साफ च्याम्पियनसिप ड्र : समूह कठिन, प्रशिक्षकको उत्साह बेग्लै

यसपालिको साफ च्याम्पियनसिप फुटबलमा विश्वकप खेलेको टिम कुवेत र लेवनानको प्रवेश
हिमेश

काठमाडौँ — अबको साफ च्याम्पियनसिप फुटबल २०२३ विशेष हुनेछ । यो फरक हुनेछ, विशेष पनि । किनभने दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा यसपालि यस क्षेत्रबाहिरका दुई टिमले खेल्दै छन् । यी आमन्त्रित टिम हुन् कुवेत र लेवनान ।

भारतको बैंग्लोरमा हुने साफ च्याम्पियनसिपको बुधबार नै ‘ड्र’ निकाल्ने काम भयो । नेपाल त्यो समूहमा परेको छ, जसमा विश्वकप खेलेको इतिहास बोकेको कुवेत छ भने डिफेन्डिङ च्याम्पियन भारत पनि त्यहीं छ । पाकिस्तान पनि छ । यो समूह ‘ए’ भयो ।

अर्को समूह ‘बी’ मा लेवनानसँगै बंगलादेश, भुटान र माल्दिभ्स छन् । तय छ यसपल्टको प्रतियोगिता यसअघिका संस्करणको तुलनामा माथिल्लो स्तरको हुनेछ । सेमिफाइनल पुग्ने समीकरण अलग हुनेछ । नेपाल माल्दिभ्समा भएको पछिल्लो संस्करणको उप–विजेता पनि हो । नेपालले दुई वर्षअगाडिको प्रतियोगितामा पहिलोपल्ट फाइनल यात्रा तय गरेको थियो । अबको प्रतियोगितामा नेपालको सम्भावना कस्तो हुने छ त ?

‘ड्र’ निस्केपछि यो प्रश्न अझ बढी सान्दर्भिक बनेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो भने उत्साही छन् । कान्तिपुरसँगको कुराकानीमा उनले भने, ‘पक्कै पनि समूह कठिन छ, हाम्रा लागि यो सजिलो हुने छैन । तर, म खुसी छु । निकै उत्साहित छु । हामीले आफूभन्दा माथिका टिमसँग खेल्नेछौं र यसक्रममा धेरै सिक्न पाउँछौं । त्यसैले पनि म अबको साफ च्याम्पियनसिपलाई निकै सकारात्मक छ् ु।’

मुख्य प्रशिक्षक भएयता उनको नेतृत्वमा नेपालले पहिलो ठूलो र आधिकारिक प्रतियोगिता खेल्दै छ । प्रतियोगिता असार ६ देखि १८ सम्म हुनेछ । नेपालको पहिलो खेल कुवेतविरुद्ध नै छ । यो नै प्रतियोगिताको उद्घाटन खेल हुनेछ । नेपालले असार ९ मा भारतको सामना गर्नेछ । त्यसपछि असार १२ मा नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रशिक्षक अल्बर्टो सबै प्रतिद्वन्द्वीप्रति सम्मान गर्छन् ।

उनी भन्छन्, ‘कुवेत निकै बलियो प्रतिद्वन्द्वी हुनेछ । टिमका प्रशिक्षक रुई बेन्टो निकै नाम चलेका पूर्वखेलाडी र निकै सम्मानित प्रशिक्षक हुन् । भारतविरुद्ध खेल्दा हामीले त्यहाँका घरेलु समर्थकको पनि सामना गर्नुपर्नेछ । पाकिस्तान भर्खरै अन्तर्राष्ट्रिय फुटबलमा फर्केको छ, तर उसका केही खेलाडी निकै राम्रा छन् । हामीले प्रत्येक खेललाई उत्तिकै महत्त्व दिन्छौं ।’

मूल प्रश्न नेपाल के सेमिफाइनल पुग्न सक्षम हुनेछ त ? यसमा अल्बर्टोको आफ्नै तर्क छ । ‘फुटबलमा सबै प्रकारका सम्भावना खुला हुन्छ । मैदानमा उत्रिँदा को कस्तो भनेर धेरै अर्थ नराख्न सक्छ । म फेरि ठूला नाम हुँदैमा त्यो टिमले राम्रो खेल्ने छ भन्ने विश्वास राख्ने पनि गर्दिनँ । त्यस अर्थमा नेपालको सम्भावना उत्तिकै छ,’ प्रशिक्षक अल्बर्टोले थपे ।

नेपालले साफ च्याम्पियनसिप खेल्नु अगाडि एउटा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल भने खेल्नेछ । जेठ १५ मा हुने यस खेलमा नेपालले फिलिपिन्सको सामना गर्नेछ । त्यस खेलपछि मात्र साफमा खेल्ने टिमले निश्चित आकार लिनेछ ।

