कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई वर्षमै च्याम्पियन

विनोद पाण्डे

काठमाडौँ — प्रमुख प्रतियोगिता खेल्न लागेको दुई वर्षमै मुकेश पाल शनिबार कान्तिपुर हाफ म्याराथनको उपाधि जित्न सफल भए । २०७४ सालमा नेपाली सेनामा आबद्ध भएपछि मात्र उनले दौडको अर्थ ठम्याएका थिए ।

दुई वर्षमै च्याम्पियन

उनको पुर्ख्यौली घर दार्चुला हो । अहिले बसाइ कञ्चनपुरमा सरेको छ । उनी सेनामा जागिर हुन घरतिर खुबै दौड्थे । सेना छानिएपछि सैन्य तालिमतिर जाँदा त्यहाँ पनि सधैं दौडिनुपर्‍यो । दौडमा राम्रो गर्न सक्छौं भनेर सबैले हौस्याउँथे । आफ्नो गणमा पनि उनी पहिलो हुन थागे । यसले उनलाई प्रेरणा भर्ने काम गर्‍यो । प्रतियोगितात्मक दौडिन लागेको उनले दुई वर्ष पूरा भयो ।

गत वर्ष उनी कान्तिपुर हाफ म्याराथनमा तेस्रो भएका थिए । गोपीचन्द्र पार्की र दीपक अधिकारीको पछाडि परे । मुकेशको दीपकसँगको प्रतिस्पर्धा फागुनमा गोकर्णमा सम्पन्न एसियन क्रसकन्ट्रीमा पनि रह्यो । पुरुष सिनियर १० किमि दौडमा दीपक पहिलो र मुकेश तेस्रो भएका थिए । दोस्रो स्थान जापानीले लिएका थिए । दीपक, मुकेश र दीपक सुहानले टिम इभेन्टमा नेपाललाई स्वर्ण दिलाएका थिए ।

दीपक र मुकेशको यो टक्करले शनिबार पनि निरन्तरता पायो । मुकेश १ घण्टा ६ मिनेट ४५ सेकेन्डको समय निकाल्दै विजेता बने । कान्तिपुर हाफ म्याराथनका रेस निर्देशक एवं एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङका अनुसार जडीबुटी पुगेका दीपकले मसल्स क्र्याम्प भएपछि दौड परित्याग गरेका थिए ।

मुकेश सुरुबाटै अगाडि थिए । आफूभन्दा माथिल्लो स्तरका खेलाडी दीपक अधिकारी, भारतीय सेनामा रहेका तीर्थ पुन भएकाले सुरुदेखि नै अगाडि दौडिन्छु भन्नेमा थिए मुकेश । ‘जति सक्छ सक्छ, नभएमा त्यहीअनुसार दौडन्छु भन्ने थियो,’ मुकेशले भने, ‘तीनकुने–कोटेश्वरसम्म हामी सँगै थियौं । त्यसपछि मैले अग्रता लिएको हो । पछि दीपक सँगै कोही हाराहारीमा आउनुभयो । सायद उहाँलाई केही समस्या आएपछि पछाडि पर्नुभयो र म अगाडि बढेको बढ्यै भएँ ।’


पहिला नै हाफ म्याराथनको अनुभव गरिसकेको भएर सुरुदेखि नै दौडिएर खेल्ने क्षमता उनमा थियो । यसभन्दा पहिला उनले ४–५ वटा हाफ म्याराथन दौडिसकेकाले मुकेशलाई आफ्नो क्षमता के हो भनेर थाहा थियो । नयाँ वर्षका दिन उनले धनगढी हाफ म्याराथन जितेका थिए । यसपालि उनको ध्यान अर्कैतिर पनि थियो ।

‘कोर्स कीर्तिमानबारे थाहा भएको भए त्यो कीर्तिमान पनि बनाउँथे होला,’ हरि रिमालले १ घण्टा ६ मिनेट ४१ सेकेन्ड राखेर बनाएको कान्तिपुर हाफ म्याराथनको कोर्स कीर्तिमानबारे उनले सुनाए, ‘यो कीर्तिमानबारेमा थाहा नभई दौडिँदा पनि ४ सेकेन्डले मात्र पछाडि रहें । कति समयमा दौडिने भनेर केही लक्ष्य बनाएको थिइनँ । प्रतिस्पर्धी हेरेर दौडिए पनि जित्छु भन्ने आशा थियो ।’

मुकेशलाई ठूलो समूह र राम्रा खेलाडीबीच दौडिन मज्जा लाग्छ । जहाँ आफ्नो उत्कृष्ट प्रदर्शन देखाउन सकिन्छ भन्ने बुझाइ छ । उनी एसियाली खेलकुदका लागि छनोटमा परेका छन् । १५ सय मिटरमा राष्ट्रिय कीर्तिमान बनाउने उनको लक्ष्य छ । एसियाली खेलकुदमा उनको लक्ष्य पनि त्यही इभेन्टमा छ ।

विदेशी उच्च स्तरका खेलाडीसँग कुद्न पाए राष्ट्रिय कीर्तिमान बनाउन सक्छु भन्ने विश्वासमा उनमा छन् । दुई वर्षअघि उनले भारतको नागल्यान्डमा दक्षिण एसियाली क्रसकन्ट्री खेलेका थिए । जहाँ तेस्रो भए । टिमतर्फ पनि नेपाल तेस्रो भएको थियो । यो मुकेशको पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो ।

