कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शीर्षमा टिक्न किन गाह्रो ?

हिमेश

काठमाडौँ — ‘कम्तीमा हामी नै अगाडि रहने छौं,’ चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले माने । तर, उनी ढुक्क हुन सकेका छैनन् । सहिद स्मारक लिग ‘ए’ डिभिजनमा चर्च ब्वाइजले सोमबार हिमालयन शेर्पालाई हराएको भए अग्रता ५ अंक हुन्थ्यो । १–१ को बराबरीले चर्च ब्वाइजको अग्रता ३ अंकमात्र भयो । 

शीर्षमा टिक्न किन गाह्रो ?

चर्च ब्वाइज ३७ अंकमै रह्यो र यो दोस्रो स्थानको मछिन्द्रमाथि ३ अंकको अग्रता हो । लिगको २० चरण समाप्तिमा चर्च ब्वाइज नै अगाडि रहनेछ । ‘हामी तीन अंक प्राप्त गर्नकै लागि खेलेका थियौं, तर सफल भएनौं । हाम्रो आक्रामणमा केही समस्या छ । हामी त्यसको समाधान गर्ने प्रयासमा छौं र यो आवश्यक छ,’ प्रशिक्षक महर्जनले थपे । उनलाई पनि एउटा प्रश्नले सताइरहेको छ । यो हो, शीर्षमा टिक्न कसैलाई किन गाह्रो भइरहेको छ ? लिगको २० चरण समाप्तिमा आइपुग्दा चार टिम शीर्षमा रहेका छन् ।

त्यसमध्ये चर्च ब्वाइज र जावलाखेल युथ समान आठपल्ट पहिलो स्थानमा रहे । सातदोबाटो र मनाङ मर्स्याङ्दी समान दुई चरण अगाडि रहेका छन् । नेपाली घरेलु फुटबलका सबैभन्दा सफल प्रशिक्षक महर्जनसँग उक्त प्रश्नको उत्तर छ । उनी भन्छन्, ‘यसपल्टको लिगमा सबैले लगातार खेलिरहनुपरेको छ । त्यसैले खेलाडी घाइते भएका छन् अनि थाकेका छन् । त्यसैले सबैको प्रदर्शन एकरुपको समान रहन सकेको छैन ।’ यो नै हो शीर्षमा टिक्न गाह्रो हुनुको कारण ।

यसै कारण अबको साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शन प्रभावित हुन सक्नेछ । प्रशिक्षक महर्जनले भने यसमा चिन्ता पोखे । उनको डर छ, ‘साफ च्याम्पियनसिपमा नेपाल कठिन समूहमा परेको छ । जहाँ भारत र कुवेतजस्ता ठूला टिम छन् । मलाई चिन्ता के छ भने हाम्रा खेलाडीले प्रतियोगिताअगाडि पर्याप्त आराम पाउने छैनन् । यसले प्रदर्शनमा प्रभावित हुन सक्नेछ । कम्तीमा पनि खेलाडीलाई दुई साताको आराम चाहिन्छ, जुन हाम्रा खेलाडीले पाउने छैनन् ।’

च्यासल रंगशालामा भएको खेलमा चर्च ब्वाइजले १३ औं मिनेटमा अञ्जन विष्टको गोलमा अग्रता लिएको थियो । पहिलो हाफकै ३६ औं मिनेटमा अबायोमी फाकुल्नेले हिमालयनका लागि बराबरी गोल फर्काए । हिमालयन भने २६ अंकसहित सातौं स्थानमा रह्यो । चर्च ब्वाइजसँग यो बराबरी धेरै अर्थमा हिमालयनका लागि राहतपूर्ण रह्यो, त्यसैले टोलीका प्रशिक्षक सुमन श्रेष्ठ सन्तुष्ट नै देखिए । उनले भने, ‘शीर्ष टिमविरुद्ध बराबरीको नतिजा ठीकै रह्यो ।’

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा त्रिभुवन आर्मीले फ्रेन्ड्समाथि सजिलै ३–० ले विजय नतिजा निकाल्यो । आर्मीका लागि जगजित श्रेष्ठले २६ औं मिनेटमा पहिलो गोल गरेयता नवयुग श्रेष्ठले ७५ औं मिनेटमा दोस्रो गोल थपे । दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा सुदील राईले तेस्रो गोल गरे । यो नतिजापछि आर्मीको २९ अंक भएको छ । टोली पाँचौं स्थानमा उक्लेको छ । फ्रेन्ड्स भने २१ अंकमा सीमित रहेर रेलिगेसन क्षेत्रमै रह्यो । टोल्मीाथि दबाब झन् बढिरहेको छ ।

प्रकाशित : जेष्ठ ९, २०८० ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?