कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहिद स्मारक लिगमा अहिलेसम्मकै तीव्र प्रतिस्पर्धा

यसपल्ट लिगमा सबै सम्भावना खुला छन्, उपाधिका लागि होस् अथवा रेलिगेसनका लागि
हिमेश

काठमाडौँ — नेपाली फुटबलमा फेरि एकपल्ट प्रमाणित भएको छ, सबै खाले आलोचनाको उत्तर भनेको प्रतियोगिताको आयोजना नै हो । सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७९–८० मा आइतबार १५ औं चरणका खेल समाप्त भए । प्रतियोगिता सुरु हुन अगाडि अनेक अड्चन थिए । ती अझै छन् । प्रतियोगिता आयोजनाका क्रममा उत्तिकै व्यवस्थापनका तर्फबाट समस्या पनि आएका छन् । अझै पनि धेरैका अझ धेरै गुनासा पनि होलान् ।

तर लिगले एउटा ठोस रूप लिँदा केही सकारात्मक पक्ष पनि अगाडि आएका छन् । यही त हो, लिग हुनुको मज्जा । आइतबार १५ औं चरणका दुई खेल भए । त्यसमध्ये एउटा खेलमा मछिन्द्रले एपीएफलाई २–१ ले हरायो भने अर्को खेलमा आर्मी र संकटाबीचको खेल १–१ को बराबरीमा टुंगियो । लिग अंक तालिकाले रोमाञ्चक रूप लिइरहेको छ । यी नतिजापछि निश्चित जस्तै भएको छ, सम्भवतः यत्तिको प्रतिस्पर्धात्मक लिग यसअघि कहिल्यै पनि भएको थिएन ।

वर्ष ०६० यताका लिगलाई हाम्रोमा आधुनिक लिन मान्ने चलन रहेको छ र त्यसयताका अधिकांश संस्करणमा प्रायः लिग उपाधिका लागि दोहोरो अथवा बढीमा तीन टिमबीच प्रतिस्पर्धा हुने गरेको थियो । अझ कुनै स्थितिमा सम्भावित विजेता टिमले एकोहोरो अग्रता लिएका उदाहरण पनि पाइन्छ । तर यसपल्टको लिग तालिकालाई मज्जाले नजर लगाउने हो भने प्रस्ट छ, यसमा सबै सम्भावना खुला छन् । चाहे त्यो लिग उपाधिका लागि होस् अथवा रेलिगेसनका लागि ।

अहिले तत्कालका लागि चर्च ब्वाइज फेरि एकपल्ट शीर्ष स्थानमा उक्लेको छ र उसको २७ अंक भएको छ । मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन आएयता चर्च ब्वाइजले शीर्षमा तीन अंकको अग्रता लिएको छ, तर ढुक्क हुन सक्ने स्थिति छैन । शीर्षमा त्यस्ता पाँच टिम छन्, जसले कुनै पनि बेला कसैलाई पनि पन्छाएर पहिलो स्थान कब्जा गर्न सक्छन् । यसअघि लगातार छ चरण शीर्षमा रहेको जावलाखेल २४ अंकमा दोस्रोमा छ र संयोग के भने थ्रीस्टार र मछिन्द्रको पनि यति नै समान अंक छ ।

दुईपल्टको डिफेन्डिङ च्याम्पियन मछिन्द्र यसपल्टको लिगमा पहिलोपल्ट यति अगाडि आएको हो र उसका सामु तेस्रोपल्ट लिग उपाधि जितेर इतिहास रच्ने खुसीको नयाँ अवसर तयार भएको छ । दुई अवसरमा पहिलो स्थानमा रहेको सातदोबाटोको २३ अंक छ र पाँचौं स्थानमा छ । यो भनेको शीर्ष पाँच टिमबीच जम्मा तीनै अंकको अन्तर मात्रै हो । लिग अंक तालिकामा यस्तो तीव्र गणितीय प्रतिस्पर्धा ०५४ सालको लिगमा पनि भएको थियो ।

त्यति बेला लिगको अन्तिम चरणको खेल अगाडि पाँच टिमसामु लिग उपाधि जित्ने अवसर थियो, अन्त्यमा थ्रीस्टार क्लब इतिहासमै पहिलोपल्ट लिग च्याम्पियन बन्यो । यसपल्टको लिगमा उपाधि होड मात्र यति धेरे खुला भएको होइन, रेलिगेसन संघर्ष पनि उत्तिकै रोमाञ्चक छ । संकटा १७ अंकमा दसौं स्थानमा छ र जम्माजम्मी दुई अंकको दूरीमा पुलिस सबैभन्दा पुछारमा छ । पुलिसको १५ अंक रहेको छ । संकटापछि एनआरटीको र खुमलटारको पनि समान १७ अंक छ ।

