तीन वर्षमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान

क्रिकेटका पूर्वखेलाडी एवं व्यवस्थापकको सरकारप्रति तिखो घोचपेचपछि तीन वर्षभित्र विराटनगरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने मुख्यमन्त्रीको आश्वासन
विनोद भण्डारी

विराटनगर — कोशी प्रदेश सरकारले विराटनगर–१८ स्थित बैजनाथपुर रंगशालालाई तीन वर्षभित्रमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने घोषणा गरेको छ । यो रंगशालामा हालसम्म करिब तीन करोडको लगानीमा टर्फ विकेट र मैदान निर्माण गरेर क्रिकेट म्याच खेलाइने गरिएको छ ।

तीन वर्षमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान

एसीसी प्रिमियर कप विजयी राष्ट्रिय टिमका खेलाडीलाई सम्मान गर्न विराटनगरमा आयोजित कार्यक्रममा पूर्वखेलाडी, टिमका व्यवस्थापक तथा उद्योगी व्यवसायीले दलका नेता र राजनीतिक नेतृत्व व्यक्तिगत विलासीमा लिप्त भएर खेलकुदमा लगानी नगर्दा खेलकुदको विकास हुन नसकेको घोचपेच गरेका थिए । लगत्तै प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले खेलाडी एवं व्यवस्थापकसामु प्रदेश सरकारले बैजनाथ रंगशालालाई तीन वर्षभित्र अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा रूपान्तरण गर्ने विश्वास दिलाए ।

कार्कीले आगामी बजेटमै उक्त क्रिकेट मैदान निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासन दिएर खेलाडी, टिम व्यवस्थापक र निजी क्षेत्रको आक्रोशलाई शान्त पारेका थिए । एक/दुइटा सडक नबनाएर भए पनि बैजनाथ क्रिकेट मैदानका लागि आगामी बजेटमा रकम विनियोजन गर्ने उनले बताए । उनले रकमचाहिँ उल्लेख गरेनन् । उनै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको आगामी बजेट चालु वर्षको तुलनामा कम्तीमा १०–१२ अर्बसम्मले न्यून हुने बताउँदै आएका छन् । चालु वर्ष यो प्रदेश सरकारको बजेट ३९ अर्ब छ ।

बैजनाथ रंगशालालाई अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन प्रदेश सरकारको नीति तथा कार्यक्रममा पनि राख्न निर्देशन दिएको उल्लेख गर्दै कार्कीले भने, ‘त्यसका लागि आगामी बजेटमै रकम विनियोजन गरिनेछ ।’ उनले क्रिकेट एकेडेमी निर्माणका लागि निजी क्षेत्रलाई आग्रह गरे । मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेश सरकारले तीन वर्षभित्र बैजनाथ रंगशालालाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा परिणत गर्नेमा ढुक्क हुनुहोस् तर त्यसका लागि खेलाडी र निजी क्षेत्रले सरकारलाई घचघच्याउन सरोकार समूह बनाउनु जरुरी छ । आज म मुख्यमन्त्री छु र क्रिकेट मैदानका लागि बजेट विनियोजन गर्छु । भोलि म मुख्यमन्त्रीमा नरहन पनि सक्छु ।’ उनले अर्को आउने मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराइराख्न सरोकार समूह बनाउन जरुरी भएको बताए । उनले भने, ‘त्यसो हुँदा सुरु भएको कामले जो मुख्यमन्त्री भए पनि निरन्तरता पाउने छ ।’

यसअघि पूर्वअन्तर्राष्ट्रिय खेलाडी पारस लुनियाले नेता र मन्त्रीहरू विलासी भएर आफ्नो हितमात्र सोचेर खेलकुदमा लगानी नगर्दा यो क्षेत्रको विकास हुन नसकेको आरोप लगाएका थिए । उनले मन्त्री आफ्नो आरामका लागि ५ करोडसम्मका गाडी सरकारी बजेटले खरिद गरेर चढ्ने, अनि खेलकुदमा लगानी गर्न हिचकिचाउने हुनाले मुलुकमा खेलकुदको विकास नभएको तीव्र असन्तुष्टि पोख्दा कार्यक्रममा सहभागीले तालीको गडगडाहटले राजनीतिक नेतृत्वको खिल्ली उडाएका थिए । त्यसलगत्तै राष्ट्रिय टिमका व्यवस्थापक तथा पूर्वकप्तान विनोद दासले राज्यको गैरजिम्मेवारीका कारण जुनसुकै खेलका खेलाडीले आफू खेलाडी हुँ भनेर बाँच्न सक्ने स्थिति नभएको यथार्थ उजागर गरे । उनले मुलुकमा बाँच्नका लागि कि त नेता कि त अभिनेता हुनपर्ने अवस्था रहेको बताउँदा ड्यासमा रहेका मुख्यमन्त्री कार्की र सामाजिक विकासमन्त्री बृद्धिबहादुर राजभण्डारीको अनुहार हेर्न लायक बनेको थियो ।