‘लिगका कारण अहिले हामीले राम्रो तयारी गर्न पाइरहेका छैनौं,’ प्रशिक्षक मान्छन्, ‘हामीसँग समय कम हुनेछ ।’ यति ठूलो प्रतियोगिताअगाडि लिगको उत्तिकै व्यस्तता किन भन्ने पनि प्रश्न छँदै छ । आखिरमा लिगको मुख्य उद्देश्य भनेको राष्ट्रिय टिमलाई बलियो बनाउनु नै हो । तर, यसपल्टको सहिद स्मारक ‘ए’ डिभिजन लिगले यस्तो काम गरिरहेको छैन । सम्भवतः उनले बैंग्लोरका लागि उड्नु अगाडि मात्र नेपालको अन्तिम टिम घोषणा गर्नेछन् ।

प्रतियोगितालाई लिएर प्रशिक्षक अल्बर्टोले तीन रणनीतिक प्रशिक्षणसत्र भने सञ्चालन गरिसकेका छन् । ‘मुख्य कुरा टिमको प्रदर्शन हो र हामी उच्च प्रदर्शन गर्न तयार छौं र त्यसै अनुसार तयारी गर्नेछौं,’ उनले सुनाए । यसअघिका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी जस्तो उनी सामाजिक सञ्जालमा सक्रिय छैनन् । न त धेरै घुलमिल गर्ने खालका नै छन् । उनको व्यक्तित्व नै फरक छ । तर, उनले पनि एउटा विशेष अनुरोध गर्न भने बिर्सेनन् ।

उनले भने, ‘नेपाली राष्ट्रिय टिमले साफ च्याम्पियनसिप खेल्दै छ र यस्तो बेला हामीलाई सबैको समर्थन चाहिन्छ । अहिले धेरैले फुटबल संघको आलोचना गरिरहेका छन् । तर, फुटबलका विकासका लागि संघमात्र होइन मिडिया र समर्थकको पनि उत्तिकै योगदान हुन्छ । अबको साफ च्याम्पियनसिप नेपालका लागि मेरो पहिलो ठूलो प्रतियोगितामात्र हुने छैन, हाम्रा धेरै खेलाडीका लागि यो पहिलो ठूलो अवसर हुनेछ । त्यसैले उनीहरूप्रति सकारात्मक समर्थन र सहयोगका लागि मिडियाबाट अपेक्षा गर्छु । नेपाली फुटबल समर्थकबाट पनि यस्तै अपेक्षा रहेको छ ।’

प्रकाशित : जेष्ठ ४, २०८० ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्

हिमालले बोलाइरहन्छ पूर्णिमालाई

आठ हजार मिटरमाथिका हिमाल चढ्नु निकै ठूलो उपलब्धि हो । अझ यस्ता सबै हिमाल चढ्ने पर्वतारोही त ‘इलिट ग्रुप’ मा पर्छन् । ३१ वर्षीया पूर्णिमा श्रेष्ठले पछिल्लो पटक देखेको सपना पनि यही हो, यही विशिष्ट समूहमा पर्ने । 
हिमेश

काठमाडौँ — पूर्णिमा श्रेष्ठसँग एकै छिन मात्र कुराकानी गर्नुपर्छ, उनको एउटा बानी ठ्याक्कै थाहा भइहाल्छ । उनी प्रायः आँखामा आँखा जुधाएर कुरा गर्दिनन् । केही बोल्नु छ भने पर पर कतै हेरेर मात्र बोल्छिन् । जानेर हो अथवा नजानेर उनको आँखाले पनि हिमाल खोजिरहेको हुन्छ कि ? हुँदो हो । अनि कुरा गर्दा गर्दा उनको दुवै गालामा डिम्पल बस्छ । जति हाँस्यो, उति गहिरिन्छ । खासमा, एक जोडी सुन्दर ‘डिम्पल’ की धनी हुन्, उनी ।

कुराकानीबीच भावनामा डुबेर साहित्यिक पारा निकाल्दै भन्छिन्, ‘मलाई त हिमालले बोलाइरहन्छ, साँच्चै ।’ केही दिनदेखि पूर्णिमालाई खोजिरहे पनि उनको अत्तोपत्तो थिएन । पछि पो थाहा भयो, सगरमाथा बेसक्याम्प पुगेकी रहिछन् । किन त ? एक त उनी त्यहाँ तस्बिर खिच्नै पनि गएकी थिइन् । सबैलाई थाहा छ, पूर्णिमा फोटो पत्रकार पनि हुन् । अचेल भने उनको यो परिचय ओझेलमा पर्न थालेको छ । बरु सारा संसारले उनलाई पर्वतारोहीको रूपमा चिन्न थालेको छ ।