अझ त्यसको पनि पछाडि फ्रेन्ड्सको १६ को अंक छ । अबको एकै चरणको नतिजाले पनि रेलिगेसन पर्ने दुई टिमको समीकरण फेरिन सक्छ । ‘नेपाली लिग फुटबलका लागि यो सुखद पक्ष हो,’ लिग निर्देशक रहेका सञ्जीव मिश्र पनि मान्छन्, ‘मैले लामो समयदेखि लिग हेरिआएको छु, चालीस साल अगाडिदेखि । लिगमा उपाधि र रेलिगेसनको समीकरण यति खुला र कुनै पनि बेला जे जस्तो पनि हुन सक्ने स्थिति पहिलोपल्ट हो ।’

यस पछाडिका कारण के हुन सक्छन् ? यसको एउटा सजिलो उत्तर त के हो भने लिगका पुराना संस्करणमा जस्तो एउटा टिम धेरै बलियो र अर्को टिम निकै कमजोर हुने स्थिति अहिले छैन । अझ भन्दा सहभागी सबै टिम समान हैसियतका देखिएका छन् । लिग निर्देशक मिश्रले पनि यस पछाडि दुई फरक तर्क प्रस्तुत गरेका छन् । उनको विश्लेषण छ, ‘अहिले हामीले लिगका लागि तीन मैदान प्रयोग गरिरहेका छौं । त्यसैले मैदान धेरै बिग्रेको छैन, त्यसको सकारात्मक प्रभाव अहिलेको प्रतियोगितामा परेको छ ।’

दशरथ रंगशालासँगै लिगका खेल च्यासल र सातदोबाटोमा भइरहेका छन् । कुनै मैदानमा खेल्दा कसलाई बढी फाइदा र कसलाई बढी घाटा भएको छ, त्यसबारे तथ्यांक प्रयोग गर्दै विश्लेषण गर्न भने बाँकी छ । मिश्रको तेस्रो तर्कमा कसैको विमति हुन सक्नेछ, तर उनको विचार धेरै हदसम्म सत्यको नजिक देखिन्छ । उनी भन्छन्, ‘लिग सुरु हुन अगाडि जसरी तीन दर्जनको हाराहारीमा खेलाडी विदेशिए, त्यसको नकारात्मक प्रभाव पर्ने डर थियो, लिग अहिलेको दिनमा आइपुग्दा त्यो प्रभाव यति धेरै नकारात्मक पनि रहेन ।’

केही नाम चलेका र राम्रो भनेर प्रशंसा गरिएका खेलाडी नै विदेश पलायन भएका थिए । यो क्रम रोक्न नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) नराम्रोसँग चुकेको देखिएको थियो । यस क्रममा केही पदाधिकारीको टिप्पणी खराब पनि रह्यो । तर यही पृष्ठभूमिमा लिग हुँदा जे जति नयाँ नाम अगाडि आएका छन्, तिनले के पनि सिद्ध गरेको छ भने नेपाली फुटबलमा प्रतिभा र सम्भावनाको कमी भने छैन ।

प्रकाशित : वैशाख २५, २०८० ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्

सहिद स्मारक ‘ए’ डिभिजन लिग : शीर्षमा टिक्नै गाह्रो

दशरथ रंगशालामा दुवै खेल गोलरहित बराबरी, सातदोबाटो–मनाङ अनि थ्रीस्टार–फ्रेन्ड्स गोल गर्न असफल
हिमेश

काठमाडौँ — यसपल्टको सहिद स्मारक लिगका हजार दोष होलान् । तर, एकथोक भने साह्रै राम्रो छ । कसले कसलाई कुन बेला कसरी हराउने हो, अनुमान गर्नै गाह्रो । त्यसको अर्थ सहभागी टिमबीच चर्को प्रतिस्पर्धा चलिरहेको छ ।

त्यसको अर्थ लिग कसले जित्ने हो र रेलिगेसन पर्ने दुई टिम को–को होलान् ? अनुमान गर्नै नसक्ने अवस्था छ । शनिबारका तीन खेलपछि प्रतियोगिताले फेरि एकपल्ट शीर्षस्थानमा अर्कै टिम पाएको छ । यसपल्ट सबैभन्दा अगाडि रहेको टिम हो चर्च ब्वाइज ।

