कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुडोका १६ खेलाडी छनोट

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनमा हुने १९औं एसियाली खेलकुदका लागि नेपाली जुडो टोलीको दोस्रो चरणको छनोट भएको छ ।नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा भएको प्रतियोगिताबाट महिला र पुरुषतर्फ ४/४ तौल समूह गरी कुल १६ खेलाडी छनोट भए ।

पुरुष ६० केजीमुनि लुम्बिनी प्रदेशका विकास विक र कर्णाली प्रदेशका प्रवीणकुमार दियाली, ६६ केजीमुनि पुलिसका इन्द्रबहादुर श्रेष्ठ र आर्मीका किरण भट्टराई दोस्रो चरणका लागि छनोट भए ।

पुरुषकै ८१ केजीमुनि पुलिसका मदु रोक्का मगर र आर्मीका जंगबहादुर सारु तथा १०० केजीमाथि तौल समूहमा पुलिसका राजन जोशी र आर्मीका रन्जेश गोले छनोट भए ।

महिलातर्फ ५२ केजी तौलमा वाग्मतीकी देवकीमाया श्रेष्ठ र आर्मीकी रोशना दंगाल तथा ५७ केजीमुनि पुलिसकी मनिता श्रेष्ठ प्रधान र आर्मीकी सीमाकुमारी चिडी छनोट भएका छन् ।

७० केजीमुनि आर्मीकी पुनम श्रेष्ठ र वाग्मतीकी रन्जना खड्का तथा ७८ केजीमाथि आर्मीकी आकृति जोशी र पुलिसकी पूजा राजवंशी दोस्रो चरणका लागि छनोट भए । १९औं एसियाड चीनको हाङ्झाउ सहरमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुनेछ ।

प्रकाशित : जेष्ठ ८, २०८० २०:१०
प्रतिक्रिया
पठाउनुहोस्

अरण्यज्योति कप टी–२० को उपाधि पेलिकेण्ट्स तनहुँलाई

कान्तिपुर संवाददाता

पोखरा — अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा पोखरामा सम्पन्न लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० को उपाधि पेलिक्येण्टस् क्रिकेट क्लव, तनहुँले जितेको छ ।

सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आयोजक अरण्यज्योतिलाई ६९ रनले पराजित गर्दै तनहुँले उपाधि आफ्नो पोल्टामा पारेको हो ।

खेलमा पहिला व्याटिङ गरेको तनहुँले पूरा २० ओभरमा ४ विकेट गुमाएर १ सय ८८ रनको विशाल योगफल तयार पार्‍यो । तनहुँका प्रतिक श्रेष्ठले ५८, इशान पाण्डेले ४० तथा इश्वर क्षेत्रीले ३८ रनको योगदान दिए । अरण्यज्योतिका बलरहरु अमरसिंह राउटेला र विद्यान श्रेष्ठले समान २–२ विकेट लिए ।

यस्तै अरण्यज्योति १ सय १९ रनमा समेटिएको थियो । प्रतियोगितामा अरण्यज्योतिका अमरसिंह राउटेला म्यान अफ द सिरिज तथा वेष्ट व्याट्सम्यान भए । युनिस विक्रम सिंह बेष्ट बलर बन्दा प्रतिक श्रेष्ठ म्यान अफ द फाइनल भए ।

जितसँगै तनहुँले नगद ८० हजारसहित ट्रफी पुरस्कार पाउँदा अरण्यज्योतिले नगद ४० हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्‍यो । सर्वोत्कृष्ट खेलाडीले ५ हजार तथा अन्य उत्कृष्ट खेलाडीले नगद २५ सय पुरस्कार पाए ।

विजयी खेलाडीहरुलाई लुम्बिनी विकास बैंकका सञ्चालक रामचन्द्र सिग्देल, नेपाल क्रिकेट संघका सदस्य क्रषिराम गौतम, प्रदेश क्रिकेट संघ गण्डकीका अध्यक्ष देवेन्सन प्रजु, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सल्लाहकार विनोद लामिछाने लगायतले पुरस्कार वितरण गरे ।

आयोजक क्लवका अध्यक्ष कमल मगरले प्रतियोगिता सफल पार्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगीहरुप्रति आभार व्यक्त गरे । क्रिकेट खेलाडी विजय भुजेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित : जेष्ठ ८, २०८० २०:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×