२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सहिद स्मारक लिग : थ्रीस्टारमाथि सातदोबाटो हाबी

काठमाडौँ — विलियम ओपोकुको दुई गोलसँगै सातदोबाटो युवा क्लबले सहिद स्मारक ए डिभिजन लिगमा शनिबार थ्रीस्टारलाई २–० ले पराजित गर्दै शीर्ष चारमा स्थान बलियो बनाएको छ ।

सहिद स्मारक लिग : थ्रीस्टारमाथि सातदोबाटो हाबी

सातदोबाटोले १९ खेलमा ८ जित, ५ बराबरी र ६ हार नतिजासहित २९ अंक बनाएको छ । एक स्थान गुमाएर पाँचौं पुगेको थ्रीस्टार ६ जित, ८ बराबरी र ५ हारको नतिजासहित २६ अंकमा सीमित रह्यो । आर्मीको पनि २६ अंक छ । डबल लिगमा सात चरणका खेल बााकी छँदा शीर्ष श्रेणीमा पहिलो सिजन खेलिरहेको चर्च ब्वाइज युनाइटेड ३६ अंकसहित ‘पोल पोजिसन’ मा छ । जावलाखेल युवा क्लब ३२ र डिफेन्डिङ च्याम्पियन मछिन्द्र ३१ अंकसहित शीर्ष तीनमा छन् ।

अघिल्लो चरणमा चर्च ब्वाइजविरुद्ध पराजय बेहोरेपछि उपाधि होडमा पछाडि परेको सातदोबाटोले दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको २४ औं मिनेटमा अग्रता लिएको थियो । थ्रीस्टारका गोलकिपर र डिफेन्सले क्लियर गर्न नसकेको बललाई अनमार्क रहेका ओपोकुले पोस्टको दिशा दिँदै सातदोबाटोलाई अगाडि बढाएका थिए ।

एक समय इंग्लिस क्लब पोर्टसमाउथमा केही समय बिताएका घानाका फुटबलर ओपोकुले दोस्रो गोल ४७ औं मिनेटमा गरे । उनले फ्रिकिकमा गोल गर्दै सातदोबाटोको जित निश्चित गरेका थिए । थ्रीस्टारका डिफेन्डर पिटर सेगुनले फरवार्ड दीपकराज सिंह ठकुरीलाई फाउल गरेपछि सातदोबाटोले उक्त फ्रिकिक अवसर पाएको थियो । प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले अवसर सिर्जना गरे पनि थप गोल गर्न सकेन ।

प्रकाशित : जेष्ठ ७, २०८० ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?