त्यसो त चर्च ब्वाइज दोस्रो र तेस्रो चरणमा पनि शीर्षमै थियो । त्यसपछि टोलीले आफूलाई सम्हाल्नै सकेन । त्यसपछि उसले लगातार ६ खेल बराबरी खेलेको थियो । यसपल्ट शीर्षस्थान गुमाएको जावलाखेल युथले पनि पछिल्ला ४ खेलमा २ बराबरी खेलेको छ अनि अरू २ खेल गुमाएको छ । सातदोबाटोले पनि दुईपल्ट शीर्षस्थान कब्जा गर्‍यो । लगत्तै टोलीको खेल पनि खल्बलियो । झन् मनाङ मर्स्याङ्दीको के कुरा ? दुई चरणसम्म अगाडि रहेको मनाङले त्यसपछि लगातार ६ खेल गुमायो ।

त्यसैले चर्च ब्वाइजलाई लिएर प्रश्न हो, के यो टिम शीर्षमा कायम रहन सक्षम छ त ?

‘छ, किन नहुनु ? तर यो सजिलो भने छैन, गाह्रै छ,’ टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जन भन्छन् । चर्च ब्वाइज भने पछिल्लो समय केही लयमा देखियो । नेपाली फुटबलका सबैभन्दा सफल र आफूलाई धेरैपल्ट प्रमाणित गरिसकेका प्रशिक्षक महर्जन आएयता चर्च ब्वाइजले राम्रो सुरुआत लिन सकेन । उनी आएयताका सुरुआती ५ खेलबाट ५ अंकमात्र आयो ।

तर, पछिल्ला तीन खेलमा भने चर्च ब्वाइज लगातार विजयी छ । त्यसबाट पूरा उपलब्धिका रूपमा पूर्ण ९ अंक बटुलेको छ । ‘निरन्तर शीर्षमा रहनका लागि पूरा प्रयास गर्नेछौं,’ प्रशिक्षक महर्जनले थपे, ‘अहिले क्लबमा पदाधिकारी, खेलाडी र हाम्रो समन्वय मिलिरहेको छ । टिम आफैंमा राम्रो छ । अरू टिम पनि राम्रै छन् । तर, हामी लिग च्याम्पियन हुन सक्षम छौं, यसमा कुनै दुविधा छैन । अरू सबैलाई जस्तै खेलाडी चोटको समस्या हामीलाई पनि छ ।’

अञ्जन बने नायक

चर्च ब्वाइजले च्यासल रंगशालामा एनआरटीमाथि प्राप्त ४–१ जितमा नायक रहे, अञ्जन विष्ट । उनले गजब ह्याट्रिक रचे । चर्च ब्वाइजको २७ अंक भएको छ । यो दोस्रोमा रहेको जावलाखेलमाथि ३ अंकको अग्रता हो । अञ्जनले ८४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरे । यसपल्टको लिगमा यो तेस्रो मात्रै

ह्याट्रिक हो । नेपाली खेलाडीका तर्फबाट भने यो पहिलो तीन गोलको प्रदर्शन हो । अञ्जनले ५१ र ६० औं मिनेटमा सुरुका दुई गोल गरे ।

यसअघि सुशील लामाले ३९ औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई सुरआती अग्रता दिलाएका थिए । दीपेश आलेमगरले दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा एक गोल फर्काए । तर, यो सान्त्वना गोलभन्दा बढी केही हुन सकेन । एनआरटी १७ अंकमै सीमित रह्यो । राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको एनआरटीले आफूले सक्ने प्रदर्शन गर्न सकिरहेको छैन ।

यता दशरथ रंगशालामा भएको खेलमा सातदोबाटो र मनाङ मर्स्याङ्दी क्लबले निराशाजनक गोलरहित बराबरी खेले । यो नतिजापछि सातदोबाटोको २३ अंक भयो भने मनाङले १९ अंक छोएको छ ।

दशरथ रंगशालामै भएको अर्को खेलमा थ्रीस्टार र फ्रेन्ड्सले पनि गोलरहित बराबरी खेलेका थिए । त्यसको अर्थ यो बराबरीले दुवै टिमलाई घाटामै राख्नेछ । यो नतिजापछि थ्रीस्टारको २४ अंक भयो । थ्रीस्टारले पछिल्लो समय लय गुमाएको छ । टोलीले आफ्ना पछिल्ला ४ खेलमा ३ अंकमात्र बटुलेको छ । यसक्रममा टोली जितविहीन छ । फ्रेन्ड्स भने १६ अंकमा सीमित रह्यो । फ्रेन्ड्सका पनि यो पछिल्लो ३ खेलमा २ अंकमात्रै हो ।

प्रकाशित : वैशाख २४, २०८० ०८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×