनलमा चितवनकी जस्मिन गुरुङलाई पहिलो राउन्डमा नै हराउादै स्वर्ण आˆनो बनाइन् । ६३ केजीमा काभ्रेकी जीविका थापा र ६६ केजीमा काभ्रेकै प्रतिशा राईले स्वर्ण पदक प्राप्त गरे ।

फाइनलमा जीविकाले काठमाडौंकी सञ्जना पुजारी र प्रतिशाले चितवनका तृष्णा गुरुङलाई हराए । ७५ केजीमा काभ्रेकी शिला महर्जनले फाइनलमा चितवनकी तनिशा महर्जनलाई हराएर स्वर्ण पदक जितिन् ।

प्रकाशित : जेष्ठ ११, २०८० २०:०२
प्रतिक्रिया
पठाउनुहोस्

शक्तिको दुरुपयोग गर्ने नेतृत्वमाथिको व्यंग्य 'म्याकबेथ म्यासाकर'

रीना मोक्तान

काठमाडौँ — पृष्ठभूमिमा विजय बिगुल गुन्जिन्छ । मञ्चमा देखापर्छन्, तीन वीचहरू (दुष्टात्मा)। त्यतिकैमा उनीहरू घेरा बनाउँदै गाउन थाल्छन्, 'हातमा हात, तिनीहरु विचित्र । सात समुद्र अनि भूतहरूको चित्र । यताउता, यताउता छरिएर छरपस्ट । तीन तिम्लाई, तीन उसलाई, तीन यसलाई । शान्त, शान्त, शान्त । आउँदै छन् हाम्रो प्रिय मित्र । टुट्यो टुनामुना, चल्यो हाम्रो मन्त्र' ।

त्यसपछि ती दुष्टात्माको भेट स्कटल्यान्डका बहादुर योद्धा म्याकबेथ (राजकुमार पुडासैनी) र उनका साथी ब्यांको (वियज आनन्द ताम्राकार) सँग हुन्छ । त्यही भेटमै उनीहरूले म्याकबेथलाई कुनै दिन स्कटल्यान्डको राजा हुने भविष्यवाणी गरिन्छ । ब्यांकोलाई आफ्नो छोरा म्याकबेथपछिको राजा हुने सुनाइदिन्छ । दुष्टात्माका कुरालाई म्याकबेथ र ब्यांकोले सुरुमा पत्याउँदैनन् । म्याकबेथलाई हेर्दै दुष्टात्माले दोहोर्‍याउँछन्, 'महाराज, महाराज, महाराज' । विलियम सेक्सपियरद्वारा लिखित नाटक 'म्याकबेथ'को दृश्य हो यो ।

सेक्सपियरको नाटकमा नेपाली संवाद ? झट्ट सुन्दा अचम्म लाग्न सक्छ । तर, मण्डला नाटकघरमा मञ्चनरत नाटक 'म्याकबेथ म्यासाकर' को रमाइलो पाटो नै यही हो । करिब २ घण्टा ४५ मिनेट लामो यो नाटकमा सेक्सपियरियन अंग्रेजी (क्लासिक टेक्स्ट) कै प्रयोग छ । नेपाली र विदेशी कलाकारको जम्बो टोलीले सेक्सपियर शैलीकै अंग्रेजी संवाद बोल्छन् । तर, जब-जब दृश्यका बिचमा कलाकारले नेपाली संवाद घुसाउँछन्, त्यसले नाटकमा मिठास भरिदिन्छ । त्यहीमाथि ओपेरा संगीतको सम्मिश्रणले त रंगप्रेमीलाई नौलो स्वाद नै पस्किदिन्छ । नेपाली संवादको घोलन नाटकमा सौन्दर्य थप्न मात्र होइन, वर्तमान नेपाली समाजसँग जोड्नलाई पनि प्रयोग गरिएको देखिन्छ । नाटकको अर्को दृश्य त्यसको उदाहरण हो, जहाँ सिवार्ड (आशान्त शर्मा) ले त्यो समयको परिस्थितिलाई मिटरब्याजपीडितको अवस्थासँग जोड्छन् ।

