३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

प्रधानमन्त्री दाहालले गरे ११औं कान्तिपुर हाफ म्याराथनको उद्घाटन

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर हाफ म्याराथनको उद्घाटन गरेका छन् । थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय परिसरमा प्रधानमन्त्री दाहालले बन्दुक पड्काएर म्याराथनको उद्घाटन सुरु गरेका हुन् ।

प्रधानमन्त्री दाहालले गरे ११औं कान्तिपुर हाफ म्याराथनको उद्घाटन

प्रधानमन्त्री दाहालले कान्तिपुर मिडिया ग्रुपले म्याराथनमार्फत वातावरण संरक्षणको क्षेत्रमा योगदान पुर्‍याएको बताए । साथै कान्तिपुर मिडिया ग्रुपले हरेक विकृति र विसंगतिविरुद्ध पनि निरन्तर आवाज उठाउँदै आएको प्रधानमन्त्री दाहालको भनाइ छ । यस वर्षको म्याराथनको नारा 'लेट्स गो ग्रिन टुगेदर' रहेको छ ।

हाफ म्याराथन (२१.१ किमि), कलेज रन (७ किमि), कर्पोरेट रन (५ किमि) र ह्विलचियर रन (३ किमि) गरी चार विधामा झन्डै ४ हजार ७ सय सहभागी हुने आयोजक कान्तिपुर पब्लिकेशन्स्ले जनाएको छ ।

सिटी म्याराथनको अवधारणामा राखिएको कान्तिपुर हाफ म्याराथनमा कलेज रन पहिलो पटक राखिएको छ । प्रतियोगितालाई नेपाल एथलेटिक्स संघले वार्षिक क्यालेन्डरमा राख्दै आएको छ ।

हाफ म्याराथन पुरुष र महिला दुवैका विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार, पाँचौंले १० हजार र छैटौं हुनेले ५ हजार रुपैयाँ पाउनेछन् ।

शारीरिक रूपमा फरक क्षमताका लागि हुने ह्विलचियरतर्फ पहिलोदेखि तेस्रो स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पाउनेछन् । कलेज रनतर्फ पहिलो दोस्रो र तेस्रो हुनेले केएफसीबाट फुड गिफ्ट भौचर पाउनेछन् । कर्पोरेटतर्फ विजेतालाई केएफसी र ह्याम्स हस्पिटलका तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । हाफ म्याराथन कान्तिपुरको मुख्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुनेछ ।

कान्तिपुर हाफ म्याराथनको प्रमुख प्रायोजक ग्लोबल आईएमई बैंक रहेको छ । सिटिजन लाइफ इन्स्योरेन्स, एपेक्स मेडिकल एन्ड इन्जिनियरिङ, केएफसी चिकेन, पिज्जा हट, होन्डा मोटरसाइकल, एनटीएनसी, नेपाल खाद्य संस्था, गमला घर, वेलडन एडभरटाइजिङ, हाम्रो बजार डटकम, ह्याम्स हस्पिटल पार्टनरका रूपमा रहेका छन् ।

गत वर्ष पुरुषमा एपीएफ क्लबका गोपीचन्द्र पार्की र महिलामा पुलिस क्लबकी राजपुरा पछाईंले उपाधि जितेका थिए । प्रतियोगिताका सफल खेलाडी महिलातर्फ आफूले भाग लिएका आठमध्ये ५ संस्करण जितेकी कान्छीमाया कोजू र चार उपाधि जितेका पुरुषतर्फ हरिकुमार रिमाल हुन् ।

प्रकाशित : जेष्ठ ६, २०८० ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?