कीर्तिमानका लागि दौडेथेँ : राजपुरा


कान्तिपुर म्याराथन मेरो यो पाँचौं दौड सहभागिता हो । दोस्रो पटक उपाधि जित्न सफल भएँ । मलाई पहिला कान्तिपुर हाफ म्याराथनमा शीर्ष ७ भित्र पर्न पनि गाह्रो हुन्थ्यो । एउटामा नवौं, अर्कोमा आठौं र अर्को एउटामा सातौं भएको थिएँ । तर, म अभ्यास निरन्तर गर्थें । प्रशिक्षण राम्रो हुँदै गएपछि दोस्रो पटक यो उपाधि जित्न सफल भएको छु ।

उपाधि जिते पनि मैले आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सकिनँ । गत वर्षभन्दा १० सेकेन्ड ढिला भयो । कोर्स कीर्तिमान बनाउँछु भन्ने सोचिरहेको थिएँ । कोसिस थियो, तर खुट्टा दुखाइका कारण कोर्स कीर्तिमान बनाउन सकिनँ । मैले १ घण्टा १८ मिनेटमा दौड पूरा गर्ने लक्ष्य बनाएको थिएँ । अहिलेको रुट अलिकति फरक छ, तीनकुने घुमाएर कोटेश्वरतर्फ लाग्नुपर्छ । पहिलो तीन संस्करण मैले यस कान्तिपुर हाफ म्याराथन दौडिँदा तीनकुने घुम्नु पर्दैनथ्यो । पछिल्ला दुई संस्करणमा तीनकुने घुम्दा २ सय मिटर जस्तो थपिएको छ ।

आफ्नै विभागकी राममाया बुढा पछिपछि थिइन् । तर, म आफ्नै हिसाबले दौडिरहेको थिएँ । म फर्केर नहेरी दौडिरहेँ, त्यसैले उसलाई मैले देखिनँ । मसँगै एकजना अफ्रिकी खेलाडी दौडिरहनु भएको थियो, मैले उहाँलाई कोटेश्वर पुगेपछि भेटेको हो । पछिल्लो १० किलोमिटर बाँकी हुँदा म १ घण्टा १८ मिनेटमा पुग्ने गरी दौडिन्छु, अलिकति तेज गतिमा दौडिनु न भनेको थिएँ । केटा मान्छेसँगै दौडिँदा केही फरक पर्छ भन्ने थियो । उहाँले त्यहीअनुसार गरिदिनुभयो, तर खुट्टा दुखाइका कारण लक्ष्यमा दौडिन सकिनँ । उहाँ केन्याका धावक हुनुहुँदो रहेछ । सहभागिता र प्रशिक्षणका लागि दौडिनुभएको रहेछ । उहाँले सायद नजित्ने भएपछि रेस पूरा गरौं भन्ने हिसाबमात्र दौडिएको हुनुपर्छ ।

मलाई कान्तिपुर म्याराथन विशेष लाग्छ । यसमा शीर्ष ६ विजेतालाई पुरस्कार दिने भएकाले मलाई त्यो मनपर्छ । यसपालि ‘गो ग्रिन’ नाराले झन् मलाई छोएको थियो । छेउछाउमा हरियाली भयो दौडिन सजिलो हुन्छ । श्वासप्रश्वास सजिलो हुन्छ, हामी पनि स्वस्थ हुन्छौं । विदेशमा जस्तै म्याराथनको रुटमा गाडीहरू नचलाउने हो भने अझ राम्रो हुन्थ्यो । हामीलाई राम्रो समय निकाल्न सजिलो हुन्थ्यो । गाडीहरू कुद्ने र आफ्नो छेउबाटै कुदाउने हुँदा बाधा पुग्छ । नेपालका प्रायः सबै रेसमा दौडिरहँदा बीचमा गाडी, स्कुटर, बाइक आइदिन्छ । यसले समस्या पर्छ ।

अबको मेरो लक्ष्य छनोट भएर एसियाली खेलकुद खेल्ने हो । मेरो खास इभेन्ट ५ हजार र १० हजार मिटर हो । त्यही मध्यम दूरीलाई तयारी गर्दै मैले कान्तिपुर हाफ म्याराथन जितेको हुँ । एसियाली खेलकुदमा पनि ५ र १० हजार मिटरमै छनोट हुन प्रयासरत छु । त्यसका लागि यो हाफ म्याराथनले राम्रो तयारी भयो । यसको प्रशिक्षणले मसल्स पनि बलियो हुन्छ ।

यसपालि कान्तिपुर हाफ म्याराथनमा सबैभन्दा बढी सहभागी भएको सुनिरहेको थिएँ । आउने संस्करणमा सहभागी अझै धेरै होस भन्ने चाहन्छु । जति सहभागी बढी भयो त्यति दौडिन मज्जा आउँछ र रमाइलो हुन्छ । माहोल पनि छुट्टै हुन्छ । पहिलाभन्दा पुरस्कार राशि पनि बढ्दै जाओस् ।

प्रकाशित : जेष्ठ ७, २०८० ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?