ऐश्वर्यले जित्दा यामी खुसी

ध्रुव तुलाधर

काठमाडौँ — यामी झाँक्रीमगर यसपालि अझै खुसी देखिइन् । गत वर्ष उपाधिमा ह्याट्रिक गरिसकेकी थिइन् । यसपालि भाग लिने कि नलिने भन्ने दोधार थियो । अन्तिममा नाम दर्ता गराइन् । शनिबार भएको ११ औं कान्तिपुर हाफ म्याराथनअन्तर्गत ३ किमि ह्विलचेयर रेसमा उनी दोस्रो भएकी थिइन् ।

ऐश्वर्यले जित्दा यामी खुसी

पहिलो स्थान ऐश्वर्य कुमालले ओगटिन् । अछामकी ऐश्वर्यको यस प्रतियोगितामा पहिलो सहभागिता थियो । उनले १० मिनेट ९.७८ सेकेन्डबाट रेस जितिन् । उनीभन्दा पछाडि अनुभवी यामी थिइन् । यामीले १० मिनेट ५१.०७ सेकेन्डको टाइमिङ निकालिन् । अर्का पहिलोपल्ट सहभागी पेमा गुरुङ (११ मिनेट २५.१० सेकेन्ड) तेस्रो भइन् ।

यामीको खुसी यसपालि अरूले जित्दा थियो । ‘मैले त उपाधि ह्याट्रिक गरेकी सकेकी थिएँ । अरूले पनि जित्यो भने प्रतिस्पर्धाको महत्व झन् बढ्छ,’ यामीले भनिन्, ‘मैलेमात्र जितें भने त अरूलाई जितिँदैन के भाग लिनु भन्ने भावना हुन्छ । यसपालि ऐश्वर्य बहिनीले जितिन् खुसी छु । नयाँ अवसर पाए पो उनीहरूको पनि मनोबल बढ्छ ।

२०६३ सालमा स्पाइनल ट्युमर (मेरुदण्डको रोग) को शल्यक्रिया गराएयता यामीको सहारा ह्विलचेयर बनेको छ । ह्विलचेयर बास्केटबलकी खेलाडीसमेत रहेकी यामी बागबजारस्थित एक निजी कम्पनीमा जागिर पनि गर्छिन् । उनी बास्केटबल खेल्नका लागि थाइल्यान्ड र भारत पुगिसकेकी छन् ।

यता, चार वर्षअघि ऐश्वर्यको जीवनमा एउटा बज्रपात आइपर्‍यो । दसैंका बेला घर लिपपोत गर्ने माटो खन्न जाँदा उनी ढिक्काले पुरिएर घाइते भएकी थिइन् । जतिबेला उनी १२ वर्षकी थिइन् । तीन महिनाजति अस्पतालमा बिताइन् । त्यसपछि शरीरको आधा भाग नचल्ने भयो । तीन वर्षयता उनी खेलकुदतिर लागेकी हुन् । उनले यसअघि बीआई फाउन्डेसनद्वारा आयोजित ह्विलचेयर रेस जितेकी थिइन् ।

‘यति ठूलो प्रतियोगिता जित्न सकें, एकदमै खुसी लागेको छ,’ १६ वर्षीया ऐश्वर्यले भनिन्, ‘यामी दिदीकै पथमा जान प्रेरित गरेको छ ।’ उनले स्पाइनल कर्ड एन्ड इन्ज्युरी नेटवर्क नेपालमा कक्षा ९ मा पढिरहेकी छन् । उनी बास्केटबल पनि खेल्छिन् । पढाइसँगै खेलकुदमा भाग लिइरहेको उनको लक्ष्य छ ।

प्रकाशित : जेष्ठ ७, २०८० ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?