त्यो पनि चानचुने होइनन्, आठ हजार मिटर माथिका सात वटा हिमाल चढिसकेकी । पछिल्लो समय उनी सगरमाथा बेसक्याम्प गएको खास कारण भने आफूलाई त्यस्तै वातावरणअनुकूल बनाउन हो । ‘हिमालतिर जान मलाई सानो निहुँ मात्र चाहिन्छ, म त उतै रमाउने मान्छे पो हुँ । हिमाल पुग्दा मलाई खुसी मिल्छ, म जे हुँ, त्यसले सार्थकता पाउको जस्तो लाग्छ,’ त्यहाँबाट फर्केयता काठमाडौंमा चिया खाँदै उनले भनिन्, ‘म त अब चाँडै पाकिस्तान जाँदै छु ।’

पाकिस्तान किन त ? प्रश्नको उत्तर दिन पाएकामा खुसी देखिन्छिन्, पूर्णिमा । भन्छिन्, ‘अबको मेरो एक मात्र सपना भनेको आठ हजार मिटर माथिका सबै हिमाल चढ्ने हो । पाकिस्तानमा यस्ता पाँच हिमाल छन्, तिनै हिमाल चढ्न म उता जान लागेको हो । उता जाने दिन पनि निश्चित भइसकेको छ, जुन १३ ।’ विश्वमा १४ यस्ता हिमाल छन्, जुन आठ हजार मिटरभन्दा उचाइका छन्, त्यसमध्ये आठ त नेपालकै हुन्, पाँच भने पाकिस्तानका ।

विश्व पर्वतारोहणमा यी आठ हजार मिटर माथिका हिमाल चढ्नु जत्तिको ठूलो उपलब्धि अरू केही छैन भन्दा पनि हुन्छ । यस क्षेत्रमा सामान्य जानकारी मात्र राख्नेलाई पनि थाहा छ, ‘फोरटिन पिक’ चढ्नुको जादु नै बेग्लै । त्यसै पनि एउटै आठ हजार मिटर माथिका हिमाल चढ्न झन् गाह्रो हुन्छ । अझ यस्ता सबै हिमाल चढेको छ भने त त्यस्ता पर्वतारोही ‘इलिट’ समूहमा नै पर्ने भए । ३१ वर्षीया पूर्णिमाले पछिल्लो पटक देखेको सपना पनि यही हो, यही विशिष्ट समूहमा पर्ने ।

सन् २०१७ मा उनले सबैभन्दा पहिले मनास्लु चढेकी थिइन् । त्यसपछि २०१८ मा आइपुग्दा नपुग्दा सगरमाथा पनि सफलतापूर्वक चढिन् । वर्ष २०२१ मा उनले यस्तै अग्ला हिमालमाथि जित हात पारिन्, अन्नपूर्ण–१ र धौलागिरि । सन् २०२२ मा त पूर्णिमाले हदै गरिन्, एक महिनाकै अन्तरमा कञ्चनजंगा, ल्होत्से र मकालु चढेर । नेपालकै हिमालमध्ये चोयु एउटा भने चढ्न बाँकी छ, हुन सक्छ, पाकिस्तानबाट फर्केपछि उनको लक्ष्य यही हुनेछ ।

पाकिस्तानमा रहेका आठ हजार मिटरमाथिका पाँच हिमाल हुन्, के–टु, नान्गा पर्वत, जी–वान र जी–टु, अनि ब्रोड पिक । त्यसमध्ये पनि पूर्णिमाले सबैभन्दा पहिले प्रयास गर्ने हो, नान्गा पर्वत । त्यसपछि अरूको पालो । ‘अबको चुनौती सबैभन्दा गाह्रो हुनेछ, किनभने यी हिमाल चढ्नु धेरै अर्थमा निकै कठिन छ,’ उनी थप्छिन् । भनिन्छ, सगरमाथा चढ्नुभन्दा के–टु चढ्न गाह्रो छ । यसका धेरै कारण छन्, त्यसमध्ये एकाध कारण हुन्, पाकिस्तानका यी हिमाल दुर्गम स्थानमा छन् ।

त्यहाँ सुविधा कम छन् । सबथोक आफैंले व्यवस्था गर्नुपर्छ । विशेषतः के–टु प्राविधिक रूपमा पनि चढ्न असाध्यै गाह्रै मानिन्छ । त्यसैले काठमाडौंमा रहेर पनि पाकिस्तान जान अगाडि चाहिने सबै प्रकारको गृहकार्य गरिरहेकी छन् । दिनहुँ लामै समय जिम हलमा बित्छ, उनको । सगरमाथा बेसक्याम्पमा केही समय बिताउनुको खास कारण पनि यही नै हो । अनि यी सबथोकको रहरचाहिँ किन त ? पूर्णिमासँग यो प्रश्न त बन्छ नै ।

