‘खेलकुद राजनीतिमुक्त राख्छौं’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल ओलम्पिक कमिटीले बुधबार युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई स्वागतसहित सम्मान गरेको छ । सातदोबाटोस्थित एनओसी मुख्यालयमा अध्यक्ष जीवनराम श्रेष्ठले मन्त्रीद्वयलाई सम्मानपत्र हस्तान्तरण गरे । 

नवनियुक्त खेलकुदमन्त्री लिम्बूले खेलकुदलाई राजनीतिक विभाजनबाट मुक्त गरेर अगाडि बढाउँदा कुनै समस्या नहुने बताए । उनले खेलकुद क्षेत्रमा लाग्नेबाट त्याग र तपस्या आवश्यक रहेकामा जोड दिए । मन्त्री भण्डारीले ओलम्पिक कमिटी स्वायत्त र फरक संस्था रहेको बताए ।

एनओसी अध्यक्ष श्रेष्ठले अझै पनि खेलकुद ऐनअनुसार यसलाई अगाडि बढाउने चुनौती रहेको बताए । उनले ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदबीच कुनै विवाद नभएको पनि बताए । महासचिव नीलेन्द्रराज श्रेष्ठले नयाँ खेलकुद ऐनअनुसार नेपालमा एउटै मात्र ओलम्पिक कमिटी हुने बताए । कमिटीका मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधानले ओलम्पिकबारे प्रस्ट्याएका थिए ।

प्रकाशित : जेष्ठ ११, २०८० ०६:२५
प्रतिक्रिया
पठाउनुहोस्

काभा महिला भलिबल : सेमिफाइनलमा नेपालको भेट काजकिस्तानसँग

भारतसँग समूह चरणको अन्तिम खेलमा पराजित हुँदा नेपाल समूह विजेता बन्न सकेन
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा बलियो टोली काजकिस्तानलाई प्रतिद्वन्द्वी पाएको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबार समूह चरणको अन्तिम खेलमा दक्षिण एसियाको पावरहाउस भारतसँग ३–१ को सेटमा पराजित भएपछि नेपालले समूह ‘बी’ उपविजेता बनेको थियो ।

काजकिस्तान अर्को समूहको विजेता हो । टोली ‘बी’ का तीनै खेल जितेर समूह विजेता बनेको थियो ।

समूह ‘ए’ को विजेता भारतले भने समूह ‘बी’ उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ । दुवै खेल शुक्रबार हुनेछन् । घरेलु टोलीविरुद्ध भारतले २५–१२, २६–२२, २१–२५, २५–२१ को सेटमा नतिजा निकालेको थियो । १३ औं सागको फाइनलमा पनि नेपाललाई ३–२ सेटले हराएर भारतले स्वर्ण पदक जितेको थियो ।

बदला लिने लक्ष्यमा रहेको नेपालले पहिलो सेटमा बिर्सनलायक प्रदर्शन गर्‍यो । भारतले लगातार १० अंक बटुल्दा नेपालको खातामा १ अंक थियो । अरू सेटमा भेट नेपालले पुनरागमन गर्दै चुनौती दिएको थियो । पहिलो सेटमा नेपाली खेलाडी ब्लक, डिफेन्स, स्पाइक सबैतिर असफल भएका थिए ।

नेपालका बेल्जियन प्रशिक्षक जान डी ब्रान्टले पनि पहिलो सेटमा खेल्नै बिर्सिएजस्तो भएको सुनाए । उनले भने, ‘रणनीति, म्याच प्लान सबै बिर्सियौं पहिलो सेटमा । तर त्यसपछि अरू सेटमा हामीले कमब्याक गर्‍यौं । त्यसले एक किमिसको खुसी दिलाएको छ ।’

नेपालले दोस्रो सेटमा तीनपल्टसम्म बराबरीको टक्कर दियो । तेस्रो सेटमा १७–१७ अंकको बराबरी गर्दै सेट आफ्नो पक्षमा पारेको थियो । अन्तिम सेटमा २० अंकसम्म बराबरी खेलेको नेपालले त्यसपछि लगातार अंक गुमाएको थियो ।

नेपालकी कप्तान अरुणा शाहीले भारतसँगको हारबाट थुप्रै कुरा सिक्ने अवसर पाएको बताउँदै तयारीका बेला यत्तिको बलियो टोलीसँग खेल्न पाएको भए अहिले प्रतियोगितामा फाइट दिन सजिलो हुने बताइन् ।

प्रशिक्षक ब्रान्टले पनि भारतजस्तो बलियो टोलीसँग खेल्दा आफ्नो भरपूर क्षमता उपयोग गरेर खेल्नुपर्ने बताए । उनले भने, ‘साढे दुई महिनाको छोटो तयारीले यत्तिको बलियो टोलीसँग खेल्दा कमजोरीहरू हुन्छन् । तर, समग्र प्रदर्शनले भने मनोबल बढाएको छ । यसले अरू खेललाई उत्साह जगाउनेछ ।’

तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

प्रकाशित : जेष्ठ ११, २०८० ०६:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×