कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सहिद स्मारक ‘ए’ डिभिजन लिग : शीर्षमा टिक्नै गाह्रो

दशरथ रंगशालामा दुवै खेल गोलरहित बराबरी, सातदोबाटो–मनाङ अनि थ्रीस्टार–फ्रेन्ड्स गोल गर्न असफल
हिमेश

काठमाडौँ — यसपल्टको सहिद स्मारक लिगका हजार दोष होलान् । तर, एकथोक भने साह्रै राम्रो छ । कसले कसलाई कुन बेला कसरी हराउने हो, अनुमान गर्नै गाह्रो । त्यसको अर्थ सहभागी टिमबीच चर्को प्रतिस्पर्धा चलिरहेको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग : शीर्षमा टिक्नै गाह्रो

त्यसको अर्थ लिग कसले जित्ने हो र रेलिगेसन पर्ने दुई टिम को–को होलान् ? अनुमान गर्नै नसक्ने अवस्था छ । शनिबारका तीन खेलपछि प्रतियोगिताले फेरि एकपल्ट शीर्षस्थानमा अर्कै टिम पाएको छ । यसपल्ट सबैभन्दा अगाडि रहेको टिम हो चर्च ब्वाइज ।

त्यसो त चर्च ब्वाइज दोस्रो र तेस्रो चरणमा पनि शीर्षमै थियो । त्यसपछि टोलीले आफूलाई सम्हाल्नै सकेन । त्यसपछि उसले लगातार ६ खेल बराबरी खेलेको थियो । यसपल्ट शीर्षस्थान गुमाएको जावलाखेल युथले पनि पछिल्ला ४ खेलमा २ बराबरी खेलेको छ अनि अरू २ खेल गुमाएको छ । सातदोबाटोले पनि दुईपल्ट शीर्षस्थान कब्जा गर्‍यो । लगत्तै टोलीको खेल पनि खल्बलियो । झन् मनाङ मर्स्याङ्दीको के कुरा ? दुई चरणसम्म अगाडि रहेको मनाङले त्यसपछि लगातार ६ खेल गुमायो ।

त्यसैले चर्च ब्वाइजलाई लिएर प्रश्न हो, के यो टिम शीर्षमा कायम रहन सक्षम छ त ?

‘छ, किन नहुनु ? तर यो सजिलो भने छैन, गाह्रै छ,’ टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जन भन्छन् । चर्च ब्वाइज भने पछिल्लो समय केही लयमा देखियो । नेपाली फुटबलका सबैभन्दा सफल र आफूलाई धेरैपल्ट प्रमाणित गरिसकेका प्रशिक्षक महर्जन आएयता चर्च ब्वाइजले राम्रो सुरुआत लिन सकेन । उनी आएयताका सुरुआती ५ खेलबाट ५ अंकमात्र आयो ।

तर, पछिल्ला तीन खेलमा भने चर्च ब्वाइज लगातार विजयी छ । त्यसबाट पूरा उपलब्धिका रूपमा पूर्ण ९ अंक बटुलेको छ । ‘निरन्तर शीर्षमा रहनका लागि पूरा प्रयास गर्नेछौं,’ प्रशिक्षक महर्जनले थपे, ‘अहिले क्लबमा पदाधिकारी, खेलाडी र हाम्रो समन्वय मिलिरहेको छ । टिम आफैंमा राम्रो छ । अरू टिम पनि राम्रै छन् । तर, हामी लिग च्याम्पियन हुन सक्षम छौं, यसमा कुनै दुविधा छैन । अरू सबैलाई जस्तै खेलाडी चोटको समस्या हामीलाई पनि छ ।’

अञ्जन बने नायक

चर्च ब्वाइजले च्यासल रंगशालामा एनआरटीमाथि प्राप्त ४–१ जितमा नायक रहे, अञ्जन विष्ट । उनले गजब ह्याट्रिक रचे । चर्च ब्वाइजको २७ अंक भएको छ । यो दोस्रोमा रहेको जावलाखेलमाथि ३ अंकको अग्रता हो । अञ्जनले ८४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरे । यसपल्टको लिगमा यो तेस्रो मात्रै

ह्याट्रिक हो । नेपाली खेलाडीका तर्फबाट भने यो पहिलो तीन गोलको प्रदर्शन हो । अञ्जनले ५१ र ६० औं मिनेटमा सुरुका दुई गोल गरे ।

यसअघि सुशील लामाले ३९ औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई सुरआती अग्रता दिलाएका थिए । दीपेश आलेमगरले दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा एक गोल फर्काए । तर, यो सान्त्वना गोलभन्दा बढी केही हुन सकेन । एनआरटी १७ अंकमै सीमित रह्यो । राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको एनआरटीले आफूले सक्ने प्रदर्शन गर्न सकिरहेको छैन ।

यता दशरथ रंगशालामा भएको खेलमा सातदोबाटो र मनाङ मर्स्याङ्दी क्लबले निराशाजनक गोलरहित बराबरी खेले । यो नतिजापछि सातदोबाटोको २३ अंक भयो भने मनाङले १९ अंक छोएको छ ।

दशरथ रंगशालामै भएको अर्को खेलमा थ्रीस्टार र फ्रेन्ड्सले पनि गोलरहित बराबरी खेलेका थिए । त्यसको अर्थ यो बराबरीले दुवै टिमलाई घाटामै राख्नेछ । यो नतिजापछि थ्रीस्टारको २४ अंक भयो । थ्रीस्टारले पछिल्लो समय लय गुमाएको छ । टोलीले आफ्ना पछिल्ला ४ खेलमा ३ अंकमात्र बटुलेको छ । यसक्रममा टोली जितविहीन छ । फ्रेन्ड्स भने १६ अंकमा सीमित रह्यो । फ्रेन्ड्सका पनि यो पछिल्लो ३ खेलमा २ अंकमात्रै हो ।

प्रकाशित : वैशाख २४, २०८० ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?