काभा महिला च्यालेन्ज कप : बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ — नेपाल महिला भलिबल टोली मंगलबार काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बंगलादेशविरुद्ध एकपक्षीय खेल प्रदर्शन गर्दै नेपालले एक खेलअगाडि नै अन्तिम चारको यात्रा गरेको हो ।

काभा महिला च्यालेन्ज कप : बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

समूह ‘ए’ मा रहेको नेपालले बंगलादेशलाई ३–० सेटले हरायो । अघिल्लो दिन नेपालले किर्गिस्तानलाई सोझो सेटमा रोक्दै विजयी सुरुआत लिएको थियो । दुईपल्टको साविक विजेता नेपालले मंगलबार २५–१०, २५–८, २५–९ ले सेट आफ्नो पक्षमा पारेको थियो ।

यसै समूहबाट भारतले पनि किर्गिस्तानमाथि सोझो सेटमा जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो । भारतले २७–१७, २५–८, २५–८ ले सेट जितेको थियो ।

समूह विजेता छिनोफानो बुधबार हुने नेपाल र भारतबीचको खेलले निर्धारण गर्नेछ । खेलेका दुवै खेल गुमाएका किर्गिस्तान र बंगलादेशले अब वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।

मंगलबारै समूह ‘बी’ को खेलमा काजकिस्तानले श्रीलंकाविरुद्ध प्रतिस्पर्धात्मक खेलमा ३–१ सेट विजय नतिजा निकालेको थियो । सुरुका दुई सेट २५–१६, २८–२६ ले आफ्नो पक्षमा पारेको काजकिस्तानले तेस्रो सेट १८–२५ ले गुमाएको थियो । चौथो सेटमा निक नै प्रतिस्पर्धात्मक चल्यो । त्यसमा २९–२७ ले काजकिस्तानले पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्‍यो । यो जितले काजकिस्तानको ६ अंक भएको छ । पहिलो खेलमा टोलीले माल्दिभ्सलाई हराएको थियो ।

माल्दिभ्स मंगलबार उज्वेकिस्तानसँग ३–० को सेटमा पराजित भएपछि समूह चरणबाटै बाहिरिएको छ । दिनको अन्तिम खेलमा उज्वेक टोलीले २५–१८, २५–१४, २५–४ को सेटमा नतिजा निकालेको थियो । यो जितपछि समूह ‘बी’ उज्वेक र काजकिस्तान सेमिफाइनल पुगेका छन् । बुधबार हुने यी दुईको खेलबाट समूह विजेताको टुंगो लाग्नेछ ।

तस्बिर : केशव थापा/कान्तिपुर

प्रकाशित : जेष्ठ ९, २०८० २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?