मछिन्द्र र जावलाखेललाई घाटा

कान्तिपुर संवाददाता

काठमाडौँ — कहिलेकाहीं निकै अपेक्षा गरिएका खेलहरू नीरस हुने गर्छन् । मछिन्द्र र जावलाखेलबीच सहिद स्मारक ‘ए’ डिभिजन लिगको बुधबार भएको खेल यस्तै रह्यो । उपाधि होडमा रहेका दुवै टिमका लागि यो बराबरी घाटाको खेल रहनेछ ।

दशरथ रंगशालामा खेलको पहिलो हाफ त नितान्त नीरस रह्यो । दोस्रो हाफमा भने दुवैले सुधारिएको प्रदर्शन गरे । यसक्रममा दुईपल्टको डिफेन्डिङ च्याम्पियन मछिन्द्रका दुई प्रहार पोस्ट लागेको थियो ।

यो खेलको नतिजाले अंकतालिकामा शीर्षस्थानको चर्च ब्वाइजलाई फाइदा हुनेछ । टोलीको ३७ अंक छ । टोली बिहीबार मनाङ मर्स्याङदीको सामना गर्नेछ । यो खेलको नतिजा जस्तै भए पनि चर्च ब्वाइज शीर्षस्थानमै रहनेछ । जित हात पार्न सके शीर्षमा टोलीको अग्रताले ५ अंक छुने छ । यो स्थिति तयार हुने हो भने मछिन्द्र र जावलाखेलले चर्च ब्वाइजलाई दबाबमा राख्न अझ मिहिनेत गर्नुपर्नेछ । दुवै टिमलाई भाग्यको साथ पनि चाहिन्छ ।

अहिले तत्कालका लागि भने मछिन्द्र र जावलाखेलका प्रशिक्षकको फरक मत रह्यो । मछिन्द्रका प्रशिक्षक किशोर केसीको भनाइ थियो, कम्तीमा बराबरीले आफ्नो टिम जावलाखेलभन्दा माथि रह्यो । मछिन्द्रको ३५ अंक छ । केसीले भने, ‘लिगमा अझै केही महत्त्वपूर्ण र कठिन खेल बाँकी छन् र यसमा जुनसुकै नतिजा आउन सक्नेछ । हामी आफ्नो प्रदर्शन राम्रो राख्दै स्थिति सुधार्ने छौं ।’ त्यसको अर्थ हो मछिन्द्रका लागि सबथोक बिग्रिएको छैन । जावलाखेलका प्रशिक्षक सुनील श्रेष्ठले माने, आफ्नो टिमका लागि उपाधि होडमा राख्न केही कठिनाइ हुनेछ । उनको भनाइ थियो, ‘आज हामी स्पष्ट जितसँगै ३ अंक हात पार्न आएको थियौं, तर सफल भएनौं ।’

जावलाखेल ३४ अंक लिएर तेस्रो स्थानमा छ । जावलाखेलको यो लगातार चौथो बराबरी हो । यस्तोमा टोलीले पछिल्ला ४ खेलमा सम्भव १२ अंकमध्ये ४ अंकमा चित्त बुझायो ।

बुधबार अन्य दुई खेलको नतिजाले भने रेलिगेसनबाट को बच्ने हो त्यसमै केन्द्रित रह्यो । एनआरटीले त्रिभुवन आर्मीलाई १–० ले हराएर आफ्नो स्थिति सुधारेको छ, यहीं संकटा भने एपीएफसँग २–१ ले पराजित रह्यो । दशरथ रंगशालामा एनआरटीका लागि कृतिश छुन्जुले ७९ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । यो कति धेरै महत्त्वपूर्ण रह्यो भने यसले टिमलाई रेलिगेसनबाट बच्न धेरै प्रेरित गर्नेछ ।

संयोगले यो जारी लिगकै ३ सय ५० औं गोल रह्यो । एनआरटीको २६ अंक भएको छ । आर्मी २९ अंकमै सीमित रह्यो । एनआरटीको छिमेकी क्लब संकटाविरुद्ध एपीएफको जितमा आवास लामिछाने नायक रहे । उनले २५ औं मिनेट र पहिलो हाफको इन्ज्युरी समयमा गोल गरे । संकटाका मनीष डाँगीले ५० औं मिनेटमा एक गोल फर्काए । एपीएफको २६ अंक भयो भने संकटा २३ अंकमै रोकियो ।

प्रकाशित : जेष्ठ ११, २०८० ०६:२६
प्रतिक्रिया
पठाउनुहोस्

‘खेलकुद राजनीतिमुक्त राख्छौं’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल ओलम्पिक कमिटीले बुधबार युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई स्वागतसहित सम्मान गरेको छ । सातदोबाटोस्थित एनओसी मुख्यालयमा अध्यक्ष जीवनराम श्रेष्ठले मन्त्रीद्वयलाई सम्मानपत्र हस्तान्तरण गरे । 

नवनियुक्त खेलकुदमन्त्री लिम्बूले खेलकुदलाई राजनीतिक विभाजनबाट मुक्त गरेर अगाडि बढाउँदा कुनै समस्या नहुने बताए । उनले खेलकुद क्षेत्रमा लाग्नेबाट त्याग र तपस्या आवश्यक रहेकामा जोड दिए । मन्त्री भण्डारीले ओलम्पिक कमिटी स्वायत्त र फरक संस्था रहेको बताए ।

एनओसी अध्यक्ष श्रेष्ठले अझै पनि खेलकुद ऐनअनुसार यसलाई अगाडि बढाउने चुनौती रहेको बताए । उनले ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदबीच कुनै विवाद नभएको पनि बताए । महासचिव नीलेन्द्रराज श्रेष्ठले नयाँ खेलकुद ऐनअनुसार नेपालमा एउटै मात्र ओलम्पिक कमिटी हुने बताए । कमिटीका मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधानले ओलम्पिकबारे प्रस्ट्याएका थिए ।

प्रकाशित : जेष्ठ ११, २०८० ०६:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×