वान वर्ल्ड थिएटरकी संस्थापक डेबोरा मेरोला निर्देशित सेक्सपियरको यो ट्राजेडी ओपेरा संगीतको मिश्रणले पनि सुन्दर बनेको छ । नाटकमा प्रमुख कलाकारको भावनालाई ओपेरा गायक/गायिकाको स्वरले उठाइदिएको छ । प्रमुख कलाकारले गहिरो पीडा अनुभव गर्दा होस् या उनको अन्यौलता । जिस्सेपी भर्डीका इटालियन ‌ओपेरालाई नाटकमा चलाखीपूर्ण ढंगमा प्रयोग गरिएको छ । रोय स्टिभन्सले म्याकबेथ र एनालिसा विन्बर्गले म्याकबेथ पत्नीका लागि ओपेरामा स्वर दिएकी छन् । संगीत र भिजुअल प्रोजेक्सनका हिसाबमा पनि 'म्याकबेथ म्यासकर' मा गरिएको प्रयोग रोचक छ ।

सेक्सपियरले उबेला लेखेको नाटक अहिले किन मञ्चन गर्नुपर्‍यो ? प्रश्न आउन सक्ला । तर, त्यतिबेला सेक्सपियरले लेखेको यो नाटक वर्तमान नेपाली समाजसँग मिल्दो छ । नाटकमा सत्ता र शक्तिको भोकमा मानव कसरी दानवसम्म बन्छ भन्ने कुरालाई देखाइएको छ । सत्ताको लोभमा हुने षड्यन्त्र, घुसपैठ अनि खिचातानीले नेपाली राजनीतिलाई व्यंग्य गरिरहन्छ । शक्तिको दुरुपयोगले मानवताको अन्त्य कसरी हुन्छ, 'म्याकबेथ म्यासाकर' ले प्रस्तुत गरेको छ । सत्तामा बसेर शक्तिको दुरुपयोग गर्ने नेतृत्वलाई पनि यो नाटकले प्रश्न गरेको छ । अन्धविश्वास र उच्च महत्त्वाकांक्षाले मानिसलाई कहाँसम्म डोर्‍याउँछ भन्ने बुझ्न सेक्सपियरको यो नाटक हेरे पुग्छ ।

सेक्सपियरले लेखेको नाटकमा भविष्यवाणी र विचक्राफ्टका कुरा हुने नै भए । 'म्याकबेथ म्यासकर' मा पनि ती कुरालाई ध्यानपूर्वक प्रस्तुत गरिएको छ । युद्ध जितेर फर्कँदै गर्दा तीन दुष्टात्माले बाटोमा म्याकबेथ र ब्यांकोलाई भेट्छन् । त्यही भेटमा म्याकबेथलाई राजा हुने अनि ब्यांकोलाई उसको छोरा म्याकबेथपछिको राजा हुने भविष्यवाणी गरिन्छ । त्यसपछि शक्तिको लोभमा पत्नीसँग मिलेर म्याकबेथले राजा डंकनको हत्या गर्छन् । म्याकडफका परिवार सखाप पारिन्छन् । म्याकबेथ शक्तिको आडमा कसरी अन्धो बन्छन् ? उनको मनोविज्ञान, उनीविरुद्धको चाल, क्रोध र प्रतिशोधबीच खेलिने रगतको होली 'म्याकबेथ' को वियोगान्तमा देखाइएको छ ।

नाटकमा थुप्रै कलाकार छन् । तर, विदेशीले निर्देशकले निर्देशन गरेको यो नाटकमा नेपाली कलाकारलाई पनि राम्रै भूमिका दिइएको छ । नेपाली र विदेशी कलाकारको अभिनयले पनि सेक्सपियरद्वारा लिखित यो नाटक नौलो र सुन्दर बनेको छ । म्याकबेथको भूमिकामा राजकुमार पुडासैनीले गरेको अभिनय तारिफयोग्य छ । शेक्सपेरियन अंग्रेजीलाई पुडासैनीले संवादमा सक्दो मेहनत गरेको देखिन्छ । राजा डंकनको भूमिकामा सजग राणाले गरेको अभिनय दमदार छ । त्यस्तै, ब्यांकोको भूमिकामा वियज आनन्द ताम्राकार, सिवार्डको भूमिकामा आशान्त शर्मा, म्यालकमको भुमिकामा शिशिर सिवाकोटी र विचको भूमिकामा पशुपति राईको अभिनय प्रशंनीय पाटो हुन् । एन्डी डेभिसले लेडी म्याकबेथको चरित्रलाई न्याय दिने अभिनय गरेकी छन् । यो नाटक कास्टिङका पक्षमा पनि बलियो छ । ओपेरा संगीत मिश्रित यो नाटक आइतबारसम्मका लागि मण्डला नाटकघरमा मञ्चन भइरहेको छ ।

प्रकाशित : जेष्ठ ११, २०८० १९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×