दासले खेलकुदका पूर्वाधारमा लगानी गर्न प्रदेश सरकारलाई आग्रह गर्दै क्रिकेटमा अहिले विराटनगर सुतेको सेतो हात्तीझैँ भएको बताए । उनले कुनै समय राष्ट्रिय टिममा कोशी प्रदेशबाट ७ जनासम्म खेलाडी पर्ने गरेको स्मरण गराए । ‘अहिले राष्ट्रिय टिममा यो प्रदेशका खेलाडी खोज्नुपर्ने स्थिति छ,’ दासले भने, ‘यो सब सरकारले पूर्वाधारमा लगानी नगर्दाको परिणाम हो, नेपाली क्रिकेटमा अहिले सबैथोक छ, मात्र अर्थ छैन ।’ उनका अनुसार सरकार लगानीबिना उपलब्धि खोज्नमा मात्र सीमित छ । दासको भनाइलाई काउन्टर दिन माइक समाएका प्रदेशका खेलकुदमन्त्रीसमेत रहेका सामाजिक विकास मन्त्री राजभण्डारीले आफू पनि ५२ सालसम्म बक्सिङ खेल्दा खेलेर पेट पाल्न नसकेको स्मरण गर्दै त्यसपछि पेटकै लागि आफूले शिक्षण पेसा अँगालेको बताए ।

‘शिक्षण पेसाबाट पनि पेट भर्न गाह्रो भयो,’ उनले भने, ‘त्यसपछि अहिले सबैले तुच्छ पेसा भन्ने गरेको राजनीतिमा आएर मन्त्री भएको छु । यहाँ पनि सन्तुष्टि छैन ।’ उनका अनुसार तीन तहका सरकार छन् । माथिल्लो सरकार खर्बको कुरा गर्छ । प्रदेश सरकार अर्बको कुरा गर्छ । स्थानीय सरकार करोडको कुरा गर्छ । ‘तर कसैको पनि टोकरीमा आवश्यक माल हुँदैन,’ राजभण्डारीले भने, ‘टोकरीमा माल नै नभएपछि कहाँबाट ल्याएर खेलकुदको पूर्वाधार विकासमा लगानी गर्ने ?’

उनले आफू खेलाडी हुँदाको समयभन्दा अहिलेका खेलाडीले बढी सेवा र सुविधा पाएको बताए । उनले भने, ‘त्यो बेला पेट भर्न गाह्रो थियो । अहिलेका खेलाडीले तारे होटलमा सम्मान पाउन थालेका छन् ।’ प्रदेश सरकारको आउँदो बजेट करिब ४० प्रतिशतले कटौती हुने स्थिति रहेको उल्लेख गर्दै राजभण्डारीले भने, ‘त्यसमा खेलकुदको कति बजेट पर्छ, आफैँलाई थाहा छैन ।’

सम्मान कार्यक्रमका आयोजक यहाँका तीनवटा निजी संस्था, उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले क्रिकेटमा मुलुकले अद्भुत उपलब्धि आर्जेको औंल्याए । उनीहरूले उपलब्धि र क्रिकेटप्रतिको जनमोहलाई ध्यानमा राखेर राज्यले हरेक प्रदेशमा आधुनिक क्रिकेट मैदान निर्माण गर्नुपर्ने सुझाव दिए । उनीहरूले सरकारले खेलकुदका पूर्वाधार विकासमा लगानी गरे निजी क्षेत्र हातेमालो गर्न तयार रहेको वाचा गरेका थिए ।

यसैबीच आयोजकले सम्मान कार्यक्रममा क्रिकेट कोषका लागि अक्सनमार्फत एक क्रिकेट ब्याट १ लाख ५१ हजारमा बिक्री गर्‍यो । आयोजकले न्यूनतम एक लाखको बोली तोक्दा नेपाल लिकर्स डिस्ट्रिलरीले किन्न तयार भइरहेका बेला वाग्मती प्लास्टिकका सञ्चालक अमित राठीले १ लाख ५१ हजार रुपैयाँ बोली लगाएर ब्याट खरिद गरेका थिए । उक्त ब्याटमा हालको राष्ट्रिय टिमका खेलाडी, प्रशिक्षक र व्यवस्थापकको हस्ताक्षर अंकित छ ।

प्रकाशित : वैशाख ३०, २०८० ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?