साँच्चै उनलाई यो प्रश्न गर्नुपर्छ र प्रश्न भुइँमा खस्न पनि पाएको हुन्न, यसअघिसम्म हाँसिरहेकी पूर्णिमा एकाएक गम्भीर हुन्छिन् । अनि भन्छिन्, ‘म सायद जिद्दी छु, आफूले देखेको सपना पूरा गर्नै पर्ने । त्यो पनि चाँडै ।’ हुन पनि उनी प्रायः हतारमै हुन्छिन् । जे जति गर्नुपर्छ, ‘फास्ट’ गर्नुपर्छ । अरूले विश्वकै सबैभन्दा अग्लो सगरमाथा चढ्न पूरा जीवनका मिहिनेत गरेको हुन्छ, पूर्णिमाले सगरमाथा चढ्ने मन बनाएको एकै वर्षमै त्यो उपलब्धि हात पारिन् ।

अनि उल्टै प्रश्न गर्छिन्, ‘यो पनि ठूलै कुरा हो नि, कि होइन ?’ अचेल उनी धेरैका लागि प्रेरणा भएकी छन्, महिलाकै लागि त अझै धेरै । उनीसँगै एउटा तस्बिर खिच्न पाउँदा पनि खुसी हुनेको संख्या धेरै भइसक्यो । पूर्णिमालाई भेटेयता उनको खुलेर प्रशंसा गर्नेको संख्या पनि कम छैन । सेलिब्रेटी भइसकिन् उनी, खासमा । उनलाई पनि खुसी लाग्छ, आफ्नै कारण कोही केही गर्न प्रेरित हुन्छ भने । अनि यस्तै केही गम्भीर कुरा गर्नुपर्छ, पूर्णिमा रुन थाल्छिन् ।

उनको अर्को बानी हो, खुसी होस् अथवा दुःख, रोइहाल्ने ।

तस्बिर : केशव थापा/कान्तिपुर

उनले सफतापूर्वक जति पनि हिमाल चढिन्, प्रत्येक पल्ट रोएकै थिइन् । आजभोलि केही मन दुखेको छ, उनको । कारण ? पाकिस्तान जाने दिन यति धेरै नजिक आइसक्यो, तर सबै खाले व्यवस्था गर्न सकेकी छैनन् । विशेषतः पैसाको जोरजाम पनि ठीकसँग गर्न सकिरहेकी छैनन् । प्रायोजक पाइरहेकी छैनन् । धेरैसँग कुराकानी त भएको छ, तर सबैले हुन्छ हुन्छ मात्र भनेका छन् । प्रगति खासै केही भएको छैन ।

‘पर्वतारोही हुनु पनि कहाँ सजिलो छ र ? प्रत्येक पाइलामा जोखिम छ,’ उनी भन्छिन्, ‘तर केही छैन । कसैले केही सहयोग गरेनन् भने पनि एक्लैले आँट्ने साहस जुटाएकी छु । भनेकै दिन पाकिस्तान जानेछु ।’ फोटो पत्रकारमाझ त उनी सबैले चिनेकै भइन्, खेल पत्रकारमाझ पनि उनको हेलमेल उत्तिकै छ । पहिलोपटक पत्रकारितामा पाइला चाल्दा उनी खेल पत्रकार नै थिइन् । ती दिन बुम समाउँदा पनि पूर्णिमाको हात काँप्थ्यो ।

तर अहिले भने पूर्णिमाका हातले मात्र होइन, गोडाले पनि गजबको साहस जुटाइसकेका छन् । आठ हजार मिटरमाथिका सबै हिमालका शिखरमा पुग्ने । सुरुका ती दिन पनि थिए, अनि अहिलेको दिन पनि छ । खास धेरै परिवर्तनबाट गुज्रिसकेकी छन्, उनी । उनको यो अदम्य साहसका लागि उनलाई सलाम छ, अनि शुभकामना पनि । पक्कै पनि अबको बाटो कठिन छ, तर उनका खुट्टा काम्ने छैनन् । अनि यस्तै कुरा सुनाउँदा आँखामा छचल्किएका आँसु पुस्दै खुसी भएर भन्छिन्, ‘म साँच्चै बहादुर नै पो हुँ ।’

अनि पर कतै हेरेर फेरि दोहोर्‍याउँछिन्, ‘खासमा, मलाई हिमालले बोलाइरहेको छ ।’

प्रकाशित : वैशाख २८, २०८० ११:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×